१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मानवीय क्षति घटाउन मकुना हात्तीको उपचार गरिँदै

कोसी टप्पु आरक्ष र आसपासका क्षेत्रमा आतंक मच्चाउँदै आएको मकुना हातीको उपचार गर्न थालिएको छ। हातीको आक्रमणबाट मानवीय क्षति कम गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनबाट आएको डाक्टर अमीर सडौला नेतृत्व टोलीले डार्ट गरेर शिथिल बनाउनका लागि उपचार थालेको हो। डार्ट गरेर हातीको हर्मोन कन्ट्रोल गर्न सकिन्छ।  

रमकुनालाई डार्ट गरेर सिएपछि पाँच–छ महिनासम्म चुपचाप बस्ने र त्यसपछि फेरि डार्ट गरिने कोसी टप्पु वन्यजन्तु आरक्षका वार्डेन चन्द्रशेखर चौधरीले बताए। रमकुनाको आक्रमणबाट मंसिर २९ गते कोशी गाउँपालिका वडा नं. ६ का २७ वर्षे प्रमोद यादवको मृत्यु भएको थियो। कोसी टप्पु तथा आसपासका क्षेत्रमा शृंखलाबद्ध रूपमा मकुनाको आक्रमणबाट मर्नेको संख्या थुपैै्र छ।  

कोसी टप्पु आरक्ष र आसपासका क्षेत्रमा १६ वटाको संख्यामा हाती रहेकोमा सबैभन्दा बढी मानवीय क्षति मकुनाकै कारण हुने गरेको छ। हात्ती मकै, धान, उखु र आँपलगायतमा लोभिएर गाउँ प्रवेश गर्दा मानवीय क्षति हुने गरेको छ। कोसी टप्पु क्षेत्रमा रैथाने रूपमा सुरुवातमा ११ वटा हात्ती थिए। पछि तिनै हात्तीले छावा बच्चा जन्माएर १४ वटा पुगेका थिए। अघिल्लो वर्ष तीनवटा छावा जन्माएपछि १७ वटा पुगेका थिए। मंसिर ६ गते बिजुुलीको तारले जेलिएर सप्तरी कञ्चनरूप नगरपालिका क्षेत्रमा बुढो दाह्रे हात्तीको मृत्यु भएपछि १६ मा झरेका हुन्।  

सुनसरी, सप्तरी र उदयपुर गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको आरक्षमा हात्तीलाई गाउँ प्रवेश गर्नबाट रोक्न सुनसरीको बस्तीतर्फ विद्युतीय घेराबेरा गरिए पनि सप्तरी र उदयपुर क्षेत्रमा भने बाँकी छ। कोसीपूर्वको सुनसरीतर्फ २५ किलोमिटर विद्युतीय घेराबेरा भइसकेको छ। यद्यपि कतिपय स्थानमा हातीले विद्युतीय घेराबेरा भत्काउने र रुखको हाँगा ढालेर तार लत्राएर घेराबेरा भत्काउने गरेको छ। यसले गर्दा सहजै वस्तीमा प्रवेश गर्छन्।  

नेपालमा कुल २०० देखि २२५ वटा जंगली हाती छन्। कोशी टप्पुमा १६ वटा हाती रहेकोमा भारतबाट झापाको बाहुन डागीमा १३० देखि १५० वटासम्म आउने गरेका छन्। आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८६५ घर परिवारका ८४ हजार ४२३ जना बसोबास गर्छन्।  ०४६ सालको परिवर्तनपछि बनेका हरेक सरकार र निर्वाचनताका प्रमुख मुद्दा बन्दै आएको हात्तीपीडितको पीडामा मल्हम लगाउन कसैले सार्थक प्रयास गरेका छैनन्।

डेढ दसकअघि देखि झापादेखि उदयपुरसम्मको चारकोसे जंगलमा रैथाने रूपमा बस्ने जंगली हात्ती पछिल्ला वर्ष कोसी टप्पु वन्य जन्तु आरक्ष क्षेत्रमै बढी मात्रमा बस्दै आएकाले गर्दा सुनसरी, सप्तरी र उदयपुरको मानववस्तीमा प्रवेश गरी बढी मात्रमा विध्वंस मच्चाउने गर्दा मानवीय क्षतिसँगै अन्नबालीको नोक्सानी हुने गरेको छ ।

प्रकाशित: ६ पुस २०७७ ०५:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App