coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

'टिकटक' ले उदांगिँदै गोपनीयता

नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ। रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता उदांगो भइरहेको प्रहरीको ठहर छ। नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार कार्यालयभित्रै भिडियो बनाउने, बैंकका कर्मचारीले फाइल, पैसा र डकुमेन्टजस्ता सामग्री भिडियोमार्फत सार्वजनिक गर्ने, प्रहरी र नेपाली सेनाको बर्दीको प्रयोग गर्ने, ड्युटीमै भिडियो बनाउने, चित्त नबुझेका व्यक्तिको अश्लील भिडियो अपलोड गरिदिने प्रवृत्ति बढेको छ।

ब्युरोका एसपी पशुपति रायका अनुसार साइबर अपराधमा आगो थप्ने काम टिकटकले पनि गरिरहेको छ। सरकारले सामाजिक सञ्जाल र युट्युब च्यानललाई व्यस्थित गर्न सकिने आवश्यक कानुन निर्माण नगरेका कारण प्रहरीको टाउको दुखेको छ। एसपी रायले टिकटकबाटै गोपनीयता भंगमात्र होइन, ठगीसमेत हुन थालेपछि प्रहरीले प्रयोगकर्तामाथि निगरानी बढाएको बताए। उनले कोहीप्रति प्रतिशोध राखी वा जानाजान चारित्रिक ठेस पु¥याउनेलाई प्रहरीले कारबाही गरेको जानकारी दिए। ‘जानेर वा नजानेर प्रयोगकर्ताले यसको दुरूपयोग गरेका छन्,’ उनले भने, ‘बाटोमै पनि अभद्र व्यवहार गर्ने, रेकर्डेड कुरा बाहिर ल्याउने, चरित्र हत्या गर्ने, गोप्य कुराको खुलासा गरिदिने, टिकटक बनाउनकै लागि अनावश्यक उटपट्याङ गर्नेजस्ता गलत प्रयोग भएको तथ्य हामीले फेला पारेका छौं।’

टिकटकबाटै हिंसा भइरहेको भन्दै ब्युरोमा उजुरी दिन पुग्ने महिलाको संख्या पनि बढेको छ। सामाजिक सञ्जालको जन्जालमा फस्दा केही व्यक्तिलाई आर्थिक, सामाजिक र व्यक्तिगत रूपमा चोट पुग्ने गरेको छ। सामाजिक सञ्जालबाट ठगिएकाबाट एक सातामा ५० वटाको हाराहारीमा उजुरी ब्युरोमा दर्ता हुन्छन्। उजुरीका आधारमा प्रहरीले कारबाही प्रक्रिया अघि बढाउने तथा व्यक्तिको आइडी ब्लक गरिदिनेजस्ता उपचार गर्दै आएको छ।  

एसपी रायका अनुसार सरकारी कर्मचारीले समेत कार्यालयमा काम गर्दैगर्दा टिकटक बनाउने प्रवृत्ति बढेको छ। प्रयोगकर्ताले लामो भिडियो वा अडियोलाई इडिट तथा ‘कट’ गरी टिकटकमा अपलोड गर्छन्। कतिपयले एकथरी भिडियोमा अर्को अडियो प्रयोग गर्ने गरेको प्रहरीको निष्कर्ष छ। ड्युटीमै अनाश्यक भिडियो बनाएको जानकारीका आधारमा १० जनाभन्दा बढी प्रहरी कर्मचारीलाई कारबाही गरेको ब्युरोले जनाएको छ। त्यस्तै नेपाली सेनाले पनि पोसाकको दुरूपयोग नगर्न लिखित निर्देशन दिइसकेको छ।  

प्रहरी अध्ययनअनुसार नेपालमा २० लाख बढीले टिकटक प्रयोग गर्छन्। यो संख्या बढ्दो छ। तर प्रयोगकर्तामध्ये सदुपयोग भने कमैले गरेका छन्। सरकारले पनि टिकटकलाई व्यवस्थित बनाउन कुनै नीति नियम बनाउन सकिरहेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले नै टिकटक चलाउन थालेपछि यसका प्रयोगकर्ता झनै हौसिएका छन्। उनीहरूले टिकटक पनि सूचना र मनोरञ्जन प्रवाह गर्ने माध्यम भएकाले सरकारले यसलाई विधिपूर्वक सञ्चालन गर्नुपर्ने माग राखेका छन्।  

टिकटक प्रयोगकर्ता मनोज घिमिरेले टिकटकलाई सरकारले व्यवस्थित गर्नुपर्ने बताए। उनले भने, ‘टिकटकको नेपाल कार्यालय खोल्नुपर्छ र सबै आधिकारिक बनाउनुपर्छ।’ तर मानिसको चरित्र हत्या र गोपनीयताको पर्दाफास टिकटकबाट भइरहेको प्रहरीको निष्कर्ष छ।  

सूचनाको सटिक माध्यम

त्यसो त टिकटकको दुरूपयोग मात्रै भएको छैन, युवा पिँढीले यसलाई रमाइलो र मनोरञ्जन माध्यम बनाएका छन्। टिकटकका फाइदा पनि नभएका होइनन्। मनोरञ्जन मात्रै नभएर कुनै सटीक सूचना प्रवाह गर्न यो माध्यम ज्यादै उपयोगी मानिन्छ। एक मिनेटसम्मको भिडियो अपलोड गर्दा धेरैमाझ पुग्छ। छोटो ‘भिडियो कन्टेन्ट’ हुने भएकाले हेर्नलाई धेरै समय खर्चिनुपर्दैन। टिकटकमा चर्चित पात्र सुरज अधिकारीले छोटाछोटा ‘क्लिप’ मा पनि गहिरो सन्देश दिन सकिने बताए। उनले भने, ‘टिकटक रमाइलो माध्यम मात्रै होइन, मेहनत गर्नेले निकै सन्देशमूलक भिडियो पनि अपलोड गरेका छन्, यो एक हिसाबले हास्यव्यंगजस्तै हो।’  

दुरूपयोग गर्नेमाथि साइबर अपराध

सामाजिक सञ्जाल वा अन्य विद्युतीय माध्यमको प्रयोग गरी अपराध गरे विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही हुन्छ। यो कानुन सामाजिक सञ्जाल र अन्य विद्युतीय माध्यमप्रति आकर्षित छ। त्यस्तै विद्युतीय माध्यमकै प्रयोग गरी गालिगलौज गरे गालीगलौजसम्बन्धी कानुन पनि आकर्षित हुन्छ। ह्याकरले कुनै संस्थाको नेटवर्कमा प्रवेश गरी साइड नै ह्याक गरे विद्युतीय कारोबार ऐनअनुसार कारबाही हुन्छ। टिकटक र अन्य सामाजिक सञ्जालको प्रयोग गरी हुने आपराधिक क्रियाकलापका आधारमा ब्युरोले मुद्दा अघि बढाउँछ।

सातै प्रदेशमा साइबर ब्युरो युनिट  

सामाजिक सञ्जालबाट ठगिने वा पीडित बन्नेको संख्या बढेसँगै नेपाल प्रहरीले सातवटै प्रदेशमा साइबर ब्युरोको युनिट स्थापना गरिसकेको छ। पीडितले सामाजिक सञ्जाल वा साइबरसम्बन्धी अपराधका मुद्दा नजिकको कार्यालयमा दर्ता गराउन सक्नेछन्। मुद्दाका आधारमा प्रहरीले कारबाही प्रक्रिया अघि बढाउनेछ। साइबर अपराधमा पनि गम्भीरता देखिए तुरुन्तै अदालतमा मुद्दा गराउन प्रहरीले नै सहयोग गर्ने ब्युरोका एसपी रायले जानकारी दिए। ‘हामीले अपराधको अवस्था हेर्छौं, स्थिति गम्भीर छ भने आवश्यक कारबाहीका लागि सहयोग गर्छौं,’ उनले भने। उनका अनुसार कुनै व्यक्तिको टिकटक, फेसबुक, ट्विटर, इमेलजस्ता सामाजिक सञ्जाल बन्द गराउनुपरे प्रहरीले दूरसञ्चार प्राधिकरण र इन्टरपोलको सहायता लिन्छ।

प्रकाशित: ३० मंसिर २०७७ ००:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App