८ वैशाख २०८१ शनिबार
समाज

जथाभावी विषादी प्रयोग समस्या बन्दै

बैतडीमा व्यवसायिक कृषिको आरम्भ भएसँगै बालीनालीमा लाग्ने रोग तथा किरा नियन्त्रण गर्न विषादीको प्रयोग अत्याधिक मात्रामा बढ्न थालेको छ । कृषि ज्ञान केन्द्र बैतडीका अनुसार पछिल्लो ५ वर्षयता हरेक वर्ष जिल्लामा भित्रिने विषादीको मात्रा बढेको बढ्दै छ ।

दशरथचन्द नगरपालिका–४ जर्गका प्रकाश पाण्डेय पछिल्लो एक दशकदेखि तरकारी खेती गर्दा गाउँकै गाईबस्तुको गोबरमल प्रयोग गर्थे तर बिस्तारै बस्तुभाउ पाल्न छाडेसँगै खेतीका लागि समेत रासायनिक मल र विषादीको प्रयोग गर्न थालेका छन् । पछिल्ला ३/५ वर्ष यता त उनले वर्षमा लगाउने तीनवटै बालीमा अनिवार्य रुपमा विषादीको प्रयोग गर्छन् ।

यस्तै डिलासैनी गाउँपालिका–६ का प्रेमसिंह माल पनि पछिल्लो केही वर्ष यता तरकारी खेतीमा नियमित विषादी प्रयोग गर्न थालेका छन् । पाण्डेय र माल मात्र होइन यतिबेला बैतडीका व्यवसायिक तरकारी खेती हुने दशरथचन्द नगरपालिका, पाटन, खोडपे, गोकुलेश्वरका किसान चाँडो फसल पाउन बिषादीको प्रयोग बढाएका छन् ।

कृषि ज्ञान केन्द्रसँग त आधिकारिक रुपमा जिल्ला भित्रिने विषादीको रेकर्ड पनि छैन । खुल्ला सिमानाबाट भित्रिने विषादी र जिल्लाका विभिन्न ठाउँमा रहेका एग्रोभेटहरुले खुल्लमखुल्ला बिक्री वितरण गर्ने विषादीको कुनै हिसाब नै छैन । जथाभावी रुपमा बिक्री वितरण गरिने विषादीले बेलाबखतमा ठूलै दुर्घटना समेत निम्त्याएको छ ।

अन्नबाली तरकारीमा प्रयोग हुने विषादी सुरक्षित नराख्दा मानवीय क्षति भएका घटना भएका छन् । पछिल्लो वर्षमा यस्ता घटना नभए पनि ६ वर्ष अघि पञ्चेश्वर गाउँपालिका–२ पुडेलाका त्रिलोकसिंह साउदका ५ वर्षीय छोरा पंकज र २ वर्षीया छोरी कलावतीको मृत्यु भयो । ती दुबैको मृत्यु अन्य कारणले नभइ तरकारीमा छर्ने झोल विषादी सेवनले भयो । घरमा कोही नभएको समयमा अनजानमा दुबैले उक्त विषादी सेवन गरेका थिए । उपचारको लागि स्वास्थ्य संस्था लैजादै गर्दा बाटोमा दुबैले ज्यान गुमाए ।

तरकारी लगायतका कृषि उत्पादनमा रोग किरा नियन्त्रण तथा चाँडो फसल पाउन जथाभावी विषादी प्रयोग हुने गरेको छ । विषादी प्रयोगले मानव स्वास्थ्य र माटोमा समेत असर पर्न थालेको छ । रोग किरा नियन्त्रणको लागि कृषि प्राविधिकको सल्लाह बिना बजारमा पाइने विषादी प्रयोग हुने गरेको पुर्चौडी नगरपालिकाका कृषि शाखा प्रमुख तेजबहादुर ओलीले बताए ।

अधिक विषादी प्रयोग भएका तरकारीले स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने स्वास्थ्यकर्मी बताउँछन् । जिल्लामा मुटु, कलेजो, मृगौला लगायतमा समस्या भएका बिरामी बढदै गएको छन् । विषादी प्रयोग भएको तरकारी खाएकै कारण यस्ता बिरामीको संख्या बढेको यकिनका साथ भन्न नसकिए पनि विषादीयुक्त तरकारी खाँदा यि समस्या आउन सक्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा.वशन्तराज जोशीको भनाइ छ ।

जथाभावी विषादी प्रयोगले मानव स्वास्थ्यमा मात्रै होइन वातावरण र माटोको उर्वरा शक्तिमा समेत असर पुर्‍याउन थालेको छ । विषादी प्रयोग माटो सुहाउँदो बाली सुहाउँदो नभइ प्राविधिकको सिफारिस बिना प्रयोग गर्दा असर पुर्‍याउन थालेको हो । जिल्लामा विषादी बिक्रीको लागि दर्ता भएका १२ एग्रोभेट छन् । भारतसँग सीमा जोडिएका क्षेत्रका किसान भारतीय बजारबाट विषादी ल्याउने गरेका छन् । झुलाघाट, लुहाघाट, डिटीहाँट चम्भावत लगायतका भारतीय बजारबाट किसानहरुले विषादी ल्याउने गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रकाशचन्द्र भट्टले बताए ।

किसानले छिटो फाइदा लिन र रोग किरा नियन्त्रण गर्न विषादीको मात्रा बढाउदा मानव स्वास्थ्य, वातारण र उर्वराशक्तिमा असर पर्न थालेको छ । स्थानीय किसानले जैविक विषादीको प्रयोग कमै मात्र गर्ने गरेका छन् । बजारमा जैविक विषादी समेत पाउन समस्या हुने किसानहरु बताउँछन् । आफैले घरमै बनाउन सकिने जैविक विषादीको कम प्रयोग हुने गरेको पाटन नगरपालिका–६ का किसान  हरिश बिष्टले बताए । 

गहुँ, बोझो, टिम्मुर, तितेपाती, बनमारा, निम लगायतबाट जैविक विषादी बनाउन स्थानीय तहले किसानहरुलाई अग्रसर गराउनु पर्ने उनले बताए । बजारमा पाइने विषादीको प्रयोग कम गर्न गाउँपालिकाले कृषि शाखामार्फत चेतनामुलक कार्यक्रम गर्दै आएको सुर्नया गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टले बताए । हानीकारक विषादी कम प्रयोग गर्न किसानहरुलाई सचेत पार्ने खालको तालिम गाउँगाउँमा दिनुपर्ने उनले बताए ।

जथाभावी विषादी प्रयोग भएकोबारे जिल्लामा अनुगमन समेत फितलो छ । अनुगमन गर्ने कृषि ज्ञान केन्द्रका प्रमुख दिलबहादुर सिंहले भने ‘केही ठाँउमा अवैधानिक रुपमा विषादी बिक्री गर्ने गरेको सुन्नमा आएको छ । संयुक्त अनुगमन टोली बनाएर अनुगमन गर्ने तयारी गरिएको छ ।’

बिक्रेताले दैनिक उपभोग्य समाग्री र विषादी एउटै पसलमा राख्ने गरेका छन् । पछिल्लो समय कार्यालयले विषादी अलग्गै राख्न निर्देशन दिने गरेको र अहिले यो समस्या नरहेको कार्यालय प्रमुख सिंहले बताए ।  

खुला सीमाका कारण जिल्लामा भारतबाट समेत यस्ता बिषादी आयात हुने गरेको छ । दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सबै सामग्रीको लागि भारतमै निर्भर छन् । तरकारी लगायत अन्नमा प्रयोग हुने बिषादी मलखाद भारतीय बजारबाट ल्याउने गरेको पञ्चेश्वर गाउँपालिका–२ बजगाडाकी जानकी चन्दले बताइन । अवैधरुपमा भारतबाट आउने विषादीले समस्या उत्पन्न गरेको कृषि प्राविधिक बताउँछन् ।

अनुगमन निकाय फितलो हुँदा यस्तो समस्या बिकराल बन्दै गएको छ । विषादी बिक्रेता बन्न तीन दिनको तालिम लिए पुग्ने भएपछि किसानलाई जथाभावी विषादी वितरण गर्ने गरेका छन् । ग्रामीण क्षेत्रमा अझै समस्या छ । स्थानीय किसानलाई विषादीको असरबारे जानकारी नहुँदा किरा नियन्त्रण गर्ने भन्दै जथाभावी प्रयोग गर्दै आएको हो ।

विषादीको प्रयोगले हावापानी र त्यसमा आधारित जीवनचक्रलाई नराम्रोसँग प्रभावित तुल्याई भू–तथा जलका साथै वायु प्रदूषणसमेत बढाउने क्रम बढेको छ । जसले मानव स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पर्न थालेको स्वास्थ्यकर्मी बताउँछन् । विषादीको प्रयोगले भूमिगत जल समेत विषाक्त हने गरेको कृषि प्राविधिक बताउँछन् ।

परम्परागत अथवा जैविक खेतीप्रणालीलाई कम महत्व दिइ रासायनिक मल तथा विषादी उपयोगलाई आत्मसात गरिँदा तत्कालीन रुपमा उत्पादन बढी देखाए पनि विषाक्त खाद्य उत्पादन बढाउदै अन्ततः माटोको उर्वराशक्ति घटदै पर्यावरणीय असन्तुलन हुने गरेको छ । विषादी कम प्रयोग गर्न यसबाट पर्ने असरबारे स्थानीय किसान आफै सचेत हुनु पर्ने पुर्चौडी नगरपालिकाका कृषि शाखा प्रमुख ओलीले बताए ।

प्राविधिकको सिफारिस भन्दा पनि किसान आफै प्राविधिक हुने समस्या जिल्लामा रहेको पाटन कृषि शाखा प्रमुख महेशदत्त अवस्थीले बताए । विषादी औषधि नभइ बिष भएकाले यसको प्रयोगमा किसान, व्यापारी, जिम्मेवारी निकाय सबैले सचेत हुनुपर्ने उनी बताउँछन् ।

विषादीको अवशेष रहेका तरकारी, फलपूmल तथा अन्य अन्नले मानव स्वास्थ्यमा असर पु¥याउने गरेको स्वास्थ्यकर्मी बताउँछन् । पाचन प्रणाली, रगत, कलेजो, मुटु, आँखामा असर गर्ने गरेको जिल्ला अस्पताल प्रमुख बशन्तराज जोशीले बताए । यस्ता सिकायत भएका बिरामी जिल्ला अस्पतालमा पछिल्लो समय बढदै गएको उनले बताए ।

किसानमा चेतनाको कमी हुँदा अन्नबाली, तरकारी लगायतमा अनावश्यक परिमाणमा विषादी प्रयोग हुने गरेको छ । बन्दा, काउली, काँक्रा, टमाटर, सिमी, हरियो सागपात जस्ता तरकारीमा सरकारले प्रतिबन्ध लगाएका कीटनाशक औषधिसमेत प्रयोग भइरहेको कृषि प्राविधिक बताउँछन् ।

रासायनिक मलको सट्टा जैविक मल र विषादीको विकल्पमा वर्तमान कृषि प्रणालीमा स्थानीय स्तरमा उपलब्ध निम, बोझो, टिम्बुर, ज्वानु, तितेपाती, तोरीको तेल, काठको धुलो, गहुँत, साबुनपानी र सुर्तिको झोल आदिको प्रयोग विशेष उल्लेखनीय छन् । यसका लागि कृषकहरूमा यस्ता जैविक मल निर्माणका साथै जैविक कीटनाशक औषधिहरूको उपयोग गर्ने तौरतरिका र प्रभावकारिताका बारेमा ज्ञान अभिवृद्धि गर्नु आवश्यक देखिएको छ ।

प्रकाशित: ७ माघ २०७७ ०५:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App