८ वैशाख २०८१ शनिबार
समाज

कोरोनाले रोकिएको दिवा खाजा कार्यक्रम सुचारु

दिवा खाजा खादैं विद्यार्थी । तस्बिर : सरिता/नागरिक

कोभिड–१९ का कारण रोकिएको दिवा खाजा कार्यक्रम पुनः सुरु गरिएको छ। धादिङको थाक्रे गाउँपालिका वडा नं ५ दामेचौरमा २०६५ सालदेखि संचालन भइरहेको जनभोजनालयमा दिवा खाजा कार्यक्रम कोभिड-१९ को महामारीका कारण गत चैत ११ गतेदेखि नै बन्द भएको थियो। स्थानीय सरकार सरोकार वाला अभिभावक विद्यार्थी शिक्षकहरुको माग अनुसार विश्व स्वास्थ्य संगठन र नेपाल सरकार स्वास्थ्य मन्त्रालयको माप दण्ढ पूर्ण रुपमा पालना गर्दै सुचारु गरिएको जनभोजन कार्यक्रमका व्यवस्थापक भोला राउतले जानकारी दिए।

जिल्लाको थाक्रे गाउँपालिका वडा नं ४ र ५ का ३ वटा माध्यमिक विद्यालय र थाहा नगरपालिकाको वडा नं ११, १२ को १ वटा माध्यमिक विद्यालय र ३ वटा आधारभूत विद्यालयका १ हजार ८ सय जना बालबालिकाहरुको लागि दिवा खाजा प्रदान गरिएको छ। प्रेमसागर फाउन्डेसन नेपालले संचालन गरेको जनभोजनालयमा कोभिड १९ को महामारी हुनुपूर्व विद्यालय जाने बालबालिकाहरुलाई बिहानको खाना र दिवा खाजा निःशुल्क रुपमा प्रदान गरिँदै आइरहेको छ।  

थाक्रे गाउँपालिका वडा नं ५ दामेचौरमा रहेको आदर्श माध्यमिक विद्यालयका तीन सय दश जना बालबालिकाहरुको लागि बिहानको खाना खुवाउँदै आएकोमा कोरोना भाइरसका कारण स्वास्थ्यलाई ध्यानमा राखी दिवा खाजा संचालन गरिएको छ।  

दैनिक २५ सय बालबालिकाहरुलाई निःशुल्क रुपमा पोष्ट्रिक खाना र खाजा खुवाउँदै आइरहेको भएपनि कोभिड-१९ को महामारीले गर्दा रोकिएको व्यवस्थापक राउतले बताए। ‘धादिङको थाक्रे र मकवानपुरको थाहाका केही विद्यालयहरुलाई निःशुल्क रुपमा खाना, खाजा खुवाउँदै आइरहेका थियौँ, त्यो कोभिड-१९ ले रोकियो,’ राउतले भने, ‘अहिले सहज भएको र विद्यालय संचालन भएकाले दिवा खाजा कार्यक्रम पुनः संचालन गरेका हौँ।’ निःशुल्क खाना र खाजा कार्यक्रमले गाउँ नै परिवर्तन भएको राउतको भनाइ छ।  

एक दिनको जनभोजनको खर्च २५ हजार, जसबाट बालबालिका र जेष्ठ नागरिकहरुलाई बिहानको खाना खुवाइन्छ। छिमेकका विद्यालयका बालबालिकाहरुका लागि दिउँसोको खाजाको प्रवन्ध पनि भूकम्पपछि संचालित छ। जसका लागि दैनिक ३० हजार खर्च हुने उनले बताए। जन्मदिन, विवाह उत्सव तथा अन्य कुनै अवसरमा दिइएको रकमबाट जनभोजन कार्यक्रम संचालन भइरहेको छ। फाउन्डेसनलाई नेपालका विभिन्न व्यक्ति र संस्थाले आफ्नो जन्मदिन, पितामाताको पुण्यतिथिको स्मरणमा आर्थिक तथा भौतिक सहयोग गरेका छन्।  

निःशुल्क खाना र खाजाको कार्यक्रमले त्यस क्षेत्रका बालबालिकाको बीचमा नै विद्यालय छाड्ने समस्या निकै कम भएको छ। कुपोषणको समस्याले निकै ग्रसित यस क्षेत्रका बालबालिकाको स्वास्थ्यमा निकै सुधार आएको छ। बत्तीमूनिको अँध्यारोलाई जनभोजनले उज्यालो बनाएको छ। मानवीय सहयोग र सेवाबाट विद्यालय जाने बालबालिकाहरुलाई पोषणयुक्त खाना र दिउँसोको खाजा समेत उपलब्ध भएकोले विद्यालय जाने बालबालिकाको संख्या बढेको छ।  

थाक्रे गाउँपालिकामा रहेको शीवशंकर प्रावि र आर्दश माविका विद्यार्थीहरु जनभोजनालयमा नै बिहानको खानाको व्यवस्था थियो। थाक्रेकै लिति महाकाली मावि, महाकाली मावि र मकवानपुरको वागेश्वरी मावि, गणेश आवि र टिस्टुङ देउराली आविमा दिउँसोको खाजा खुवाउदै आइरहेको थियो । खाजा कार्यक्रमलाई नियमित रुपमा संचालन गर्ने व्यवस्थापक राउतले बताए। जनभोजनालयले खाना मात्र नभई छात्रवृति प्रदान तथा उच्च शिक्षाका लागि सहयोग तथा स्कुल ड्रेस, शैक्षिक सामग्री पनि प्रदान गर्दै आइरहेको छ।  

आर्थिक अवस्था कमजोर हुनु, शिक्षा आर्जन गर्ने थलो नहुनु, बालविवाह बढी हुनु, महिलाको स्वास्थ्य अवस्था जटिल हुनु, समयमा नै उपचार नहुनु लगायतका समस्याले थलिएको यस गाउँमा जब २०६५ सालमा जनभोजन कार्यक्रम सुरु भयो तब गाउँ नै परिवर्तन भयो। यस क्षेत्रमा तामाङ, चेपाङ र दलित समुदायका बालबालिकाहरु अध्ययनरत छन्।

प्रकाशित: १ माघ २०७७ ०५:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App