७ वैशाख २०८१ शुक्रबार
समाज

सीमामा खम्बा गाडेपछि प्रतिकार

नेपालको पूर्वी भारतीय सीमा क्षेत्रमा सीमास्तम्भ यकिन नहुँदा फेरि विवाद बढ्ने सम्भावना देखिएको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले स्थानीयको आँखा छलेर रातको समयमा खम्बा गाढ्नेसम्मको गतिविधि गर्न थालेपछि विवाद बल्झिने देखिएको हो। दशगजा क्षेत्रमा आफूले दर्जनौं पक्की संरचना बनाएपनि नेपाली पक्षलाई नेपाली भूमिमै संरचना बनाउनसमेत रोकिरहेको भारतीय पक्षले दशगजामा एकलौटी रूपमा खम्बा गाढ्ने प्रयास गरेको छ।

सूर्योदय नगरपालिका–२, पशुपतिनगरको हिलेभञ्ज्याङमा एसएसबीले नेपाल र भारतको सीमा भन्दै शनिबार राति खम्बा गाढेको थियो। एसएसबीको गतिविधि थाहा पाएर आइतबार त्यहाँ पुगेका स्थानीयले प्रतिकार गरेपछि एसएसबी पछि हटेको छ। निकै आक्रोशित हुँदै पुगेका स्थानीयले नेपाली भूमि मिचेर खम्बा गाडेकामा विरोध जनाएका थिए। एसएसबीले हिलेको ७१/११ देखि ७२/२५ नम्बर पिलरको बीचमा गाढेको खम्बा स्थानीयकै दबाबपछि उखेलेको छ। एसएसबीले ग्लोबल पोजिसनिङ सिस्टम ९जिपिएस० ले देखाएको ठाउँ भन्दै खम्बा गाढ्ने प्रयास गरेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बलको पशुपतिनगरस्थित बोर्डर आउट पोस्ट (बिओपी) का इन्स्पेक्टर नवीन खतिवडाले सोमबार भएको अनौपचारिक छलफलमा एसएसबीले एकतर्फी रूपमा खम्बा गाढ्नु आफ्नो गल्ती भएको स्वीकारेको बताए ।

सूर्योदय नगरपालिकाका जनप्रतिनिधि, स्थानीय, सशस्त्र र जनपद प्रहरीको टोलीसँग एसएसबीले आइन्दा सहमतिबिना दशगजामा कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता गरेको हो। सोमबार बिहान सशस्त्र, जनपद प्रहरी र एसएसबी टोलीले विवादित क्षेत्रको संयुक्त गस्तीसमेत गरेको थियो। गस्तीपछि भएको अनौपचारिक छलफलमा एसएसबीले नेपाली टोलीसँग आइन्दा गल्ती नगर्ने प्रतिबद्धता गरेको इन्स्पेक्टर नवीन खतिवडाले बताए ।

सशस्त्र प्रहरी बलको पशुपतिनगरस्थित बोर्डर आउट पोस्ट (बिओपी)बाट इन्स्पेक्टर खतिवडाको नेतृत्वमा र पशुपतिनगर इलाका प्रहरी कार्यालयबाट इन्स्पेक्टर देउप्रसाद लिम्बूको नेतृत्वमा सोमबार बिहान संयुक्त टोली गस्तीमा गएको थियो। हिलेस्थित एसएसबीको ८ नम्बर बटालियनका कमान्डर दिवाङ्कर विश्वास नेतृत्वमा भारतीय सुरक्षाकर्मीको टोली गस्तीमा सहभागी भएको थियो। छलफलपछि तत्काललाई समस्या समाधान भएपनि प्रायः एसएसबी क्याम्पमा नयाँ कमान्डर आउनेबित्तिकै समस्या बल्झि नेगरेको छ।  

यहाँको दशगजा क्षेत्रमा भारतले विद्यालय, घर, गुम्बा र प्रहरी पोस्टलगायत दर्जनौं संरचना बनाइसकेको छ। तर, नेपाली पक्षलाई चाहिँ दशगजाभन्दा ३ सय मिटर भित्रसमेत संरचना निर्माण गर्न अवरोध गर्ने गरेको छ। गतवर्ष एसएसबीले सीमा क्षेत्रमा रहेको पूर्वकै उत्कृष्ट पर्यटकीयस्थल सन्दकपुर (३ हजार ६ सय ३६ मिटर उचाई)को भ्यु–पोइन्टमा बन्न लागेको भ्यु–टावर निर्माण रोकेको थियो। एकै स्थानबाट ३ देशका हिमाल दृश्यावलोकन गर्न सकिने सन्दकपुर डाँडाको मुख्य चुचुरोमा जान र तस्बिर खिच्नसमेत पर्यटकलाई निषेध गरेको थियो। विद्यार्थीले त्यहीं पुगेर आन्दोलन गरेपछि एसएसबी हटेको थियो ।

पर्यटनको उच्च सम्भावना बोकेको आहालटारमा बनाउन लागिएको सामुदायिक भवन निर्माणमा पनि एसएसबीले अवरोध गरेको थियो। सुरक्षाकर्मीको उपस्थिति नहुँदा एसएसबीले आफूखुसी गर्न पाएको स्थानीय बताउँछन्। इलामको जिर्मलेदेखि सन्दकपुरसम्म साढे ५२ किलोमिटर भूमि भारतसँग जोडिएको छ। यहाँको दशगजा र आसपासमा भारतले एसएसबीका २६ बिओपी र एउटा प्रहरी चेकपोस्ट राखेको छ। नेपालपट्टि पशुपतिनगर, कालपोखरी, छब्बिसे, समालबुङ, सलकपुर, जौबारी र मानेभञ्ज्याङमा बिओपी राखिएका छन्। पशुपतिनगरमा इलाका प्रहरी कार्यालय छ भने छिरुवा, मानेभञ्ज्याङ र कालपोखरीमा प्रहरी चौकी छन्।

प्रकाशित: २१ पुस २०७७ ०२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App