२३ फाल्गुन २०७७ आइतबार
समाज

जुम्लामा सडक मानव व्यवस्थापन गरिँदै

जुम्लाका एक नगरपालिकासहित ७ वटा गाउँपालिकामा ४६ जना सडक मानव रहेको तथ्यांक सार्वजनिक भएको छ । उनीहरु सडकमै बस्ने, सडकमै खाने र सडकमै सुत्ने गरेका हुन् ।  सामाजिक विकास कार्यालय जुम्लाले स्थानीय तहसंग समन्वय गरेर संकलन गरेको तथ्यांकमा सबैभन्दा बढि कनकासुन्दरी गाउँपालिकामा सडक मानव भेटिएका हुन् । त्यहाँ १६ जना सडक मानव छन्  । यसअघि ४ जना सडक आश्रित मानवलाई कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर पठाइसकिएको छ ।    

सामाजिक विकास कार्यालयका प्रमुख बलवीर सुनारले  जुम्लाका सडक मानवको तथ्यांक सार्वजनिक गर्दै व्यवस्थापनमा निकै चुनौति देखिएको बताए । उनले भने,‘कर्णाली सडक मानवमुक्त प्रदेश हो । तर यहाँ मात्रै ४६ जना सडक मानव भेटिएका छन् । व्यवस्थापनमा निकै चुनौति थपिएको छ ।’

तथ्यांक अनुसार जुम्लाको हिमा र तिला गाउँपालिकामा सडक मानव छैनन् । तातोपानीमा २ जना, सिँजामा ३ जना, कनकासुन्दरीमा १६ जना, पातारासीमा १० जना, गुठीचौरमा २ जना र चन्दननाथ नगरपालिकामा १३ जना गरी ४६ जना सडक मानव छन् ।

जुम्लामा सडक मानवको संख्या क्रमिक रूपमा बढ्दै जाँदा व्यवस्थापनमा चुनौती देखिएको छ । सडक मानवको दीर्घकालीन व्यवस्थापनमा आर्थिक, भौतिक तथा आवश्यक जनशक्ति व्यवस्थापन लगायत चुनौती थपिएको सामाजिक विकास कार्यालय जुम्लाले जनाएको छ ।  

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले सडक मानवको दीर्घकालीन उद्धार तथा पुनस्र्थापनाका लागि व्यवस्थापनमा चुनौति बढेको बताए । जिल्ला प्रशासन कार्यालय जुम्लाको पहलमा सडक मानवको खोजी सुरू भएको थियो । सडक मानवका विषयमा न स्थानीय सरकारले पहलकदमी बढाएका थिए । नत सडक मानवको व्यवस्थामा ध्यान केन्द्रीत नै । प्रमुख जिल्ला अधिकारी थापाले भने,‘अब सबै मिलेर सडक मानवको व्यवस्थापन गर्ने बेला आइपुगेको छ । कसैले आफ्नो, बिरानो नभनेर तन,मन र धन लगाएर भएपनि सडकका मानवको व्इवस्थापन गर्नु पर्नेछ ।’

दीर्घकालीन व्यवस्थापनका लागि भवन, रेखदेख गर्ने जनशक्ति, खाने–बस्ने समस्या छ । उनले थपे,‘सडक मानवको सम्पुर्ण व्यवस्थापनका लागि  स्थानीय तह तथा गैरसरकारी संस्थासँग आवश्यक समन्वय बिना सम्भव छैन । यो समय  सबैले मानवीय दायित्व पूरा गर्नुपर्ने समय पनि हो ।’

जुम्लामा दीर्घकालिन पुर्नस्थापनाको लागि जोड दिनु पर्ने नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत बताउँछन् ।  जुम्लाका मात्र नभई माथिल्लो कर्णालीका सडक मानवको उद्धार हुने गरि जुम्लामा संरचना निर्माण गर्नुपर्ने जरुरी छ । उनले भने, ‘यसका लागि यहाँका हरेक स्थानीयतह, प्रदेश तथा संघीय सरकार माताहतका कार्यालयले एकआपसमा समन्वय गर्नुपर्छ ।’ सडक मानव व्यवस्थापनका लागि जुम्लामै मानव सेवा आश्रम सञ्चालन गर्नेबारे आगामी साता ८ वटै स्थानीय तहका प्रमुखसँग छलफल गर्ने निर्णय समेत  भएको जिल्ला प्रशासन कार्यालय जुम्लालले जनाएको छ ।  

जुम्लाका प्रमुख जिल्ला अधिकारी थापा नेतृत्वको विपद व्यवस्थापन समितिको टोलीले यहाँका सडक मानव वस्ने ठाउँको पहिचान गरेर न्यानोकपडा र खाद्यन्न समेत उपलब्ध गराइसकेकोछ  ।  

प्रकाशित: २५ पुस २०७७ १५:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App