८ वैशाख २०८१ शनिबार
समाज

वन्यजन्तुबाट पीडित भएकालाई १० लाख ४७ हजार रुपैयाँ राहत वितरण

वन्यजन्तुबाट पीडित भएकालाई राहत वितरण गरिँदै । तस्बिरः हिमनाथ/नागरिक

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुबाट पीडित भएकालाई १० लाख ४७ हजार रुपैयाँ भन्दा बढी राहत वितरण गरिएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि हालसम्म कार्यालयले १ सय ४२ जनालाई राहत रकम उपलब्ध गराएको हो ।  

कार्यालयमा यो अवधिमा १ सय ४४ वटा निवेदन दर्ता भएको थियो । जसमा १ सय ४२ जनालाई क्षतिको प्रकृतिअनुसार १० लाख ४७ हजार १ सय ५५ रुपैयाँ प्रदान गरिएको कार्यालयले जनाएको छ ।  

निकुञ्जका अनुसार रसुवाको ठूलो स्याफ्रु, बृद्घिम, खाम्जिङ, कालिकास्थान, यार्सा, लगायतको क्षेत्रमा बढी क्षति गरेको छ । यस क्षेत्रमा सबैभन्दा बढी बदेँल, दुम्सी, बाँदर, चितुवा, भालुले क्षति पुर्‍याउने गरेको छ ।  

निकुञ्जको तथ्यांक अनुसार वन्यजन्तुले १ सय ४० घरधूरीको बालीनाली क्षति, एउटा पशुधन क्षति र ३ जनालाई गम्भीर घाइते बनाएको छ । निकुञ्जभित्र पछिल्लो समय वन्यजन्तुले क्षति पुर्‍याउने क्रम बढ्दै गएको छ । पछिल्लो समय वन्यजन्तुले मान्छेलाई आक्रमण गर्ने, घरपालुवा पशुलाई मार्ने तथा अन्नबाली खाएर हैरान बनाउन थालेपछि स्थानीय चिन्तित बनेका छन् ।  

वन्यजन्तुले क्षति गर्न थालेपछि पीडितले खेती गर्ने तथा पशुपालन गर्ने कार्य कम हुन थालेको छ ।  धेरैजसो जंगली बदेलले बाली क्षति गरेको निवेदन आउने गरेको छ । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ (दोस्रो संशोधन २०७४) अनुसार राहत वितरण गरिएको प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताइन् ।  

‘वन्यजन्तुले क्षति गरे अनुसार क्षतिपूर्ति दिन सकिदैन, उनले भनिन्, सहयोग स्वरूप राहत दिएका हौं ।’ मानव वन्यजन्तु बीच हुने द्वन्द्वका कारण संरक्षणमा चुनौति सिर्जना हुने उनको भनाइ छ ।

निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुले क्षति गर्ने क्रम बढ्दै गएपछि यसको दीर्घकालीन विकल्पसमेत खोज्न थालिएको छ । निकुञ्जले वन्यजन्तुबाट हुने क्षति कम गर्नका लागि यो वर्ष तारजाली लगाउने, ढुङ्गे पर्खाल लगाउने र चिराइतो खेती प्रवद्धन गर्ने कार्यक्रम अघि सारेको छ ।

जिल्लामा सबैभन्दा बढी बाँदरले क्षति गर्ने गरेपनि यसको समाधान हुन सकेको छैन । बाँदरले क्षति गरेमा राहत दिने व्यवस्था पनि नभएकोले यसको समाधानको लागि विकल्प खोज्ने कार्य भइरहेको निकुञ्जकी प्रमुख संरक्षण अधिकृत रानाले बताइन् ।  

निकुञ्जमा मानव वन्यजन्तु बीच द्वन्द्व हुने गरेको छ । पीडितलाई थोरै भएपनि राहत दिँदा संरक्षणमा उनीहरूले भूमिका निर्वाह गर्छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको राहत अक्षय कोषको ब्याँजबाट राहत वितरण गरिएको निकुञ्जले जानकारी दिएको छ । २०६९ सालदेखि वन्यजन्तुबाट पीडित भएका परिवारलाई राहत वितरण गर्न थालिएको हो ।  

हात्ती, गैडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, जंगली बदेल, ध्वासे चितुवा, जंगली कुकुर, अर्ना, मगर गोही, गौरी गाई र अजिंगरले क्षति गरेमा राहत पाउने निर्देशिकामा व्यवस्था छ । तर रसुवामा बाँदरले बढी क्षति पुर्‍याउने गरेको छ । बाँदरले क्षति पुर्‍याए वापत पीडितले राहत पाउँदैनन् ।

प्रकाशित: २५ पुस २०७७ ०५:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App