coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जाडोमा मृत्यु संख्या बढ्ने खतरा

विज्ञ चिकित्सकले गर्मीको तुलनामा जाडोमा कोरोना संक्रमणबाट हुने मृत्युदर बढ्ने खतरा औंल्याएका छन्। पछिल्लो तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या दैनिक घटिरहेको देखिए पनि मृत्यु दर भने घट्न सकेको छैन। नेपालमा दैनिक औसत पाँच हजारजना संक्रमित थपिँदा मृत्यु हुनेको संख्या २२ देखि ३२ सम्म थियो। हाल दैनिक एक हजारदेखि १२ सयको दरले संक्रमित थपिएका छन्, मृत्यु हुनेको संख्या १५ देखि २० हाराहारी छ।  

कोरोना संक्रमण घटेकै बेला संक्रमितको मृत्यु घट्नुको सट्टा बढ्ने सम्भावना रहेको चिकित्सकले औंल्याएका छन्। शुक्रराज सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनको अनुभवमा वृद्धवृद्धा होम आइसोलेसनमा छन्, उनीहरूले आफ्नो स्वास्थ्य अवस्थाबारे समयमै जानकारी दिन नसकेर उपचारमा ढिलाइ हुँदा मृत्युदर बढेको छ। यो दर जाडोमा अझै बढ्ने स्थिति छ। ‘होम आइसोलेसनमा रहेका ८० प्रतिशतभन्दा बढी आमाबुवाले मोबाइल चलाउँदैनन्’, पुनले भने। मोबाइल नचलाउँदा उनीहरूले आफ्नो स्वास्थ्य अवस्थाबारे परिवारका सदस्यलाई समयमै खबर दिन सकेका छैनन्। राजधानीमा मानिस व्यस्त रहने र केही हुँदैन भनेर बस्ने क्रममै उपचारका लागि ढिलो भइसक्ने डा. पुनले बताए। 

संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बस्नुपर्छ र व्यवसायमा घाटा पर्छ भन्ने सोचले पनि परीक्षण नगराउनु, कन्ट्याक्ट ट्रेसिङ नहुनु, जाडो महिनामा कोरोना भाइरस धेरै दिनसम्म जीवित रहनु, अन्य फ्लुको संक्रमण पनि बढ्नुजस्ता कारणले गर्मीको तुलनामा जाडोमा कोरोनाबाट बढी मृत्यु हुने सम्भावना रहेको चिकित्सकले औंल्याएका छन्।  

वीर अस्पतालका छातीरोग विशेषज्ञ डा. अशेष ढुंगानाका अनुसार पहिलो लहरको कोरोना संक्रमण सकिएर जाडोमा दोस्रो लहर आउने स्थिति रहेको र त्यसको असर गम्भीर हुन सक्ने सम्भावना छ। ‘नयाँ रोग भएकाले दोस्रो लहरको प्रभाव अहिलेको भन्दा कडा हुन सक्छ’, उनले भने। युरोप तथा अन्य पश्चिमी देशहरूमा दोस्रो लहरको कोरोना संक्रमण भइसकेको उनले बताए।  

डा. ढुंगानाका अनुसार जाडोमा संक्रमणको दर बढ्न सक्ने र यसले मृत्युदर पनि बढाउन सक्छ। बढ्दो प्रदूषणबाट उत्पन्न धुलोका कणहरू श्वास–प्रश्वास नलीमा अड्किने र दम तथा सिओपिडीका रोगीहरूलाई कोरोना संक्रमण भएमा मृत्युको जोखिम बढ्न सक्छ।  

त्रिवि शिक्षण अस्पतालका कोभिड १९ संयोजक डा. सन्तकुमार दासका अनुसार जाडो बढ्दै जाँदा कोभिडका गम्भीर बिरामीको संख्या उत्तिकै रहेको र जोडोमा हुने श्वास–प्रश्वास तथा फोक्सोमा असर गर्ने कारण मृत्युदर बढ्ने स्थिति देखिन्छ। डा. दासका अनुसार हरेक वर्ष जाडोमा १७ प्रतिशत मृत्यु स्वतः बढ्छ। यो वर्ष कोरोना भाइरस संक्रमणले मृत्युदर थप बढ्ने स्थिति छ। ‘जाडोमा मुख्यतः प्रदूषण बढेर बिरामीको मृत्यु हुने गर्छ’, उनले भने।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीको विचारमा जाडोमा कोरोना संक्रमण हुँदा एकैपटक दुई प्रकारका संक्रमण भई संक्रमितको मृत्यु बढ्ने सम्भावना बढ्छ। त्यसमा पनि मृत्यु बढाउन प्रदूषणको ठूलो भूमिका हुने उनको तर्क छ। प्रदूषण धेरै भएका विश्वका ठूला सहरमा कोरोनाबाट हुने मृत्युदर पनि बढी देखिएको छ। प्रदूषणले नाकदेखि फोक्सोसम्मका श्वास–प्रश्वासका अंगहरूलाई असर गर्छ। श्वासनलीमै असर गरेका कारण रोगसित लड्ने प्रतिरक्षा क्षमता कमजोर बन्छ।  

यसका साथै जाडोमा प्रदूषणका कारण  

बिरामी परेका श्वास–प्रश्वासका बिरामी, कोरोनाका बिरामी लामो समय अस्पताल भर्ना हुने क्रममै अस्पतालजन्य संक्रमण भएर समेत मृत्यु बढ्ने सम्भावना देखिन्छ। डा. मरासिनी भन्छन्, ‘कोरोनाबाट हुने बढी मृत्यु विश्वका ठूला प्रदूषित सहरमा पनि बढी देखिएको छ, कोरोनाका बिरामीको अस्पताल बसाइ लामो हुने क्रममै अस्पतालजन्य संक्रमणले मृत्यु हुन सक्छ।’

जाडोमा मानिसको शरीरमा ‘भिटामिन डी’ को कमी हुने र यो भिटामिनको कमीले रोगसित लड्ने क्षमतामा कमी हुने कारण पनि कोरोना भाइरस संक्रमणको असर बढी हुने र मृत्युदर बढ्ने अन्तर्राष्ट्रिय हेल्थ जर्नलहरूमा उल्लेख छ। हार्भर्ड विश्वविद्यालयको अध्ययनअनुसार प्रदूषणमा २.५ पिएम कण भएमा कोरोनाबाट हुने मृत्युदर ८ प्रतिशत बढाउँछ। चिसोमा प्रदूषित धुवाँ जमिनदेखि नजिकै रहने र त्यो मानिसको सम्पर्कमा सीधै आउने हुनाले श्वास–प्रश्वासमा बाधा पार्ने अध्ययनहरूले औंल्याएका छन्। बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकले कोरोना संक्रमित लामो समय प्रदूषणको सम्पर्कमा रहेमा नाइट्रोजन अक्साइन ग्यासका कारणले मृत्यु हुने पत्ता लगाएका छन्।

प्रकाशित: २७ मंसिर २०७७ ००:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App