२२ फाल्गुन २०७७ शनिबार
समाज

बर्जु तालमा नयाँ प्रजातिको चरा फेला

बर्सेनि चराको संख्या बढ्दो

फाईल तस्बिर

पूर्वी नेपालमा चराको नयाँ वासस्थानको रुपमा सुनसरीको दक्षिणी क्षेत्र बर्जुताल चिनिएसँगै नयाँ दुर्लभ प्रजातिको हाँस भेटिएको छ। यस वर्षको हिउँदे चरा गणनाका क्रममा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चरा बिजुलागैरी फेला परेको हो। यो चरा बर्जु तालमा दोस्रोपटक फेला परेको हो। यसअघि बर्जुमा २०१२ मार्चमा चराविद् सुचित बस्नेत र अनिस तिम्सिनाले फेला पारेका थिए।  

पूर्वी साइबेरिया र पूर्वी एसियाका देशमा पाइने यो हाँस प्रजातिको चरा नेपालमा दुर्लभ चराको सूचीमा पर्छ । नेपालमा पहिलोपल्ट पश्चिम कालीगण्डकी क्षेत्रमा सन् १९८४ मा भेटिएको थियो। त्यसपछि सन् १९८७ र सन् १९८९ मा कोसी टप्पु क्षेत्रमा रेकर्ड भएको थियो भने सन् २००५ मा काठमाडौं क्षेत्रमा रेकर्ड भएको थियो । चराविद् डाक्टर हेमसागर बरालका अनुसार बिजुलागैरी सुन्दर चरा हो।  

चराको स्वर्गभूमि नामले चिनिँदै आएको कोसीटप्पु वन्यजन्तु आरक्षमा पछिल्ला वर्ष आगन्तुक पाहुना चरा घट्दो क्रममा छन्। तर, बर्जुतालमा भने वर्षेनि बढ्दो क्रममा रहेको नयाँ बासस्थानको रुपमा चिनिएको छ । बर्जु तालमा अघिल्लो वर्षको हिउँदे गणनाका क्रममा नौ हजार पाँच सय हाराहारी चरा रेकर्ड गरिएका थिए । कोसीटप्पुमा भने ६ हजार हाराहारीमा मात्र रेकर्ड गरिएका थिए।  

त्यस्तै, बर्जु तालमा सन् २०१९ मा ४ हजार ५ सय हाराहारी, सन् २०१८ मा ५ हजार हाराहारी र सन् २०१७ मा २ हजार ५ सय हाराहारीमा रेकर्ड गरिएको थियो। यस आधारमा हेर्दा वर्षेनि बर्जु तालमा चराको संख्या बढ्नाले राम्रोसँग व्यवस्थापन गर्न सकेको खण्डमा बर्जु ताल अन्तर्राष्ट्रिय स्तरको रामसार क्षेत्रमा परिणत हुने सम्भावना रहेको चराविद् डाक्टर बरालले बताए।  

अर्का चराविज्ञ सञ्जीव आचार्यका अनुसार यस वर्षको हिउँदे गणनामा बर्जु र कोसीटप्पु दुवै स्थानमा अघिल्लो वर्षको तुलनामा चराको संख्या बढ्ने निश्चित छ। चरा गणना सकिए पनि अन्तिम नतिजा सार्वजनिक गर्न भने केही दिन समय लाग्नेछ।  

महाभारत कालदेखि नै अवस्थित रहेको मानिएको बर्जुताल २०२६ सालताका तालभन्दा पश्चिमतर्फबाट खेतमा पानी लगाउन नहर खनिएपछि तालको पश्चिमतर्फको बाँध फुटेर पूर्णरुपमा सुक्खा भएको थियो । २०५२ सालदेखि तालको संरक्षणमा स्थानीय जुटेपछि अहिले व्यवस्थित हुँदै गएको छ। २०२६ सालअघिसम्म बर्जुतालमा हजारौं–हजारको संख्यामा चरा आउँथे। तर, बीचमा तालको बाँध भत्किएर सुक्खा भएकाले गर्दा आएनन्, बाँध बाँधेर व्यवस्थित गर्न थालेसँगै चराको संख्या पछिल्ला वर्षमा वर्षेनि बढ्न थालेको हो। एक सय ५२ बिघा क्षेत्रफलमा बर्जुताल फैलिएको छ।  

‘कोसी टप्पु वन्यजन्तु आरक्षमा भने २०६५ भदौ २ गते पश्चिम कुसाहा–४ मा सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको र कोसी टप्पुको सुनसरीमा पर्ने ठुलो भाग मरुभूमि बनाएपछि चराको संख्यामा कमी आउन थालेको थियो। पूर्वी तटबन्ध भत्किएपछि पुनर्निर्माणको काम गर्दा मानवीय चापसँगै बढी क्षमताको मेसिन चलाउँदा वातावरण अशान्त भएकाले सोही समयदेखि पाहुना चरा नगन्य आउने गरेको र रैथाने चरा अन्यत्र गएको अनुमान गरिन्छ । नेपालमा कुल ८ सय ८८ प्रजातिका चरा पाइन्छन्।

प्रकाशित: २५ पुस २०७७ ०८:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App