८ वैशाख २०८१ शनिबार
समाज

६ वडामा एक सचिव

जुम्लाको सिँजा गाउँपालिकामा कर्मचारी अभावका कारण एकजना कर्मचारीले ६ वडा कार्यालयको प्रशासनिक काम गर्नुपर्ने बाध्यता छ। गाउँपालिकामा ६ वटा वडा रहेका छन्। पुस १५ गतेदेखि सवै वडाको काम एकजना वडा सचिव दलबहादुर रोकायाले गर्दै आएका छन्। ६ वटा वडाको सबै काम आफू मात्रैले गर्नु पर्दा निकै कठिन भएको उनले बताए। कर्मचारी अभावका कारण वडा कार्यालयमा सिफारिसदेखि अन्य कामको पनि समस्या हुने गरेको स्थानीयको भनाइ छ। अहिले गाउँपालिकामा जम्मा एकजना मात्रै वडा सचिव छन्। केही काम गर्नु परे सचिव खोज्दै जानुपर्ने अवस्था रहेको स्थानीय रत्नवीर बुढाले बताए।  

वडामा रहेका अन्य सहायक कर्मचारीको सहयोगमा सिफारिस, बसाइँसराई जस्ता कागजपत्र मिलाएर सचिवलाई दस्तखत गराउने गरेको वडा नम्बर १ का वडाध्यक्ष रणबहादुर रोकायाले बताए। ‘गाउँपालिकामै कर्मचारी छैनन्,’ उनले भने, कर्मचारी अभाव भएपछि यसको असर जनतालाई पर्ने नै भयो। कर्मचारी नहुँदा वडा कार्यालयका कामकाज चलाउन पनि निकै कठिन भएको छ।’ गाउँपालिकामा ५ वडामा सचिव भए पनि अहिले सबै जिल्ला बाहिर गएपछि सबैको जिम्मेवारी दलबहादुर रोकायाले लिएका छन। १ नम्बर वडाका सचिव घरविदा, २ वडाका सचिव बिरामी भएर उपचारमा रहेको सिँजा गाउँपालिकाका प्रवक्ता एवं २ नम्बर वडाध्यक्ष नविन शर्माले बताए। अन्य वडाका सचिव सेवाकालिन तालिममा गएकाले सचिवको अभाव भएको उनले बताए।

हिउँदे गाउँसभाअघि वडा तथा गाउँपालिकाको योजना सबै सम्झौता भइसकेका छन्। अहिले जिल्लामा स्थानीयवासी पनि नभएकाले विकास निर्माणका काम नहुने र चिसो भएकोले सचिव नहुँदा पनि खासै समस्या नहुने जनप्रतिनिधिहरूको भनाइ छ। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीका अनुसार योजना सम्झौता भए पनि जुम्लामा चिसोका कारण विकास निर्माणका काम सुरु भएका छैनन्। वडासचिव सेवाकालिन तालिमका लागि जिल्ला बाहिर गएको उनले बताए। वडा सचिव नहुँदा केही समस्या भएपनि गम्भीर समस्या नआउने उनको भनाइ छ।

प्रकाशित: १ माघ २०७७ ०३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App