२२ फाल्गुन २०७७ शनिबार
समाज

मानवीय क्षती हुन नदिन मकुना हात्तीलाईं निरन्तर निगरानी

कोशी टप्पु आरक्ष र आसपासका क्षेत्रमा आतंक मच्चाउँदै आएको मकुना हात्तीबाट मानवीय क्षती हुन नदिनका लागि निरन्तर निगरानी गर्ने गरिएको छ।  

मकुना हात्तीले मानवीय क्षती गर्ने क्रम नरोकिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनबाट आएको डाक्टर अमीर सडौला, तीर्थ लामा र अशोक रामको टोलीले दश दिन अघिदेखि उपायको खोजी थालेको थियो। जसमा अहिले हात्तीलाई निरन्तर निगरानी गर्ने गरिएको छ। हात्ती नियन्त्रणकै लागि आरक्षमा हात्तीको विषयमा विद्यावारिधी गरि रहेका अशोक रामलाई वार्डेनको जिम्मेवारी दिएर मन्त्रालयले पठाएको छ।

वार्डेन रामका अनुसार हात्तीलाई औषधी दिएर शिथिल बनाउनेसँगै निरन्तर गस्ती टोलीले निगरानी गरिहेको छ। ‘डार्ट गरेर हात्तीको इनर्जी कम गर्ने औषधी दिइरहेका छौ,’ उनले भने, ‘बढी औषधी दिँदा पनि हात्तीलाई समस्या हुन सक्छ।’  

पछिल्लो समयअघि मकुना हात्तीको आक्रमणबाट मंसिर २९ गते र पुस १३ गते राति दुई जनाको मृत्यु भएको छ। कोशी टप्पु आरक्ष र आसपासका क्षेत्रमा १६ वटाको संख्यामा हाती रहेकोमा सवैभन्दा बढी मानवीय क्षती मकुनाकै कारण हुने गरेको छ। हाती मकै, धान, उखु र आप लगायतमा लोभिएर  गाउँ प्रवेश गर्दा मानवीय क्षती हुने गरेको छ। कोशी टप्पु क्षेत्रमा रैथाने रुपमा शुरुवातमा ११ वटा हाती थिए। पछि तिनै हातीले छावा बच्चा जन्माएर १४ वटा पुगेका थिए। अघिल्लो वर्ष तीनवटा छावा जन्माएपछि १७ वटा पुगेका थिए। मंसिर ६ गते बिजुलीको तारले जेलिएर सप्तरी कञ्चनरुप नगरपालिका क्षेत्रमा बुढो दाह्रे हातीको मृत्यु भएपछि १६ मा झरेका हुन्।  

सुनसरी, सप्तरी र उदयपुर गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको आरक्षमा हातीलाईं गाउँ प्रवेश गर्नबाट रोक्नका निम्ति सुनसरीको वस्तीतर्फ विद्युतीय घेराबेरा गरिएपनि सप्तरी र उदयपुर क्षेत्रमा भने बाँकी छ। कोशी पूर्वको सुनसरीतर्फ २५ किलोमिटर विद्युतीय घेराबेरा भइसकेको छ। यद्यपी कतिपय स्थानमा हातीले विद्युतीय घेराबेरा भत्काउने गरेको छ। रुखको हाँगा ढालेर लत्राएर घेराबेरा भत्काउने गरेको छ। जसले गर्दा सहजै वस्तीमा प्रवेश गर्छन्।  

नेपालमा कुल २०० देखि २२५ वटा जंगली हात्ती छन्। कोशी टप्पुमा १६ वटा हाती रहेकोमा भारतबाट झापाको बाहुन डागीमा १३० देखि १५० वटासम्म आउने गरेका छन्।  आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८६५ घर परिवारका ८४ हजार ४२३ जना बसोबास गर्छन्।  

०४६ सालको परिवर्तनपछि बनेका हरेक सरकार र निर्वाचनताका प्रमुख मुद्धा बन्दै आएको हात्ती पीडितको पीडामा मल्हम लगाउन कसैले सार्थक प्रयास गरेको छैन्।

 

प्रकाशित: २३ पुस २०७७ १९:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App