७ वैशाख २०८१ शुक्रबार
समाज

पश्चिमी पहाडी तथा हिमाली जिल्लामा चिसोले जनजीवन प्रभावित

कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लास्थित जुम्लाकोट खोलामा चिसोले जमेको पानी । तस्विरः डिबी बुढा/नागरिक

हुस्सुसँगै कुहिरो लाग्दा पश्चिमी पहाडी तथा हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ । लुम्बिनीका रुकुम पूर्व, रोल्पा, कर्णालीका जुम्ला, हुम्ला, डोल्पा, मगु र सुदूरपश्चिम प्रदेशका अछाम, डडेल्धुरा, दार्चुलालगायतका जिल्लामा अत्यधिक चिसो बढेको छ ।

कुहिरोसँगै चल्ने चिसो हावाले बिहान स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन् । बजारमा चलहपहल कम भएको छ । बिहानै खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो झनै बढ्न थालेपछि बजार सम्साँझै सुनसान हुन थालेका छन् । बाक्लो हुस्सु र शीतका कारण दैनिक कामकाज प्रभावित भएको स्थानीयको भनाइ छ । चिसोले अति विपन्न, विपन्न, बालबालिका, दीर्घरोगी, वृद्धावृद्ध र बाढी पीडितहरु बढी प्रभावित भएका छन् ।

बिहानैदेखि साँझसम्म न्यानो घाम नलाग्दा अत्यधिक चिसो बढेको कर्णालीको हिमाली जिल्ला जुम्लाका महाकृष्ण पाण्डेले बताए । ‘हुस्सुसँगै चिसो सिरेटो चल्दा दैनिक कामकाज बन्द भएको छ,’ उनले भने, ‘दिनभरि आगो बालेर बस्छौं ।’ कर्णाली र सुदूरपश्चिममा चिसो रही रहने भए पनि वर्षाको सम्भावना भने नभएको जल तथा मौसम विभाग कार्यालय कोहलपुरले जनाएको छ । ‘चिसो दुई÷तीन दिनसम्म हुन सक्ने पूर्वानुमान गरिएको छ,’ जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख विनोद पराजुलीले भने, ‘पूर्वमा वर्षा हुने सम्भावना छ । पश्चिममा वर्षाको सम्भावना छैन ।’

पश्चिमी वायु स्थानीय वायुको सामान्य प्रभावका कारण तापक्रममा कमी आएको उनको भनाइ छ ।  कर्णालीका जुम्लाको तापक्रम माइनस ३.९, सुर्खेतको ७.८ डिग्री सेल्सियस रहेको छ भने सुदूरपश्चिम प्रदेशको डडेल्धुराको २.८, दिपायलको ४.८ र धनगढीको ९.५ डिग्री सेल्सियस तापक्रम छ । लुम्बिनी प्रदेशको बाँकेको तापक्रम ११.२ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ । पश्चिम तराईका जिल्लाभन्दा पहाडी र हिमाली जिल्लामा तापक्रम घट्दो छ । अत्यावश्यक कामबोहक अरुबेला काममा स्थानीयहरु सरकारी तथा गैरसरकारी कार्यालयमा आवतजावतमा कमी आएको छ । चिसोले यहाँको जनजीवन कष्टकर बनेको स्थानीयहरु बताउँछन् । तराईका जिल्लामा पनि चिसो बढेको छ । चिसो बढेपछि अरु व्यापारमा कमी आए पनि न्यानो कपडाको व्यापार भने फस्टाएको छ ।

प्रकाशित: १ माघ २०७७ ११:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App