७ वैशाख २०८१ शुक्रबार
समाज

मेलम्ची खानेपानी आयोजनाः पुनः गेट जडान अन्तिम चरणमा

मेलम्ची खानेपानी आयोजनाको संरचना सुरुङमार्गमा पुनः गेट जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। यसअघि जडित संरचनामा त्रुटि फेला परेपछि नयाँ डिजाइनमा विगत चार महिनादेखि पुनः गेट जडानको काम भइरहेको हो।  

‘त्रुटि सच्याउँदै गेट जडानको काम अन्तिमतिर पुगेको छ,’ आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले नागरिकसँग भने। गेट रहने संरचनामा कंक्रिटिङ ढलान र फ्रेम बनाउने काम सकिएपछि फलामे गेट झुन्ड्याउने काम भइरहेको उनले जानकारी दिए। उनका अनुसार आयोजनाले पुस दोस्रो सातासम्म सुरुङमा गेट राख्ने कार्य सक्ने अनुमान गरेको छ।  

गत असार ३० गते परीक्षणमा रहेको सुरुङमार्गको अम्बाथानस्थित अडिट टनेलको १७ नम्बर गेट खुलेर दुर्घटना भएपछि गेटको डिजाइन र जडानमै त्रुटि भएको फेला परेको थियो। गेट खुल्दा निरीक्षणमा रहेका चार कर्मचारीलाई सुरुङबाट बाहिरिएको पानीले बगाएको थियो। दुईलाई तत्काल घाइते अवस्थामा उद्धार गरिए पनि दुईको ज्यान गएको थियो।  

घटनापछि खानेपानी मन्त्रालयद्वारा सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा गठित विज्ञ सम्मिलित छानबिन प्राविधिक समितिले गेट डिजाइन र जडानमा त्रुटि रहेको औंल्याएको थियो। समितिकै छानबिन प्रतिवेदनको सिफारिसअनुसार असोजदेखि नयाँ डिजाइनमा गेट जडान गर्ने कार्य भइरहेको छ। पहिला बाहिरबाटै खोल्न मिल्ने गरी गेट जडान गरिएको थियो। अहिले भने बाहिरबाट भित्र खोल्न मिल्ने गरी गेट जडान भइरहेको हो। बाहिरबाट बाहिरै खोल्न मिल्ने गरी राखिएका गेट सुरुङमा जम्मा भएको पानीको चापले धकेलेर नटबोल्ट खुस्कँदा दुर्घटना भएको थियो।  

तीन महिनाभित्र मंसिरसम्ममा गेट जडानको काम सक्ने गरी काम थालिएको थियो। प्राविधिक कारणले गेट जडानमा समेत ढिलाइ भइरहेको प्रवक्ता पन्तले बताए। आयोजनाका विज्ञ टोलीको निरीक्षण र निगरानीमा गेट जडानको काम भइरहेको उनले जनाए। ‘पुनः समस्या नआओस् भनेर विज्ञ टोलीले स्थलगत अनुगमन गरिरहेको छ,’ पन्तले भने।  

गेट जडान सकिएपछि विज्ञ टोलीले समग्र सुरुङको अवस्थाबारे प्रतिवेदन बुझाउने आयोजनाले जनाएको छ। आयोजनाका अनुसार प्रतिवेदनको सिफारिसका आधारमा सुरुङमा पानी छिराएर परीक्षण (पथान्तरण) थालिने छ। ‘विज्ञको प्रतिवेदनअनुसार मात्र पथान्तरण थालिने भएकाले त्यो कहिले सुरु हुने भनेर अहिल्यै भन्न सक्ने अवस्वा छैन,’ प्रवक्ता पन्त बताउँछन्।  

साढे २६ किलोमिटर लामो सुरुङ मार्गका चार अडिट टनेल अम्बाथान, ग्याल्थुम, सिन्धु र सुन्दरीजलमा रहेका चारवटै गेट पुनः जडान भइरहेको हो। नयाँ गेट जडान गर्नुअघि पुराना निकालेर संरचना भत्काइएको थियो। सुरुङमार्गको काम चिनियाँ कम्पनी सिनो हाइड्रोले गरेको हो। उसले हेडवक्र्स (मुहान) को पनि काम गरिरहेको छ। इप्टिसा नामक परामर्शदाता कम्पनीको निगरानी र सुपरीवेक्षणमा गेट पुनः डिजाइन, निर्माण र जडान भइरहेको छ। त्यस्तै गेट निर्माण र जडानको काम भारतीय प्रिसिजन इन्फाट्रिक कम्पनीले गरिरहेको छ। पुराना गेटको काम पनि यी दुई कम्पनीले गरेका थिए।  

गत असार २१ गते सुरुङमार्गको परीक्षण गर्न पानी प्रवेश गराइएको थियो। परीक्षणको १० दिनमै गेट खुल्दा सबै काम व्यर्थ भयो। सुरुङ परीक्षण गर्न दुई महिना लाग्ने अनुमानसहित पानी पथान्तरण गरिएको थियो। सुरुङ भरिन २० दिन लाग्ने र भरिएको पानीलाई थप १० दिनभित्रै होल्ड गरेर फेरि दुई साता लगाएर सुरुङ खाली गराउँदै परीक्षण पूरा गर्ने आयोजनाको तयारी थियो। अब पुनः पथान्तरणको काम सक्न त्यति नै समय लाग्ने आयोजनाले जनाएको छ।  

गेट सच्चाउँनेसँगै हेडवक्र्सको काम पनि एक साथ भइरहेको छ। आगामी अप्रिलसम्म हेडवक्र्सको काम सक्नुपर्ने सम्झौता छ। अहिले हेडवक्र्समा कंक्रिट बिच्छाउने काम सकिएको छ। फागुनसम्ममा पथान्तरण परीक्षण सकेर हेडवक्र्सको काम सकेसँगै (अप्रिलसम्म) मेलम्ची पानी काठमाडौं पु¥याउन आयोजना कस्सिएको प्रवक्ता पन्तको दाबी छ।

प्रकाशित: ५ पुस २०७७ ०१:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App