८ वैशाख २०८१ शनिबार
समाज

‘राजनीतिक अनिश्चितताका कारण राष्ट्र डग्मगाउनु भएन’

प्रायः मनोरञ्जनात्मक कार्यक्रममा देखिने अभिनेत्री मनीषा कोइराला मंगलबार हिन्दु राष्ट्र र राजसंस्थानिकट मानिने राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाउन आह्वान गरिरहेकी थिइन् । राजधानीमा आयोजित कार्यक्रममा सहभागी उनले आगामी पुस २७ मा पृथ्वीनारायण शाहको जन्म जयन्तीसहित राष्ट्रिय एकता दिवस भव्य रूपमा मनाउनसपर्नेमा जोड दिइरहेकी थिइन् ।

‘राष्ट्रिय एकताको मूल्यलाई सम्झिएर हामीले यो दिवस मनाउनुपर्छ । हामी नेपाली एकीकृत भएर बोल्नु जरुरी छ । हामी नेपाली स्वाभिमानसहित बाँच्न चाहने भएकाले अहिलेको परिस्थितिमा एकजुट भएर अगाडि आउनुपर्छ,’ उनले भनिन्, ‘राजनीतिक अनिश्चितता एउटा कुरा होला तर राष्ट्र डग्मगाउनुभएन । राजनीतिक अस्थिरताले सिर्जना गरेको माहोललाई हेरेर मूकदर्शक भएर बस्न सकिन्न ।’ सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसको मान्यता नदिए पनि अभिनेत्री कोइराला त्यसलाई राष्ट्रिय मान्यता दिलाउने अभियानमा जोडिएकी हुन् । २०६२ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको स्थानीय निकायको निर्वाचनको प्रचारप्रसारमा बुबा प्रकाश कोइरालाको समर्थन गर्दै उनी देखिएकी थिइन् । उनले बारम्बार राजनीतिमा चासो रहे पनि आइहाल्ने सम्भावना नरहेको बताउँदै आइरहेकी छन् ।

कार्यक्रममा नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले देशलाई विदेशीले नभएर देशभित्रको राजनीतिक शक्तिले सिध्याउन लागेको तर्क गरेका थिए । ‘हाम्रो नेपाल र सुशासन’ अभियान समेत चलाइरहेका पूर्वडिआइजी खरेलले कार्यक्रममा पृथ्वीनारायण शाहले देशमा विदेशी ब्वाँसा पस्न दिन नहुने बताए । अभिनेत्री कोइरालासहितका वक्ताले आगामी पुस २७ मा रत्नपार्कमा भेला भएर हुन राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाउन आह्वान गरेका थिए । उनीहरूले पुस २७ गते सार्वजनिक बिदा दिनुपर्ने, पृथ्वीनारायण शाह र उनको दिव्य उपदेशलाई स्कुल र कलेजमा अध्यापन गराउनुपर्ने, गोरखा दरवारमा पृथ्वीनारायण शाहको जीवनी र नेपाल एकीकरणका झल्को दिने गरी संग्रहालय स्थापना गर्नुपर्ने लगायत माग गरेका थिए ।

कार्यक्रममा बोल्दै अधिवक्ता बालकृष्ण न्यौपानलेले २०६२/६३ पछि देशलाई आर्थिक, सामाजिक, राजनीतिक र जातीय रूपमा कमजोर बनाइएको आरोप लगाएका थिए । अर्का वक्ता राधाकृष्ण मैनालीले पृथ्वीनारायण शाहलाई राजाका रूपमा मात्र बुझ्नु अपुरो हुने तर्क गरेका थिए । ‘उहाँलाई देश निर्माण गर्ने अध्येताका रूपमा बुझिएन,’ उनले भने, ‘गोर्खा राज्य विस्तार गरे पनि पछि त्यो राष्ट्र निर्माणको काम नै भयो ।’ कार्यक्रममा सीपी मैनाली, पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल र भरत बस्नेतलगायत वक्ताहरूले बोलेका थिए ।

प्रकाशित: २२ पुस २०७७ ०१:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App