coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोशी राजमार्ग विस्तार गरे प्रतिकारमा उत्रने स्थानीयको चेतावनी

विराटनगर–धरान ६ लेन सडक (कोशी राजमार्ग)अन्तर्गत सुनसरीको दुहवीमा सडक विस्तार गर्न नदिने स्थानीयले  अडान लिएका छन् । सरकारले दुहवी बजार एरियालाई विल्डअप क्षेत्र घोषणा गरेकाले सो क्षेत्रभित्रको सडक बिस्तार गर्न नदिने स्थानीयले अडान छ ।  

बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी स्थानीयले  सरकारले जवर्जस्ती घर टहरा भत्काए प्रतिकारमा उत्रने चेतावनीसमेत दिएका छन् । दुहबी वासीको अबरोधका कारण दुहबी बजार क्षेत्रमा सडक बिस्तारको काम सुरू हुन सकेको छैन । विराटनगरको रानी देखि सुनसरीको तरहरासम्म सडक बिस्तारको काम धमाधम भइरहे पनि सुनसरीको दुहवी बजार क्षेत्रमा  स्थानियले निरन्तर अवरोध गरिरहेका छन् । विराटनगर–धरान ६ लेन  सडक  योजनाले  पुस १८ गते १५ दिनको म्याद दिँदै घरटहरा हटाउने सूचना जारी गरेपछि दुहबीका बजारबासी आक्रोशित भएका हुन् ।  उनीहरूले सडक बिस्तार रोक्न दुहबी बिल्टअप एरिया संघर्ष समिति गठन गरेका छन् । सरकारसँग जमिन किनेर बसोबास गरेका कारण सरकारले २०५४ सालमा राजमार्गको ६ सय ३० मिटर दाँया, बाँया पर्ने क्षेत्रलाई बिल्डअप क्षेत्र घोषणा गरेको संघर्ष समितिका उपाध्यक्ष विपी रौनियारले बताए । उनले विल्डअप क्षेत्र घोषणा गरिसकेकाले त्यस क्षेत्र भित्रका घर टहरा भतकाउन नमिल्ने दाबीसमेत गरे ।

हाल दुहबी बजार क्षेत्रमा ५० फिट चौडा सडक मात्रै छ । यो सडकलाई बिस्तार गरि १ सय ३८ फिट पु¥याउने सरकारको  तयारी  छ ।  सरकारले जवर्जस्ती घर टहरा भत्काउन खोजे आफूहरू प्रतिकारमा उत्रन बाध्य हुने रौनियारले स्पष्ट पारे । सडक विस्तार भए दुहवी बजार क्षेत्रका २ सय ५४ घरधुरी वेघरबार हुने उनले बताए । उनले भने‘सडक बिस्तार भए २ सय ५४ परिवार वेघरबार हुन्छन् ।’  यता छ लेन सडक योजना इटहरीले भने स्थानियले अवरोध गरिरहे सडक बिस्तार नहुने स्पष्ट पारेको छ । ‘अवरोध काम रहिरहे दुहबी क्षेत्रमा सडक बन्दैन ’, योजनाका प्रमुख बद्री शर्माले  भने । दुहबी बजार उत्तर र दक्षिण क्षेत्रमा सडक बिस्तार भइसके पनि स्थानीयको अवरोधले दुहवी बजार क्षेत्रको २ किलोमिटर भागमा  काम अघि बढ्न नसकेको शर्माले जानकारी दिए । विराटनगरको रानी देखि किमाथाङ्का सम्मको यो राजमार्गले  भारत र चीनलाईसमेत जोड्ने भएकाले कोशी राजमार्गलाई अन्तर्राष्ट्रिय व्यापारको हिसावले महत्वपूर्ण मानिदै आएको छ । निर्माणाधिन कोशी राजमार्गको उत्तरतर्फ  १४ किलोमिटर मात्रै ट्याक खोल्न बाँकी  छ ।  

 

प्रकाशित: २२ पुस २०७७ ११:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App