coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

घुर तापेरै जाडो छल्नुपर्ने बाध्यता

सिहराको सितापुर गाउँको विपन्न वस्तीमा घुर ताप्दै विपन्नहरू।

पोहोर (गत वर्ष) आगो ताप्न बालेको घुरमा जलेर पर्साको छिपहरमाई गाउँपालिका–५ की सायरा खातुनको मृत्यु भयो। गरिबीका कारण पर्याप्त न्यानो लुगा नहुँदा घुर बालेर ज्यान जोगाउने विपन्नहरूका लागि त्यही घुर ज्यामारा साबित भइरहेको छ। मधेसको विपन्न बस्तीमा वर्षेनी आगो ताप्न बालेको घुरमा जलेर मानिसले ज्यान गुमाउनु पर्ने बाध्यता छ।  

जाडोबाट जोगिन घरमा बालेको घुरबाट आगो सल्केर घरमा फैलिँदा गत्त बुधबार मिर्चैया नगरपालिका–७ का ८ वर्षीय बालकको मृत्यु भयो। मोहम्मद रफिक राइनको घरमा बालेको घुरबाट सल्केको आगोमा जलेर ८ वर्षीय उनका छोरा जाबिर राईनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी शालिग्राम शर्माले बताए। घुरबाट फुसको छानो भएको घरमा आगो सल्किँदा ओछ्यानमा सुतिरहेका उनी घरभित्रै जलेका थिए।

रफिकका चार छोराछोरीमध्ये मृतक जाबिर जेठो हुन्। खरको छानो भएको उनको फुसको छाप्रो पूर्णरूपमा जलेको छ। घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा सबै जलेर नष्ट भए। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंसिर २८ गत्ते कर्जन्हा नगरपालिका–३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो जाडोबाट जोगिन बालेको घुरबाट जलेर गम्भीर घाइते भएका थिए। उनको काठमाडौं किर्तिपुरस्थिति मोडल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

जाडोबाट जोगिन बालेको घुरबाट जलेर भगवानपुर गाउँपालिका –१ का उदयकुमार यादव, कविताकुमारी यादव, सिर्जनाकुमारी यादव, अनुष्का यादव र सुखीपुर नगरपालिका –५ का पिंकी मण्डल घाइते भएका थिए। घाइतेहरूको अहिले पनि उपचार भइरहेको छ।  

जाडोको सहारा घुर  

सिरहाको लक्ष्मीपुरपतारी–६ सितापुरकी जहरीदेवी पासवान (६५) साँझ बिहान परालको घुरमा ज्यान तताउँछिन। एकसरो लुगाका भरमा शीतलहर कटाउनुपर्ने उनको बाध्यता छ। उनले जोडोसँग जिन्दगी जोड्दै भनिन् ‘हाम्रो जाडोको सहारा नै घुर हो।’ हावासँगै चलेको शीतलहरका कारण मुसहरलगायत विपन्न परिवार जहरीदेवी जस्तै पीडामा छन्। ‘बाँसको टाटीले बारेको घरमा चिसो हावा पसेर निदाउन सकिँदैन,’ जहरीदेवीले कष्ट पोखिन, ‘दैनिक मजदुरी गरेर खानुपर्ने हामीलाई शीतलहर काल हो।’ पराल ओछ्याई रात काट्ने गरेको उनले बताइन्।

हुस्सुसँगै बिहान सिरसिर हावा चल्छ । त्यस्तो वेला विपन्न गरिब बस्तीका जहरीजस्ता बुढापाका र साना बालबालिकालाई चिसोबाट जोगाउन हम्महम्मे पर्छ। मधेसको विपन्न बस्तीमा जाडो बढ्दै गएपछि दैनिकी कष्टकर हुन थाल्छ । विपन्न बस्तीमा ओढ्ने र ओछ्याउने न्यानो लुगा हुँदैन। चिसोबाट बच्न ओछ्याउने डस्नाको रूपमा घरभित्र पराल ओछ्याइन्छ। त्यसमाथि पुरानो फाटेका झुत्रे लुगाहरूलाई सिलाएर घरमै बनाइएको भोंटिया (डसना) ओढ्ने चलन छ ।  

मधेसमा जाडोबाट बच्ने प्रमुख उपाय घुर ताप्नु (आगो ताप्नु) नै हो। विपन्न बस्तीमा ओड्ने, ओछ्याउनेसहित लगाउने लुगासमेत न्यानो र गतिलो हुँदैन। घाम लागे त ठिकै हुन्छ, तर जब हप्तौँ र कहिलेकाहीँ महिनौँसम्म लाग्ने हुस्सुले गाउँ घेरिरहन्छ, त्यस्तो अवस्थामा घुर ताप्नु (आगो ताप्नु) को विकल्प हुँदैन।  

घुर ताप्न दाउरा पर्याप्त हुँदैन। त्यस्तो अवस्थामा गुहाली (गोठ) भित्र र भान्साकोठामा सानो खाल्टो खनिन्छ। सुकेको पातपतिंगर, गुइँठा, र केही दाउरा खाल्टोभित्र हालिन्छ। त्यसपछि आगो बालिन्छ। ओसिलो पातपतिंगरले आगो बल्दैन, धुवाँ मात्रै पुतपुताइरहन्छ। त्यही धुवाँको न्यानोमा बुढापाका, महिला र केटाकेटी जम्मा हुन्छन्। कतिपय ठाउँमा बुढापाकाहरू रातभरि त्यहीँ बस्छन्। हल्का न्यानोमा बस्दा बुढापाका त्यहीँ निदाउँछन् र कहिलेकाहीँ साडी/धोतीमा आगो सल्किन्छ।  

मधेसमा घुर ताप्दा कपडामा आगो सल्केर जलेर मृत्यु भएको खबर नौलो होइन। घुर ताप्दाताप्दै चिसोको कारण बिरामी हुने र कठ्यांग्रिएर मर्ने घटना पनि अनौठा होइनन्, मधेसमा। घुरको आगोले मान्छे मात्रै होइन, पशु चौपाया समेत जल्ने गर्छन्।

प्रकाशित: २६ पुस २०७७ ०१:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App