७ वैशाख २०८१ शुक्रबार
समाज

हिउँले सेताम्मे कर्णाली

आइतबार रातिदेखि लगातार हिमपात भएपछि सोमबार हुम्ला विमानस्थलमा रोकिएका तारा एयरलाइन्सका विमान । तस्बिर : नागरिक

कर्णालीका जुम्ला, मुगु, डोल्पा, हुम्लामा बाक्लो हिउँ परेको छ। कालिकोटको लेकाली क्षेत्र पनि हिउँले ढाकेको छ। जुम्लामा आइतबार दिउँसोदेखि बादल लागेको र रातिदेखि हिमपात भएको स्थानीयले बताएका छन्। सदरमुकाम आसपास क्षेत्रमा आधा फिट र लेकाली क्षेत्रमा डेढ फिटसम्म हिउँ जमेको छ। हिमपातसँगै जनजीवन कष्टकर बनेको छ। लेकाली क्षेत्रमा गाईवस्तुलाई दाना खुवाउन समस्या भएको छ। हिमपातले कृषि बालीमा भने सिँचाइ गर्न सघाउ पुगेको छ।

हिमपातका कारण घरबाहिर निस्कन र एक गाउँदेखि अर्को गाउँसम्म जान कठिन भएको छ। बाक्लो हिमपातका कारण हुम्लाको नाम्खा गाउँपालिकाका सबै नाका बन्द भएका छन्। हिउँ परेपछि उडान भर्न नसकेर हुम्ला विमानस्थलमा तारा एयरलाइन्सका दुईवटा विमान थन्किएका छन्। आइतबार बिहान नेपालगन्जबाट हुम्ला अवतरण गरेको एउटा विमानको ब्याट्रीमा समस्या आएपछि प्राविधिक टोली लिई अर्को विमान आएको थियो। हिमपात भएपछि यी दुईवटै विमान थन्किएका हुन्। मर्मत गरी फर्किने बेलामा हिमपात भएपछि विमान सिमकोटमै रोकिएको विमानस्थल प्रमुख विष्णु अधिकारी बताउँछन्। विमान रोकिएपछि नेपालगन्ज, सुर्खेत र काठमाडौं जाने यात्रु सिमकोटमै अलपत्र परेका छन्। विमानस्थलको हिउँ हटाएपछि मात्र विमान नेपालगन्ज फर्कने उनले जानकारी दिए।

हिमपातले मुगुको जनजीवन पनि प्रभावित भएको छ। कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्यमध्येको रारा हिउँले ढपक्कै ढाकिएको छ।हिँउले राराक्षेत्र कपासले छोपिएजस्तो देखिएको छ। तालसँगै वरपरको वनसमेत सेताम्मे भएको छ। घुम्न आएका आन्तरिक पर्यटक, निकुञ्जका कर्मचारी, गुल्ममा कार्यरत सेनाका जवान हिउँ खेलेर रमाइरहेका छन्। रारा राष्ट्रिय निकुञ्ज कार्यालयका रेन्जर सरोज खड्काले करिब ५ इन्चसम्म हिउँ जमेको जानकारी दिए। उनका अनुसार हिउँ पर्ने क्रम अझै जारी छ। मंसिर २ गते पनि रारामा २ इन्च हिउँ परेको थियो। ग्रामीण भेकदेखि गमगढी बजारसम्मका बासिन्दा घरभित्रै आगो तापेर बसिरहेका छन्। रारा तालभन्दा एक घन्टा माथिको मुर्मा गाउँमा आधा फिटसम्म हिउँ जमेको छ। यो ठाउँ समुद्री सतहदेखि ३२ सय मिटर उचाइमा पर्छ।

हिउँ परेपछि हिउँदे बाली सप्रिने भएकाले कृषक भने खुसी भएका छन् तर गाईवस्तु चराउन र घाँसदाउरा गर्न कठिन भएको बिर्खबहादुर रोकायाले बताए। हिमपातले चिसो बढेसँगै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कर्णाली राजमार्गमा गुड्ने सवारीसाधन निकै कम छन्। लामो समयदेखि खडेरीको मार खेप्दै आएका किसान भने पुसमा वर्षा र हिमपात भएपछि हिउँदे बाली लगाउने तयारीमा जुटेका छन्। पुसको हिमपातले जिल्लाका स्याउ किसान थप उत्साहित भएका छन्। स्याउ खेतीका लागि चिस्यान आवश्यक पर्ने र त्यो चिस्यान हिमपात भएपछि प्राप्त हुने भएकाले जिल्लामा व्यावसायिक स्याउ खेती गरिरहेका किसान उत्साहित भएका हुन्। 

डोल्पामा पनि हिमपातका कारण जनजीवन निकै कष्टकर बनेको छ। कर्णालीमा उडान भरिरहेका विमानले उडान भर्न सकेका छैनन्। हिमपातका कारण कर्णालीका जिल्ला सबै नाका ठप्प भएका छन्। एक जिल्लादेखि अर्को जिल्लासम्म पुग्न कठिन भइरहेको छ।

प्रकाशित: २१ पुस २०७७ ००:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App