८ वैशाख २०८१ शनिबार
समाज

बैवाहिक उत्सवमा श्रीमतीलाई पसल उपहार

प्रथम बैवाहिक उत्सवको अवसरमा श्रीमती झरनालाई पसल उपहार दिँदै मनराज । तस्बिरः नागरिक

सामान्यतया विवाह उत्सव गर्दा आफन्त, साथीभाई बोलाएर घरमा रमाइलो गर्ने चलन छ। त्यसमा केक काटेर ब्यालुन पट्काउने प्रचलन व्याप्त छ। कतिपयले ठूलो होटेल तथा रेष्टुरेन्टमा फजुल खर्च गरेर पनि आफ्नो बैवाहिक उत्सव मनाउँछन्। तर कालीकोट सान्नीत्रिवेणी–३, लुयाँता हाल सुर्खेतस्थित वीरेन्द्रनगर बस्दै आएका २८ वर्षीय मनराज देवकोटाले आफ्नो पहिलो बैवाहिक उत्सवमा २४ वर्षीय श्रीमती झरनालाई पसल उपहार दिएका छन्।

वीरेन्द्रनगर–३, एरिचोक नजिकै मनराजले झरनालाई नौ लाख ७२ हजार रूपैयाँ बराबरको भाडा पसल उपहार दिएका हुन्। ‘फजुल खर्च रोकेर श्रीमतीलाई व्यवसायमा जोड्न खोजेको हुँ,’ उनले भने, ‘तडकभडक गर्दा फजुल खर्च मात्र हुन्छ। पसल उपहार दिँदा दुवैजनालाई आर्थिक लाभ हुन्छ।’ जसबाट आउने आम्दानीले आगामी जिन्दगी सहज हुने उनको भनाइ छ। मनराज छापाखाना सञ्चालक हुन्। पहिलो बैवाहिक उत्सवमा श्रीमतीलाई पसल उपहार दिन पाउँदा खुसी भएको उनले प्रतिक्रिया दिए। फजुल खर्चभन्दा समाजसेवा, दुःखी गरिबलाई सहयोग तथा यसरी परिवारलाई व्यवसायमा खर्च गर्नु उत्तम हुने उनको भनाइ छ।

‘समाजमा हुने परम्पराजस्तै मानिएको फजुल खर्चलाई व्यवस्थित गर्न खोजेको हुँ,’ उनी भन्छन्, ‘यसले मेरो परिवार मात्र होइन सबैलाई एउटा सन्देश दिएको छ।’ श्रीमान्ले पहिलो बैवाहिक उत्सवको समयमा पसल उपहार दिँदा झरनाले खुसी व्यक्त गरिन्। अन्य तडकभडकभन्दा बैवाहिक उत्सवको अवसर पारेर पसल उपहार दिँदा आफू खुसी भएको उनले प्रतिक्रिया दिइन्। आगामी वर्षहरुमा पनि अनावश्यक खर्चभन्दा अन्य दुखी गरिबको सहयोगमा बैवाहिक उत्सव मनाउने उनको भनाइ छ।

प्रकाशित: ६ माघ २०७७ ०७:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App