८ वैशाख २०८१ शनिबार
समाज

पशुपतिनगरमा नेपाल–भारत सीमा विवाद, एसएसबीले स्वीकार्‍यो गल्ती

शनिबार राति भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सूर्योदय नगरपालिका–२, हिलेमा एकतर्फी रूपमा सीमाक्षेत्रमा पिलर गाढेपछि सोमबार एसएसबीसँग छलफल गर्दै सुरक्षाकर्मी। तस्बिर : नागरिक

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालको पूर्वी सीमावर्ती क्षेत्रमा एकतर्फी रूपमा खम्बा गाढ्नु आफ्नो गल्ती भएको स्वीकारेको छ। सूर्योदय नगरपालिकाका जनप्रतिनिधि, स्थानीय, सशस्त्र र जनपद प्रहरीको टोलीसँग एसएसबीले आइन्दा सहमतिबिना दशगजामा कुनैपनि गतिविधि नगर्ने प्रतिबद्धता गरेको छ।

सशस्त्र प्रहरीका अनुसार सूर्योदय नगरपालिका–२, पशुपतिनगरको हिलेभञ्ज्याङमा एसएसबीले नेपाल र भारतको सीमा भन्दै शनिबार राति एकलौटी रूपमा खम्बा गाढेको थियो। एसएसबीको गतिविधि थाहा पाएर आइतबार त्यहाँ पुगेका स्थानीयले प्रतिकार गरेपछि एसएसबी पछि हटेको थियो। एसएसबीले हिलेको ७१/११ देखि ७२/२५ नम्बर पिल्लरको बीचमा खम्बा गाढेको थियो। त्यही विषयलाई लिएर सोमबार बिहान सशस्त्र, जनपद प्रहरी र एसएसबी टोलीले संयुक्त गस्ती गरेको थियो। गस्तीपछि भएको अनौपचारिक छलफलमा एसएसबीले नेपाली टोलीसँग आइन्दा गल्ती नगर्ने प्रतिबद्धता गरेको सशस्त्र प्रहरी इन्स्पेक्टर नवीन खतिवडाले बताए। ‘अबदेखि दशगजा र विवादित स्थानमा कुनैपनि गतिविधि नगर्ने मौखिक सहमति भएको छ,’ उनले भने, ‘एसएसबीले सीमा भन्दै गाढेको खम्बा उखेलेको छ।’  

एसएसबीले ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस)ले देखाएको ठाउँ भन्दै खम्बा गाढ्ने प्रयास गरेको थियो। ‘हामी कसैलाई थाहै नदिई विवादित ठाउँमा एसएसबीले पिलर गाढ्न खोजेको रहेछ,’ खतिवडाले भने, ‘तर, अब यो क्षेत्रमा दुवैतर्फका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्ने, औपचारिक छलफलसमेत गरी आ–आफ्नो माथिल्लो निकायमा त्यसको जानकारी पठाउने सहमति भएको छ।’  

सशस्त्र प्रहरी बलको पशुपतिनगरस्थित बोर्डर आउट पोस्ट (बिओपी)बाट इन्स्पेक्टर खतिवडाको नेतृत्वमा र पशुपतिनगर इलाका प्रहरी कार्यालयबाट इन्स्पेक्टर देउप्रसाद लिम्बूको नेतृत्वमा सोमबार बिहान संयुक्त टोली गस्तीमा गएको थियो।  

 

प्रकाशित: २० पुस २०७७ १०:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App