७ वैशाख २०८१ शुक्रबार
समाज

बेलिब्रिज जीर्ण हुँदा कर्णालीवासीको यात्रा जोखिममा

कर्णाली राजमार्गको कालिकोट खण्डमा रहेको सेरीघाट बेलिब्रिज जीर्ण हुँदा कर्णालीवासीको यात्रा जोखिमपूर्ण हुन थालेको छ। नेपालगंज र सुर्खेतदेखि जुम्ला मुगु र जुम्ला, मगु, कालिकोटदेखि सुर्खेत नेपालगंज जाने यात्रुको यात्रा जोखिमपूर्ण हुन थालेको हो। साना तथा ठूला सवारीसाधन आवतजावत गर्दा पुल हल्लिने गरेको छ।  

करिब डेढ दशक पहिले मान्मको फेद सेरीघाटमा निर्माण गरिएको सो बेलीब्रिजमा क्षमता भन्दा ठूला सवारी साधन गुड्ने गरेकै कारण पुल जीर्ण भएको स्थानीय बताउँछन्। पुलभरी माटो भरिएर खिया लागीसकेको छ। कुनै पनि बेला दुर्घटना हुन सक्ने खतरा बढेको जुम्लाकी दुर्गा रावलले बताइन्। उनले भनिन्,‘कर्णालीको सडक साँघुरो छ। त्यसैमा यो पुलको अवस्था नाजुक छ।’

२०६२ सालबाट कर्णाली राजमार्गमा गाडी गुड्न थालेका हुन्। पुलको क्षमता भन्दा दोब्बर तेब्बर बढी तौलका ठूला सवारी साधन गुडेपछि कर्णाली राजमार्गको पहिलो बेलीब्रिज पुल जीर्ण बनेको सडक डिभिजन जुम्लाका प्रमुख लिलाबहादुर भण्डारी बताउँछन्। उनले भने,‘एक त कर्णाली राजमार्ग ईन्जिनिरिङ मापदण्डमा छैन। बेलीब्रिजको सट्टामा त्यतिबेलै पक्की पुल निर्माण गर्नु पथ्र्यो। त्यो हुन सकेन। बेलिब्रिज पुलमा यात्रुवहाक सवारी बाहेक ठूला मालवहकक सवारी चलाउँदा जोखिम बढ्छ।’

बेलिब्रिज जीर्ण बन्दै गएपछि सेरीघाट नजिकै सडक डिभिजन सुर्खेतको माताहतमा पक्की पुल निर्माण कार्य अघि बढेको छ। दुबै तर्फका स्ल्याब खडा भएका छन्। बेलिब्रिज जीर्ण बन्दै जाँदा पक्की पुल निर्माण कार्यलाई द्रुत गतीमा अघि बढेको छ। चालु आर्थिक वर्षभित्रै पक्की पुल निर्माण सम्पन्न गर्ने गरी काम भईरहेको छ।  

दैखोलादेखि माथि जुम्लाको कार्यक्षेत्र भएपनि सेरिघाट पक्की पुल निर्माण सुर्खेतले जिम्मेवारी लिएको हो। बेलिब्रिज नजिकै बन्न लागेको पक्की पुल निर्माण कार्य बिना रोकटोक अघि बढाउनको लागि कर्णालीवासीले आग्रह गरेका छन्। पुल निर्माणसंगसंगै कर्णाली राजमार्गको स्तरोन्नती कार्य अघि बढाउन कर्णालीवासीले माग गरेका छन्।  

कर्णाली राजमार्ग अन्तरर्गतको जुम्ला सडक खण्डमा निकै सुधार भएको छ। खाल्डा खुल्डी पुर्नेदेखि कालोपत्रे समेत गरिएको छ। केही अप्ठ्यारा ठाउँमा सुधारको कार्य अघि बढेका छ। तर केही ठाउँमा धुलो र हिलोले गर्दा सडकमा यात्रा असहज भइरहेको छ।  

कर्णाली राजमार्गको दैखोलादेखि पूर्व कालिकोट हुँदै जुम्ला सडक खण्ड सडक डिभिजन जुम्लाको कार्यक्षेत्रमा पर्छ। डिभिजन प्रमुख लीलाबहादुर भण्डारीले भने,‘आफ्नो कार्यक्षेत्रको सडक खण्डलाई सहज सुरक्षित र स्तरीय बनाउन लागि परेका छौँ। अझै केही ठाउँमा सुधारको काम बाँकी छ। त्यो पनि सकाउँछौ। कर्णाली राजमार्गलाई कम जोखिमयुक्त सडक बनाउने कसरत गरिरहेका छौँ। कर्णाली राजमार्गमा मृत्यु मार्ग होइन। थोरै भएपनि सुरक्षित मार्गका रुपमा स्थापित गर्न खोजेको सडक प्रमुख भण्डारी बताउँछन्।  

कर्णाली राजमार्ग अन्तरगर्तकै टाकुल्ला खोला र त्रिवेणी पक्की पुलको निर्माण कार्य पनि चालु आर्थिक वर्षमै अघि बढाउने तयारी भईरहेको भण्डारीको भनाइ छ। वर्षौदेखि अलपत्र परेका दुबै पुलको ठेक्का तोडेर नयाँ ठेक्का आह्वान गरी पुल निर्माणलाई निरन्तरता दिन फाईल सदर गर्न संघीय मन्त्रालयमा दौडधुप गरिरहेको भण्डारीले जनाए।  

पर्याप्त बजेट नभएकै कारण कर्णाली राजमार्गको लक्ष्य अनुसार उपलब्धी नभएको समेत भण्डारीले उल्लेख गरे। संघ प्रदेशबाटै आवश्यकतामा आधारित बजेट नआउँदा समस्या हुने गरेको छ। जुम्लाखण्डको सडक सुधारप्रति पनि स्थानीय खुसी भएका छन्। कर्णाली राजमार्गसंग जोडिएर स्थानीय सडक निर्माण हुुन थालेपछि राजमार्ग झन असुरक्षित बनेको छ। कर्णाली राजमार्ग निर्माणको लागि स्थानीय सरकार र प्रदेश सरकार अधिकार क्षेत्रभित्र नपर्ने भन्दै पन्छिन थालेपछि संघीय सरकारको भरमा अघि बढेको छ।  

साँघुरो सडक, जीर्ण पुलका कारण जुम्लादेखि सुर्खेतसम्मको २ सय ३६ किलोमिटर सडक निकै असुरक्षित मानिने गरेको छ। यो राजमार्ग हुँदै मुगुको राराताल जाने आन्तरिक तथा बाह्य पर्यटक आवतजावत गर्छन्। त्रासैत्रासमा कर्णाली सडकमा यात्रा गर्नु परेको पर्यटकहरु बताउँछन्।

प्रकाशित: २६ पुस २०७७ ०५:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App