६ वैशाख २०८१ बिहीबार
समाज

जनप्रतिनिधिकै मिलेमतोमा नदीजन्य पदार्थ निकासी ठेक्का

फाइल तस्बिर

रौतहटको गढीमाई नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले मिलेमतोमा नदीजन्य पदार्थको करोडौंको ठेक्का हचुवाको भरमा दिएको देखिएको छ। गढीमाई नगरपालिकाअन्तर्गतको वाग्मती नदीको गिटी, बालुवा तथा अन्य पदार्थको निकासीको ठेक्का हचुवाको भरमा दिएको पाइएको हाे ।

बागमती नदीबाट प्राप्त हुने गिटी, बालुवा तथा ग्राभेलको ठेक्का मिलेमतोमा गरेको पाइएपछि स्थानीय आक्रोशित बनेका छन्। नगरपालिकाले स्थानीय प्रिन्स कन्स्ट्रक्सनलाई मासिक ३२ लाख रुपैयाँ राजस्व जम्मा गर्ने सर्तमा ठेक्का दिइएको स्रोतले जनाएको छ।

नदीजन्य पदार्थको ठेक्का नियमसंगत किसिमले हुनुपर्नेमा मनोमानी तरिकाले लगाइएको आरोप स्थानीयको छ। नदीजन्य पदार्थको निकासीको ठेक्का प्रिन्स कन्स्ट्रक्सनको नाममा रहे पनि नगरपालिकाका केही कर्मचारी र जनप्रतिनिधि समेतले लगानी गरेर मनोमानी तरिकाले ठेक्का लगाएको देखिएको छ ।

गत कात्तिक महिनामै नयाँ कार्यविधि बनाएर वाग्मती नदीको नदीजन्य पदार्थ निकासीको ठेक्का लगाउनुपर्नेमा जानीजानी जनप्रतिनिधि तथा कर्मचारीले ढिलो गरेर अमानतमा उठाउन लगाएका छन । नगरपालिका प्रशासन शाखा प्रमुख नासु बालकिशोर यादवको नाममा अमानत पुर्जी काट्दै रकम असुल हुँदै आएको थियो।

स्थानीयले आलोचना गर्दै आएपछि र अन्य केही निर्माण सेवाले पनि विरोध गर्न थालेपछि एक हप्ता पहिले मात्र नदीजन्य वस्तु निकासीको कार्यविधि बनाएको स्रोतको दाबी छ। नगरपालिकाले मनोमानी तरिकाले मासिक ३२ लाख रुपैयाँ बुझाउने गरी प्रिन्स कन्स्ट्रक्सनलाई ठेक्का दिएको हो। कन्स्ट्रक्सनले रकम जम्मा गर्नुअगावै नगरपालिकाले ठेकेदारमार्फत रकम उठाउन सुरु गरिसकेको छ।

नगरपालिकाले रकम उठाउन सुरु गरिसकेपछि जनप्रतिनिधि र कर्मचारीको मिलेमतो रहेको स्पष्ट भएको स्थानीयको आरोप छ। ठेकेदारले नगरपालिकाको खातामा २५ लाख रुपैयाँ जम्मा गरिसकेको प्रशासन शाखा प्रमुख नासु यादवले जानकारी दिए। नगरपालिकाले नदीजन्य पदार्थको निकासीका लागि गरिने ठेक्का प्रणाली नै पारदर्शी हुनुपर्ने कानुनी प्रावधान रहेको छ।  

कानुनलाई मिच्दै जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा नगरपालिकाले आफ्नो नजिकको निर्माण कम्पनीलाई ठेक्का दिएको आरोप लागेको छ। अन्य निर्माण कम्पनीलाई थाहै नदिई नदीजन्य पदार्थको ठेक्का लगाएको आरोप निर्माण व्यावसायीको रहेको छ।

प्रकाशित: २५ पुस २०७७ ०२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App