नेपालमा ‘महिलासँग आपत्तिजनक स्थिति’मा भेटिएका भारत बिहारका तीन न्यायाधीशलाई सेवाबाट बर्खास्त गरिएको छ।
उनीहरू केही वर्षअघि नेपालमा महिलासँग आपत्तिजनक अवस्थामा फेला परेको बिबिसी हिन्दीले जनाएको छ।
यस सम्बन्धमा बिहार राज्यको सामान्य प्रशासन विभागले सोमबार यस विषयमा अधिसूचना जारी गरेको हो। जसअनुसार न्यायाधीशत्रय हरिनिवास गुप्ता, जितेन्द्रनाथ सिंह र कोमल शामिल बर्खास्तीमा परेका हुन्।
न्युज एजेन्सी पिटिआईका अनुसार त्यसबेला हरि निवास गुप्ता परिवार अदालत, समस्तीपुरका प्रमुख न्यायाधीश, जितेन्द्रनाथ सिंह अररियामा अतिरिक्त जिल्ला न्यायाधीश र कोमल राम अररियामा अतिरिक्त न्यायाधीश-सह-मुख्य न्यायिक मजिस्ट्रेट पदमा थिए।
उनीहरूलाई नेपालको विराटनगरस्थित एक होटलमा नेपालका प्रहरीले छापा मारेर पक्राउ गरेको थियो। पछि उनीहरूलाई छाडिएको थियो तर सञ्चारमाध्यममा यो समाचार आएको थियो।
पटना उच्च अदालतले उनीहरूविरुद्ध अनुसन्धानको आदेश दिएको थियो। त्यस क्रममा उनीहरू दोषी ठहर भए र बर्खास्तका लागि सिफारिस गरियो।
उनीहरूले यस फैसलाविरुद्ध सर्वाेच्च अदालतमा अपिल गरेका थिए तर गत वर्ष अदालतले खारेज गरेको थियो।
प्रकाशित: ७ पुस २०७७ ११:२६ मंगलबार