coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रसुवामा उच्च हिमाली सम्पदा क्षेत्रको दिगो सरसफाई कार्यक्रम सञ्चालन

उच्च हिमाली सम्पदा क्षेत्रको दिगो सरसफाई कार्यक्रम अन्तर्गत रसुवामा सरसफाइको काम गरिँदै । तस्बिर/नागरिक

रसुवामा उच्च हिमाली सम्पदा क्षेत्रको दिगो सरसफाई कार्यक्रम सञ्चालन भएको छ। फोहोरमैला व्यवस्थापन र पर्यापर्यटनको विकासका लागि अभियान सञ्चालन गरिएको हो। एक वर्ष सञ्चालन गर्ने गरी तय गरिएको कार्यक्रम विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण तीन महिना थप गरेर अभियानलाई निरन्तरता दिइएको छ। युरोपियन आउटडोर कन्जर्भेसन एसोसियसन र रिसोर्सेस हिमालयको सहयोगमा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले कार्यक्रम सञ्चालन गरिरहेको छ। कार्यक्रम २०२० जनवरीदेखि सुरु भएको थियो।

अब तीन महिनासम्म सञ्चालन हुने कार्यक्रम अन्तर्गत पहिलो चरणमा पर्यटकीय क्षेत्रहरूको सरसफाई, होटल व्यवसायी तथा विभिन्न समूहका व्यक्तिहरूलाई अभिमुखीकरण र तीनवटा विद्यालयमा विद्यार्थी तथा विषयगत शिक्षकलाई अभिमुखीकरण सञ्चालन गरिएको छ।

दोस्रो चरणमा फोहोरमैला वातवरणमैत्री रूपले जलाउनका लागि इन्सिनेरेटर निर्माण गर्ने, लाङटाङ पदमार्ग र गोसाइँकुण्ड पदमार्गमा ५० वटा डष्टबिन राख्ने र फोहोरमैला व्यवस्थापन सम्बन्धी कार्यविधि बनाउने अभियानका फिल्ड अफिसर हरिबोल आचार्यले बताए। ‘कोरोना भाइरसको जोखिमका कारण कार्यक्रम केही पछि धकेलिएको भएपनि अहिले कार्यक्रमलाई गति दिएका छौं’, उनले भने, ‘यसका लागि स्थानीयले राम्रो सहयोग गरेका छन्।’

प्रकृति वा वातावरणलाई कम भन्दा कम असर पर्ने गरी स्थानीय स्रोत र साधनको प्रयोगबाट आर्थिक उन्नति गर्न सकिने भएकाले यस कार्यक्रमलाई यस क्षेत्रमा सञ्चालन गरिएको उनको भनाइ छ। पहिलो चरणमा सञ्चालन गरिएको कार्यक्रममा १७ जना स्वयमसेवकले धुन्चे तथा ठुलोस्याफ्रुमा  सरसफाई गरेका छन्।  

गाउँपालिका भित्र रहेका पर्यटकीय क्षेत्रहरूमा स्थानीय उत्पादन बढाउन पनि काम भइरहेको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए। ‘गोसाइँकुण्ड गाउँपालिका पर्यटकीय क्षेत्रहरूले भरिपूर्ण छ’, उनले भने, ‘यस क्षेत्रमा बढीभन्दा बढी पर्यटक भित्र्याउनका लागि कार्यक्रम सञ्चालन गरिरहेका छौं।’ उनका अनुसार पर्यपर्यटन कार्यक्रम सञ्चालन, पदमार्ग निर्माण, मचान निर्माण, रेडपाण्डा ट्रेल निर्माणका लागि आवश्यक काम भइरहेको छ।  

 २०२० जनवरीदेखि सुरु भएको अभियानले हालसम्म फोहोर व्यवस्थापन सम्बन्धी अनुसन्धान गर्ने, इन्सिनेरेटरको डिजाइन गर्ने तथा सचेतना फैलाउने काम सम्पन्न गरेको छ । यसैगरी गोसाइँकुण्ड तथा लाङटाङ क्षेत्रमा सिजनको समयमा हरेक महिना फोहोर संकलन गर्ने गरी कार्य अगाडि बढाइएको छ। अफ सिजनमा पर्यटकको आगमन नहुने भएकाले कम मात्र फाहोर निस्कासन हुने भएकाले सिजनमा मात्र फोहोर संकलन गर्न लागिएको हो।  

प्रकाशित: २७ पुस २०७७ ०६:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App