जुम्लामा सडक आश्रित मानवको उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वय र चन्दननाथ नगरपालिकाको सहयोगमा ४ जना सडक आश्रित मानवको उद्धार गरिएको हो । जसमा चन्दननाथ नगरपालिका ३ गच्चु साँघु ओढारमा बस्दै आएकी दैलेख स्थानीय घर बताउने एक महिलाको सहित ४ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
चन्दननाथ नगरपालिकाकी कमला कुमाई,चन्दननाथ नगरपालिका ९ निवासी पुनि तिरुवा, तातोपानी गाउँपालिका–५ निवासी एक महिला र सिंजा गाउँपालिका निवासी घर बताउने प्रेमकली नेपालीलाई उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनका अनुसार सडक मानवलाई आश्रयका लागि सुर्खेत पठाइएको हो । प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘सडक मानवका लागि तथ्यांक संकलन गरि सामाजिक विकास मन्त्रालयको सहयोगमा उद्धार गर्ने निर्णय भएको थियो । सोही अनुसार पहिलो चरणमा ४ जनाको उद्धार गरिएको हो ।’
उद्दार गरी पठाएका चारै जना महिलाहरु मध्ये एक जना स्पष्ट बोल्न नसक्ने र शारिरिक अपांगता भएपनि अन्य तीन जना भने मानसिक समस्या भएका छन् । शारीरिक तथा मानसिक रुपमा अपांगता भएका बेवारिसे सडक मानवलाई सुर्खेत स्थित मानव सेवा आश्रममा पठाइएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।
ओढारमा बसेकी महिलाले गाउँमा नजाने, वनमै बस्ने वनपाले हुने बताउँदै आएकी थिइन । चिसोले बृद्ध महिलाको उद्दारको विकल्प थिएन् । तर प्रशासनले बृद्ध महिलालाई मात्र नभई अन्य तीनै जनालाई पनि पठाउने गरी समन्वय गर्दा चार जनाको उद्दार भएको डिएसपी माधव प्रसाद काफ्लले बताए ।
चार जनालाई लिएर चन्दननाथ नगरपालिकाका विपद व्यवस्थापन संयोजक लक्ष्मीचन्द्र न्यौपाने सुर्खेत गएका छन् । मानसिक रुपमा समस्या भएका, कहिले गाडी नचेढको हुनाले चुनौतीका बाबजुद पनि सुर्खेत पठाइएको हो ।
राज्यको दायित्व र जिम्मेवारी अनुसार सडक मानवको उद्दारमा प्रहरी प्रशासन, नगरपालिका खटिएको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईले जानकारी दिए । उनका अनुसार चार जना सडक मानवलाई सुर्खेत सम्म लिने सबै खर्च नगरपालिकाले व्यहोरोको छ ।
उनीहरुको सुर्खेतमा बसोबासका लागि प्रशासन कार्यालय जुम्लाले समन्वय गरेको छ । अन्य सडक मानव भन्दा ९ महिनादेखि ओढारमा बस्दै आएकी बृद्ध महिलालाई उद्दार गरेर प्रहरी प्रशासन, नगरपालिकाले निकै प्रशंसनिय काम गरेको स्थानीय जानकी रावल बताउँछिन् । उनले भनिन्,‘घरमा बस्न नमान्ने, सधँै वनमा डुल्ने, कठ्यांग्रिदो चिसोमा ओढारमै बस्ने, चिसो बढेकाले केहि हुने हो की भनेर चिन्तित थियौँ । तर ९ महिनापछि उद्दार हुँदा ढुक्क भयौ । अव जुम्लामा सडक आश्रित चारै जना सुरक्षित भए । ’
आफुहरुलाई सुरक्षित स्थान तिर पठाएपछि सडक आश्रित मानव निकै खुसि भएका छन् । कर्णाली प्रदेश सडक मानवमुक्त घोषणा भईसकेकोले गर्दा सडकमा बेवारिसे देखिने सबैलाई उद्दार र राहतमा प्रहरी प्रशासन नियमित जुटिरहेका छन् ।जुम्लालाई सडक मानव मुक्त बनाउने कार्यलाई तीव्र पारिएको हो ।
प्रकाशित: २२ पुस २०७७ १३:३५ बुधबार