७ वैशाख २०८१ शुक्रबार
समाज

लोकप्रिय हुन हप्तामा दुई दिन बिदा प्रस्ताव

पर्यटनमन्त्री याेगेश भट्टराई। फाइल तस्बिर

निजामती कर्मचारीलाई कति बिदा दिने भन्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने काम गृहको हो। त्यससम्बन्धी अध्ययन गर्ने जिम्मेवारी सामान्य प्रशासन मन्त्रालयको भए पनि पर्यटन मन्त्रालयले विभागीय कार्यक्षेत्र कुल्चेर निजामती कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिने प्रस्ताव अघि सारेको छ।

पर्यटन मन्त्रालयका प्रवक्ता कमल भट्टराईको संयोजकत्वमा अध्ययन समिति गठन गरेर दुई दिन बिदा दिने प्रारम्भिक मस्यौदा नै सार्वजनिक गरेको छ। मस्यौदामा दुई दिन बिदा दिएमा राज्यको १ अर्ब ६५ करोड रुपैयाँ बचत हुने, लैगिंक समानता कायम हुने, आन्तरिक पर्यटन वृद्धि हुने, परिवारमा मिलन आउने जस्ता तर्क गरिएको छ।

तर, पूर्वसामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको माझमा लोकप्रिय हुन गृह र सामान्यको अधिकार कुल्चेर पर्यटनले कार्यदल बनाएको बताउँदै भने, ‘त्यस्तो हो भने किन दुई दिन मात्र बिदा दिने ? सात दिन नै बिदा दिऔं। झन लोकप्रिय हुन्छौं।’ अनुपयुक्त ठाउँबाट, अनपयुक्त समयमा र अनुपक्त किसिमबाट पर्यटनले कार्यदल बनाएको उनले बताए।

हप्तामा दुई दिन विदा दिने पद्धति यसअघि २०५६सालमा प्रयोग गरिएको थियो। तर यो प्रयोग अव्यबहारिक देखियो र धेरै लामो मसयसम्म टिक्न सकेन। २० वर्ष अघि नै नेपालमा अव्यबहारिक र असफल भएको प्रयोग फेरि दोह-याउन नहुने विज्ञहरूको भनाइ छ। ‘एकपटक असफल भइसकेको प्रयोग फेरि किन दोह¥याउने ?,’ पण्डितले भने।

हप्तामा दुई दिन बिदा दिनेसम्बन्धी कार्यदल बनेको र उक्त कार्यदलले मस्यौदा समेत सार्वजनिक गरेको विषयमा सामान्यका उच्च कर्मचारीहरु अनविज्ञता प्रकट गर्छन्। सामान्य मन्त्रालयका सचिव एकनारायण अर्यालले यसबारेमा मन्त्रालयलाई औपचारिक जानकारी नभएको बताए। ‘यस विषयमा मन्त्रालयलमा औपचारिक जानकारी छैन। न त यस विषयमा सामान्यले अहिलेसम्म सहमति नै दिएको छ,’ अर्यालले भने। तर पर्यटन मन्त्रालयका प्रवक्ता तथा हप्तामा दुई दिन बिदा दिनेसम्बन्धी गठन गरिएको अध्ययन टोलीका संयोजक कमल भट्टराईले हप्तामा दुई दिन बिदा दिए राज्यको १ अर्ब ६५ करोड रुपैयाँ बचत हुने भन्दै यस्तो प्रयोग नेपालमा गर्नुपर्ने अडान राखे।

‘निजामती कर्मचारीलाई विदा दिने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने काम गृहको भए पनि हामीले आवश्यक ठान्यौं भने हामीले तयार गरेको प्रस्ताव गृहमा पठाउन सक्छौं,’ भट्टराइले भने। प्रवक्ता भट्टराई पर्यटनमन्त्री योगेश भट्टराईनिकट मानिन्छन्। पर्यटन मन्त्रालय स्रोतका अनुसार पर्यटनमन्त्रीको व्यक्तिगत चाहनामा यस्तो कार्यदल गठन गरिएको तथा उनकै चाहनामा कमललाई कार्यदलको संयोजक बनाइएको हो।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले मजदुरका लागि हप्तामा ४० घण्टा काम गर्ने मापदण्ड बनाएको छ। तर हप्तामा दुई दिन बिदा दिने हो भने आइएलओले बनाएको मापदण्ड भन्दा मजदुरले काम गर्ने समय कम हुने विज्ञहरूको भनाइ छ। अहिले लागु भएको बिदा प्रणालीअनुसार निजामती कर्मचारीले हप्तामा ४० घण्टा काम गर्छन्।

पर्यटनले बनाएको मस्यौदामा विश्वका कयांै देशमा हप्तामा दुई दिन सार्वजनिक बिदाको अभ्यास हुँदै आएको बताउँदै हप्तामा दुई दिन बिदा दिन सम्भव रहेको निष्कर्ष निकालिएको छ। समितिमा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदेव घिमिरे, अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायतका प्रतिनिधि पनि छन्।

सातामा दुई दिन बिदा कायम गर्दा कर्मचारी, कार्यालय र संस्थाहरूको उत्पादकत्व वृद्धि हुने, सरकारी खर्च कटौती हुने, कोरोना भाईरसका कारण हाल थला परेको पर्यटन प्रवर्दनमा सहयोग पुग्ने, र व्यक्तिगत जीवनबीचको सन्तुलन कायम हुने, पारिवारिक सामिप्यता कायम हुने, पर्यावरणीय दृष्टिले सकारात्मक प्रभाव पर्नसक्ने समितिको निष्कर्ष छ। हाल विश्वका ८८ भन्दा बढि मुलुकमा सातामा दुई दिन बिदा दिने प्रचलन रहेको समितिले जनाएको छ।

प्रकाशित: २९ मंसिर २०७७ ०२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App