coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गोरखामा नागरिकता लिन दुई दिन कुर्नुपर्छ

दिउँसो १२ बजे प्रशासन आएकाले पनि पाउँदैनन नागरिकता

तस्विर ः नागरिक

श्रीमान मानबहादुर बानियाँ सँग नागरिकता बनाउन बिना कुमारी दिउँसो १ बजे जिल्ला प्रशासन कार्यालय आईपुगिन । काखे बालक बोकेर नागरिकता बनाउन उनी एक घण्टा लाईन बसिन् । एक घण्टापछि कर्मचारीले फारम लिने बेला पालो आयो भनेर खुसी भएकी उनलाई आफ्नो पालो आउने बेला कर्मचारीले भने ‘अब आज भ्याईँदैन, जानुस् भोली १० बजे आउनु ।’  

वडा कार्यालयमा बिहे दर्ताको काम सकेर उनी नागरिकता बनाउन आएका रहेछन् । नागरिकता बनाएर काठमाडौं जाने योजनासहित आएका उनी अन्ततः नागरिकता बनाउन आइबार गोरखा सदरमुकामकै होटलमा बस्नुप¥यो । प्रशासन कार्यालयले नागरिकता बनाउन कागजात बोकेर आएकालाई बन्दैन, समय छैन, भ्याईँदैन भन्दै फर्काउँदा दुःख लागेको उनले गुनासो गर्दै फर्किए ।

उनी मात्र होईन आईतवार १०÷१५ जना सेवाग्राही फर्किए । यो क्रम हरेक हप्ताको आईतवार, सोमबार चलिरहन्छ । करिब साँढे १२ बजे जिल्ला प्रशासन कार्यालयमा छोरी चन्दन बराकोटीको नागरिकता बनाउनु पुगेकी मनु बराकोटीलाई वडाबाट ल्याएको सिफारिसको कागजात लिएको एक घण्टा पछि कर्मचारीले फिर्ता गरिदिए । ‘प्रशासन कर्मचारीले भित्रबाट नाम बोलाए, नागरिकता बन्यो होला भनेर लिन गएको फाईल फिर्ता दिएर आज भ्याईँदैन भने’ चन्दन बराकोटीले भनिन् ।  

सुष्मा बरकोटी छोरी आकृतिको नागरिकता बनाउन आएका थिईन । उनको पनि नागरिकता बनेन । ‘आईतवार क्याम्पसको पढाई छोडेर नागरिकता बनाउन आएको अब अर्को दिन पनि पढाई छुट्ने भयो’, सुष्माले भनिन् । जिल्ला प्रशासन कार्यालय तनहुँमा आफन्तको नागरिकता बनाउन जाँदाको क्षण सम्झँदै उनले थपिन् ‘त्यहाँ त चार बजे सम्म नागरिकता बन्थ्यो, त्यो पनि कागजात बुझाएको आधा घण्टामा पाईन्छ, यहाँ त १२ नबज्दै देखि काम आज भ्याईँदैन, हुँदैन भन्दा रहेछन् ।’  

पालुङटार नगरपालिका ७ च्याङ्लीका कुलबहादुर आलेले आईतवार नागरिकता पाएनन् । बिहान १० बजे नै जिल्ला प्रशासन नआएका कारण र उनी भन्दा अघि ७० जनाले फारम बुझाएकाले उनको पालो आएन । बुबा तेजबहादुर आलेलाई लिएर उनी अर्को दिन फेरी आउन भनेपछि दुई बजे नै घर फर्किए । ‘अब बिहानै ट्याक्सी रिर्जभ गरेर आउनुपर्ला’ तेजबहादुर ले भने ‘चार बजे सम्म त सरकारी कार्यालय खुल्नुपर्ने हो, तर खै अझै तीन घण्टा बाँकी छ तर यहाँ समय सकियो भन्छन् ।’  

प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले कर्मचारी थोरै हुँदा सेवा दिन नसकिएको बताएका छन् । एक दिनमा ७० वटा नागरिकता दिने वा दुई बजे सम्म कागजात पेश भएकालाई मात्र दिन सकिने गरी प्रशासनले नियम बनाएको उनले बताए । ‘कर्मचारी थोरै छन्, बिहान आएदेखि टाउको उठाउन पाउँदैनन, चिया खाने पनि फुर्सद छैन’ प्रजिअ भट्टराईले भने ‘बिहानै आउनुप¥यो, हामीले सुचना जारी गरेका छौँ ।’ तर दिउँसो साँढे एक बजेदेखि खाजा खान गएका कर्मचारी दुई बजे सम्म कार्यालय आएका थिएनन् ।

प्रशासनको यो नियम बारे जानकारी नभएको भन्दै सेवाग्राही दुखी हुँदै फर्किएका थिए । प्रशासन कार्यालयमा आईतवार र सोमवार नागरिकता लिनेको भिड लाग्छ । गोरखाको दुर्गम ठाउँदेखि आएका सर्वसाधारण नागरिकता लिनकै लागि होटलमा बास बस्नुपर्ने बाध्यता छ । यो सुरु भएको एक महिना भयो ।

सिफ्ट सेवा दिन सकिँदैन ? भन्ने जिज्ञासामा प्रजिअ भट्टराईले नागरिकता बुझेका कर्मचारी चाहिने, दुई सिफ्ट गर्ने गृहमन्त्रालयको निर्देशन नभएको, सेवा दिने कर्मचारी अभाव रहेको बताए । ‘हामीले सके सम्म चाँडो आउनु भन्ने हो, अरु के गर्न सक्छौँ र ?’ प्रजिअ भट्टराईले भने ।  

गृह मन्त्रालयका प्रवक्ता सह सचिव चक्रबहादुर बुढाले चार बजे सम्म कार्यालय प्रवेश गरेकाहरुको कागजात लिनुपर्ने बताएका छन् । ‘टाईम यती उति भन्ने हुँदैन, कार्यालयमा डकुमेन्ट भएका मानिस प्रवेश गरेपछि काम सम्पन्न गर्नुपर्छ’ प्रवक्ता बुढाले भने ‘अन्यत्र यस्तो छैन त, एक बजे नै रोक्ने भन्ने त हुँदैन हुँदैन, सकेसम्म काम गरेरै पठाउनुपर्छ ।’  

प्रकाशित: ४ माघ २०७७ १०:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App