coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जाडोबाट बचाउन जुम्ला प्रशासनको न्यानो कपडा

जिल्ला प्रशासन कार्यालय जुम्लाले जाडोबाट बचाउन न्यानो कपडा वितरण गरेको छ। हिमपात तथा अत्याधिक जाडोबाट बचाउन न्यानो कपडा वितरण गरिएको हो। विपद पूर्व तयारी स्वरुप सिँजा क्षेत्रमै पुगेर न्यानो कपडा कम्बल ज्याकेट बाँडिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जुम्लाको माइनस डिग्रीको चिसोका दैनिकी बिताउँदै आएका यहाँका नागरिकलाई प्रशासन कार्यालयले उपलब्ध गराएको न्यानो कपडाले राहत मिल्ने बताए। उनले भने,‘स्थानीय प्रशासन विपन्न नागरिकका लागि संवदेनशिल छ भन्ने भन्ने देखायो। अब यस्ता कार्यक्रम स्थानीय सरकारले पनि गर्न जरुरी छ।’

विपन्न नागरिकको गाँसबास कपासको ग्यारेन्टी गर्नु राज्यको दायित्व हो। उनले भने,‘त्यो दायित्व जुम्ला प्रशासनले गरेको छ। चिसो मौसममा न्यानो कपडाको जोहो गर्न नसक्ने नागरिकका लागि कम्बल र ज्याकेट दिनु राम्रो कार्य हो।’ प्रमुख जिल्ला अधिकारी थापाले प्रशासनले कठ्यांग्रिदो जाडोमा थुरथुर काँपेर रात विताउन बाध्य नागरिकका लागि न्यानो कम्बल र जकेटले राहतको अनुभुति दिलाउने बताए।  

जिल्ला प्रशासन कार्यालय जुम्लाले विपद कोषबाट विपन्न नागरिकका लागि कम्बल र ज्याकेट वितरण गरेको हो। जसलाई राज्यको सहयोग आवश्यकता छ। उनीहरुको पहिचान गरेर न्यानो कपडा उपलब्ध गरिएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए।  

प्रमुख जिल्ला अधिकारी थापाले थपे,‘ अव सरकारले मात्रै सम्भव हुँदैन। नागरिक स्तरबाटै सहयोगी भावना जागृत हुनुपर्छ। नागरिक नागरिकबीच हुनेले नहुनेलाई साथ दिने कार्यको थालनी जरुरी छ। यो बेला सहयोगी भावनाको जरुरत छ।’ सिँजा क्षेत्रका १२ जना विपन्न नागरिकलाई गाउँमै पुगेर न्यायो दिइएको थियो।  

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, कर्णाली प्रदेश सभा सदस्य पदमबहादुर रोकाया, कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी बसन्त पन्त, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, सशस्त्र प्रहरीका डिएसपी गगन श्रेष्ठ, नेपाल प्रहरीका डिएसपी माधवप्रसाद काफ्लेले विपन्न नागरिकलाई राहतस्वरुप न्यानो कपडा हस्तान्तरण गरेका हुन्। आफूहरुले न्यायो कपडा पाउँदा निकै खुसी भएको प्रतिक्रिया विपन्न नागरिकले दिएका थिए।

प्रकाशित: ६ माघ २०७७ ०४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App