८ वैशाख २०८१ शनिबार
समाज

कोरोना बहानामा बलात्कारी आरोपीलाई उन्मुक्ति

गत मंसिर २६ गते राति चिंगाड गाउँपालिकाकी १५ वर्षीया किशाेरी छिमेकीबाटै बलात्कृत भइन्। किशाेरीका आफन्तले दुई दिनपछि ३० वर्षीय ओमबहादुर रानाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जबरजस्ती करणी मुद्दा दर्ता गरे। प्रहरीले भोलिपल्टै उनलाई पक्राउ गर्‍यो।    

हिरासतमा राखिएको एक सातापछि उनको कोरोना परीक्षण गरियो। रिपोर्ट पोजेटिभ आएपछि प्रहरीले बलात्कार आरोपीलाई हिरासतमुक्त गर्‍यो। होम आइसोलेसन बस्ने गरेर हिरासतमुक्त भएका उनी बिभिन्न ठाउँ गएर भोजभेतर गर्न थाले। पीडितको घरमै पुगेर मुद्दा फिर्ता लिन धम्क्याउन थाले। ‘गम्भीर प्रकृतिको अपराधमा संलग्नलाई कोरोनाको बहानामा घर पठाउँदा पीडितलाई पर्ने असरका बारेमा प्रहरीले ख्यालै नगरेको देखिन्छ,’ अधिवक्ता विवसकुमार बस्नेतले भने, ‘यो घटनामा पनि त्यस्तै भएको छ।’

होम आइसोलेनमा पठाएको बलात्कार आरोपी गाउँ पुगेर भोजभतेर गरेको, प्रहरीलाई घुस दिएर आफू छुटेको बताउने गरेको, पीडितको घरमा पुगेर धम्क्याउने गरेको जस्ता गुनासो प्रहरीसम्म नपुगेको होइन। प्रहरीले अहिलेसम्म ति गुनासाहरु नसुनेझै गरिरहेको छ। सामान्य अपराधमा पक्राउ परेकाहरुलाई कोरोना संक्रमण देखिए प्रहरीले आफ्नै निगरानीमा उनीहरुलाई राख्ने गर्छ। बलात्कार जस्तो गम्भीर प्रकृतिको घटनामा संलग्नलाई राजनीतिक दवावमा कोरोना बहाना बनाएर घर पठाइएको पीडितहरुको आरोप छ।

‘हिरासतमा हुनुपर्ने पीडक घरमा आएर धम्क्याउन र मुद्दा फिर्ता लिन दवाव दिन थालेपछि पटक–पटक हामीले प्रहरीलाई खवर गर्‍यौं,’ पीडित परिवारले भने, ‘प्रहरीले कुनै चासो दिएन।’  

सरकारी मापदण्ड अनुसार पनि लक्षणविनाको कोरोना देखिए १४ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने हो। बलात्कार आरोपी रानाको प्रहरीले पुस दोस्रो साता पोलिग्राफ टेष्टका लागि दोस्रो पटक कोरोना परीक्षण गर्न लगाएको थियो। दोस्रो पटकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। रिपोर्ट नेगेभिट आउँदा पनि हिरासतमा राख्नुपर्ने व्यक्तिलाई घर पठाउँदा पीडितहरु प्रहरीमाथिनै शंका गर्न थालेका छन्।  

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रामप्रसाद घर्ती नेगेटिभ रिपोर्ट आएपछि हिरासतमा राख्नु पर्ने भएपनि अदालतले म्याद नदिने भएकाले जिम्मा जमानीमा घर पठाइएको बताउँछन्। ‘अनुसन्धानको म्याद कटिसकेकाले हिरासतमा राख्न केही समस्या देखियो,’ उनले भने, ‘त्यसैले अदालतले बोलाएको बेला झिकाउने गरेर आफन्तको जिम्मामा घर पठाएका हौं।’

प्रकाशित: ६ माघ २०७७ ०४:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App