coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आयआर्जनका लागि कुखुरा वितरण

बराहताल गाउँपालिका–६ इखेनीका गंगाराम कसेराको परिवार अधिकांस समय कामका लागि कालापहाडमा हुन्थ्यो।  दशैं–तिहार र नयाँ वर्षमा मात्रै बस्तीमा पुग्ने कसेरा परिवार कोरोना संक्रमणपछि गाउँमै छ।  उनले अहिले कुखुरापालन व्ययवसाय सुरु गरेका छन्।  ‘पहिले आम्दानीको स्रोत केही नहुँदा कमाउन कालापहाड जानुपर्दथ्यो,’ उनले भने, ‘निःशुल्क खोर, चल्ला र चारो पाएपछि यो व्यवसाय सुरु गरेको हुँ। ’

२०६० सालमा तत्कालीन विद्रोही माओवादीले इखेनीको जंगल मासेर बस्ती बसायो।  द्वन्द्वका क्रममा पीडित भएका र अति विपन्न परिवारहरुलाई छनोट गरेर यहाँ राख्यो।  चुरेको फेद, भेरी नदी किनारमा सुन्दर इखेनी बस्ती बस्यो।  तत्कालीन समयमा बसेका ५५ घरधूरीले परिवार संख्याको आधारमा दुईदेखि १२ कट्ठासम्म जमिन पाए।  नदी छेउको बस्ती भएपनि यहाँ पिउनका लागिसमेत खानेपानी छैन्।  जमिन छ, सिंचाई नहुँदा उब्जनी हुँदैन्।  ५५ घरधूरीबाट अहिले इखेनी बस्ती विस्तार भएर एक सय ५ पुगेको छ।  कसेरासँग पाँच कट्ठा जमिन छ।  सिंचाई नहुँदा खेती हुँदैन्।  

इखेनी बस्तीलाई कर्णाली प्रदेश अस्पतालका वाल रोग विशेषज्ञ डा. नवराज केसीको  पहलमा इखेनीलाई नमुना बस्ती बनाउने अभियानको सुरुवात भएको छ।  यहीँ अभियानमा लायन्स क्लव इन्टरनेशनल पनि जोडिएको छ।  लायन्स क्लवले बस्तीका ३० परिवारलाई दुई लाख बराबरका लोकल कुखुराका चल्ला वितरण गरेको छ।  ‘आयआर्जनका लागि गाउँका केही नहुँदा कालापहाड जानुपर्ने बाध्यता थियो,’ कसेराले भने, ‘अव कुखुराका चल्ला पायौं, यसैलाई दीर्घकालिन व्यवसाय बनाउँछौं। ’  

उपेन्द्र विकको परिवार पनि वर्षमा दुई महिना मात्रै गाउँमा हुन्थ्यो।  दशैं–तिहार र नयाँ वर्षको छेको पारेर गाउँ आउने उनको परिवार बाँकी समय लालाबालासहित कमाउन कालापहाड (भारत) हुन्थ्यो।  गाउँमा आधारभूत विद्यालय भएपनि उपेन्द्रका ८ वर्षीय छोरा र १२ वर्षीया छोरीले स्कुलमा पाइला टेकेका थिएनन्।  

उपेन्द्रको परिवारले अव गाउँ नछोड्ने निधो गरेको छ।  छोराछोरीलाई स्कूल पठाउन थालेका छन्।  विश्वभर फैलिएको कोरोनाका कारण गत जेठमा कालापहाडबाट फर्किएको उनको परिवार अहिले गाउँमै कुखुरा पालन व्यवसाय गर्न थालेका छन्।  कालापहाडमा एक्लै मजदूरी गरेर घरको चुल्हो बाल्न गाह्रो हन्थ्यो।  त्यसैले यहाँका अधिकांस परिवारसहित कालापहाड जान्थे।  ‘गाउँमा खरको छानोबाहेक केही छैन्, जमिन भएपनि सिंचाई सुविधा छैन्, खानेपानीका लागि घण्टौं समय खर्चिनुपर्छ,’ उपेन्द्रले भने, ‘यहाँको दुःखले परिवारसहित कालापहाड जान्थ्यौं। ’

कोरोना कहरैबीच कर्णाली प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा. नवराज केसी पटक–पटक पश्चिम सुर्खेतको इखेनी बस्ती पुगे।  देश लकडाउनमा थियो।  बजारदेखि धेरै टाढाको यो बस्तीका सबै नागरिकहरु कोरोना कहरका कारण भारतबाट आफ्नो झुपडीमा फर्किएका थिए।  खानलाई घरमा अन्न थिएन्।  जंगलका गिट्ठा र थाकलले भोक मेटाउनु पर्ने बाध्यता उनीहरुसँग थियो।  

डा. केसीले यसैलाई अवसरका रुपमा लिए।  तत्कालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाए।  ‘मेरो उद्देश्य कोरोनाका कारण घर फर्किएका नागरिकहरु फेरि भारत फर्किन नपरोस् भन्ने थियो,’ डा. केसीले भने, ‘त्यसैले तत्कालका लागि खाद्यान्न सहयोग र दीर्घकालका लागि आयमूलक कामको सुरुवात गर्ने योजना बन्यो। ’

एक सय ५ घरधूरीका सबै महिलाहरु आवद्ध रहेको चार वटा समुह गठन गरिए।  आयआर्जनका लागि महिलाहरुले कुखुरा पालन व्यवसाय रोजे।  फ्रन्टलाइनमा खटिएवापत सरकारले दिने कोरोना भत्ताको रकममार्फत उनले घर–घरमा खोर निर्माण गरिदिए।  इखेनीलाई नमूना गाउँ बनाउने अभियानमा डा. केसी एक्लै छैनन्।  स्थानीय पालिकासँगै लायन्स क्लव इन्टरनेशनल, एसओएस बालग्रामलगायतका सामाजिक संघ–संस्थाहरु पनि जोडिएका छन्।  

चाडपर्वबाहेक अरु बेला गाउँ शून्यप्रायः हुन्थ्यो।  अहिले अरु बेला पनि गाउँमा चहल–पहल बढ्न थालेको छ।  सहयोगीहातहरु इखेनी पुग्न थालेका छन्।  लायन्स क्लव इन्टरनेशनलले मेल्भिन जोन्स सप्ताहको सुरुवात इखेनीबाट गर्योु।  ‘विपन्न र दलित समुदायको बसोबास रहेको गाउँलाई साँच्चै सहयोगको आवश्यकता रहेछ,’ कुखुराका चल्ला हस्तान्तरण गर्दै लायन्स लिडर टिकाराम चपाईले भने, ‘इखेनीलाई नमूना गाउँ बनाउने अभियानमा लायन्स क्लव पनि सँगसँगै रहन्छ। ’ चपाईले कर्णाली प्रदेशमा रहेका सबै क्लवहरुमार्फ इखेनीलाई सहयोग गर्ने बताए।  ‘इखेनीलाई कर्णालीकै नमूना गाउँ बनाउन लायन्स क्लवले आगामी दिनहरुमा पनि आवश्यक सहयोग गर्छ,’ उनले भने, ‘बस्तीमै आएर समस्या बुझ्न पायौं, थप सहयोगका लागि पनि पहल गछौं। ’

लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका एरिया चिफ हरिहर बस्नेतले नमुना गाउँ बनाउने अभियानमा सबै लायन्सहरुले सहयोग गर्ने बताए।  ‘पहिलो चरणमा आयआर्जनका लागि कुखुराका चल्ला वितरण गरेका छौं,’ उनले भने, ‘आयआर्जनका अन्य सहयोग कार्यक्रम पनि इखेनीमा सञ्चालन गछौं। ’

 

 

प्रकाशित: २७ पुस २०७७ १३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App