coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मानवीय क्षतिसँगै हात्ती मर्ने क्रम बढ्यो

कोसी टप्पु वन्यजन्तु आरक्षण तथा आसपासका क्षेत्रमा रहेका जंगली हात्तीले मानवीय क्षति गर्ने क्रम बढेसँगै हात्ती मर्ने क्रम पनि बढेको छ। शुक्रबार राति सप्तरीमा आरक्ष क्षेत्रकै एउटा हात्ती मृत अवस्थामा भेटिएको छ। करिब २२ वर्षको भाले दाह्रे हात्तीलाई स्थानीयले बाली जोगाउन लगाएको बिजुलीको करेन्ट लागेर मृत्यु भएको आरक्ष प्रशासनले जनाएको छ। आरक्षका वार्डेन अशोक रामका अनुसार हात्ती गाउँमा प्रवेश गरेपछि गाउँलेले लखेटेर करेन्ट लगाएको ठाउँमा पुर्‍याएपछि मृत्यु भएको पाइएको छ।

यसअघि गत मंसिर ६ गते राति पनि बिजुलीको तारले जेलिएर सप्तरी कञ्चनरूप नगरपालिका क्षेत्रमा एउटा जंगली हातीको मृत्यु भएको थियो। कोसी टप्पु वन्यजन्तु आरक्षण तथा आसपासका क्षेत्रमा निरन्तर जंगली हात्तीको समूहले मानव बस्तीमा प्रवेश गर्ने गरेकोमा कञ्चनरूप–५ मा बिजुलीको तारमा जेलिदा बुढो दाह्रे हातीको आफै मृत्यु भएको थियो।  

पछिल्लो एक महिनायता कोसी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा बसोबास गर्ने मकुना हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएपछि हात्तीलाई निसाना बनाएर गाउँलेले भालासँगै अन्य धारिलो हतियार टाढाबाट प्रहार गर्ने क्रम बढेको छ। ‘अब हात्तीलाई जोगाउन निकै चुनौती छ, बस्तीमा प्रवेश गर्ने वित्तिकै गाउँलेले निसाना बनाउने गरेका छन,’ वार्डेन रामले भने। उनका अनुसार पछिल्लो दुई महिनायता मात्र झापा र कोसी टप्पु क्षेत्रमा तीनवटा हात्तीको मृत्यु भएको छ। ‘हात्ती जोगाउन सबै लाग्नुपर्छ, नत्र दिनप्रति संख्या घट्ने निश्चित छ,’ उनले भने।

जंगली हात्ती समूहमा विभाजित भएर हिड्ने गर्छन्। आरक्ष प्रशासनका अनुसार यतिबेला मकुना हात्ती सुनसरीतर्फको आरक्ष क्षेत्रमै रहेको छ। अरू १४ वटा हात्तीको समूह पनि सप्तरीतर्फ रहेको र शुक्रबार मृत्यु भएको हात्ती भने एक्लै बस्तीमा प्रवेश गरेको पाइएको छ। कोसी टप्पु आरक्षण र आसपासका क्षेत्रमा १७ वटाको संख्यामा हात्ती रहेकोमा दुईवटाको मृत्यु भएपछि अब यहाँ १५ वटा हात्ती रहेको बताइएको छ।  

सुनसरी, सप्तरी र उदयपुर गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको यो आरक्षमा हात्तीलाई गाउँ प्रवेश गर्नबाट रोक्नका लागि सुनसरीको बस्तीतर्फ विद्युतीय घेराबेरा गरिएपनि सप्तरी र उदयपुर क्षेत्रमा भने बाँकी छ। कोसी पूर्वको सुनसरीतर्फ २५ किलोमिटर विद्युतीय घेराबेरा भइसकेको छ। नेपालमा कुल २ सयदेखि २ सय २५ वटा जंगली हात्ती रहेको तथ्यांक छ। आरक्षण आसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८ सय ६५ घरपरिवारको बसोबास छ।

प्रकाशित: २६ पुस २०७७ ०१:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App