coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धादिङमा २५ हल गोरु जुधाइयो

माघ १ गते पहाडमा माघेसंक्रान्ति र तराईमा माघी पर्वको उल्लास छाएको छ । माघे संक्रान्ति भन्ने वित्तिकै देशका बिभिन्न ठाउँमा घ्यु चाकु, तरुल खाएर मनाईने प्रचलन रहेको छ । माघेसंक्रान्तिको अवसर पारेर धादिङ र नुवाकोटका विभिन्न ठाउँमा गोरु जुधाई मेलाको आयोजना गरिएको छ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं १४ को धुवाँकोटस्थित भंगेरीमा १८ हल र नीलकण्ठ नगरपालिका वडा नं – ५ खाल्टेमा ७ गरी २५ हल गोरु जुधाइएको छ ।  

संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्र र भंगेरी युवा क्लबले धुवाँकोटको भंगेरीमा गोरु जुधाई कार्यक्रमको आयोजना गरेको हो । धादिङको धुवाकोट ऐतिहाँसिक महत्वका ९ ओटा कोटमध्ये एउटा महत्वपूर्ण कोट हो । विशेष गरि धुवाकोटमा पर्यटन प्रवद्र्धन तथा स्थानीय उत्पादनको प्रवद्र्धनमा समेत सहयोग पुग्ने गरि गोरू जुधाई कार्यक्रम आयोजना गरिँदै आइरहेको संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिवकुमार श्रेष्ठले बताए । ‘विगत आठ वर्षदेखि व्यवस्थित रुपमा गोरु जुधाउन थालेका हौँ,’ उनले भने, ‘प्रतियोगितामा जुधेका गोरुमध्ये जसको गोरु पहिला भाग्छ, उसैको गोरुले हारेको र अर्को पक्षकाले जितेको ठहरिन्छ ।’

धुवाँकोटमा जुधाइएका गोरुलाई पहिलो, दोस्रो र तेस्रो समूहमा विभाजन गरिएको छ । गोरुको उमेर, साइज र क्षमता हेरेर पुरस्कार प्रदान गरिएको छ । पहिलो समूहमा ४ हल गोरु, दोस्रो समूहमा ७ हल र तेस्रो समूहमा ७ हल गोरु छुट्टाइएको छ । पहिलो समूहको विजेताले १२ हजार, उपविजेताले १० हजार नगद र प्रमाणपत्र, दोस्रो समूहको विजेताले १० हजार, उपविजेताले ८ हजार नगद र प्रमाणपत्र र तेस्रो समूहको विजेताले ७ हजार, उपविजेताले ५ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।  

आफ्नै देशको मौलिक शैली र संस्कृति बनिसकेको नेपालको एकमात्र गोरु जुधाई मेलाले विश्वमै चर्चित खेल प्रतियोगिता मानिएको स्पेनको बुलफाइट पनि बिर्साउने भिन्नै आकर्षण बन्ने गरेको छ । पहिले छिमेकीहरुले रमाइलो स्वरुप आफ्नो घरमा रहेका गोरुहरु जुधाउने गरेका थिए । अहिले प्रतियोगीताका रुपमा गोरु जुधाइने गरेको छ । खाल्टेमा विगत सात वर्षदेखि चमेरो गुफा संरक्षण समाज, खाल्टेले प्रतियोगीताकै रुपमा गोरु जुधाउने कार्यक्रम आयोजना गर्दै आइरहेको समाजका अध्यक्ष प्रितम श्रेष्ठले बताए । विजेता गोरु धनीलाई ६ हजार र उपविजेतालाई ३५ सय प्रदान गरिएको छ ।  

कृषि कर्मको लागि पालिएका गोरुलाई माघे संक्रान्तिको दिन जुधाएर मनोरञ्जन लिने धादिङ र नुवाकोट जिल्लाको यो सदियौं पुरानो परम्परा हो । जनावर जुधाएर आनन्द लिने मानिसको यो परम्परासँग ऐतिहासिक महत्व पनि जोडिएको छ । मावला आएका आफ्ना भान्जा बझाङ्गी राजा पृथ्वीबहादुर सिंहको स्वागतका निम्ति माघे संक्रान्तिका दिन गोरु जुधाएर थालनी गरिएको परम्परा निरन्तर रूपमा मनोरञ्जन, भेटघाट र मित्रता नवीकरण गर्ने अवसरका रुपमा विकासित हुँदै आएको छ ।  ऐतिहासिक प्रमाण नभेटिए पनि गोरु जुधाई परम्परा सय वर्षभन्दा पूरानो मानिन्छ ।

त्यस्तै नुवाकोटका विभिन्न ठाउँहरुमा पनि गोरु जुधाई मेलाको आयोजना गरिएको छ । नुवाकोटमा गोरु जुधाउने चर्चित ठाउँ तारकेश्वर गाउँपालिका–३ तारुका, विदुर नगरपालिका–१० बेत्रावती, पञ्चकन्या गाउँपालिका–३ घलेगाउँ र शिवपुरी गाउँपालिका–५, शेराबगरमा गोरु जुधाइएको छ । कोरोनाका कारण धेरै प्रचारप्रसारमा जोड नदिएर परम्परालाई निरन्तरता दिने उद्देश्यले मात्र थोरै संख्यामा गोरु जुधाइएको बताइएको छ । तारुकाका विभिन्न ठाउँमा गोरु जुधाएर मनोरञ्जन लिने परम्परालाई २०६२ सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा व्यवस्थित रुपमा एकै ठाउँमा गोरु जुधाउन थालिएको हो ।  

प्रकाशित: १ माघ २०७७ १३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App