coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सामाजिक सुरक्षाभत्तामा अनियमितता, छानविन समितिले बुझायो प्रतिवेदन

तस्बिर: नागरिक

खोटाङको साकेला गाउँपालिकामा एकै आर्थिक वर्ष ८७ लाखभन्दा बढि सामाजिक सुरक्षाभत्ता चुहावट भएको पाइएको छ। मृत्यु भइसकेका, कतिपय बसाई सरिसकेका तथा कतिपय हुँनै नभएका व्यक्तिको नाममा ‘फेक डकुमेन्ट’ बनाएर सामाजिक सुरक्षा भत्तामा अनियमितता भइरहेको विषय बाहिरिएपछि गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्काको संयोजकत्वमा गठित छानविन समितिले आर्थिक वर्ष २०७६/०७७ भित्र ८७ लाख ४१ हजार ६ सय रुपैयाँ रकम चुहावट भएको प्रतिवेदन सार्वजनिक गरेको छ। 

सामाजिक सुरक्षा भत्ता दुरुपयोगका विषयमा गत असोज १४ गते गठित समितिले मंगलबार छानबिन प्रतिबेदन सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष अर्जुन खड्का (झंकार)लाई आफ्नो अन्तिम प्रतिबेदन बुझाएको छ।  छानबिन समितिले आर्थिक वर्ष २०७६/०७७ मा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा २० लाख ३४ हजार ४ सय, साकेला गाउँपालिका–२ रतन्छामा १२ लाख २८ हजार, साकेला गाउँपालिका–३ खिदिमामा ११ लाख ८७ हजार २ सय, साकेला गाउँपालिका–४ मात्तिममा २२ लाख ८७ हजार २ सय र साकेला गाउँपालिका–५ मात्तिमबिर्तामा २० लाख ४८ हजार सामाजिक सुरक्षाभत्ता अनियमितता भएको प्रतिबेदन सार्वजनिक गरेको छ।

 मृत्यु भइसकेका व्यक्ती, अन्यत्र बसाई सरिसकेका व्यक्ती, हुँदै नभएका नक्कली लाभग्राही खडा गरेर, अर्कै वडाको व्यक्तीको नाम राखेर, एकैजनाको एकभन्दा बढि नाम देखाएर सामाजिक सुरक्षाभत्ता चुहावट गरेको पाइएको छानविन समितिले जनाएको छ। सुरुमा साकेला गाउँपालिका–४ मात्तिममा मृत्यु भइसकेका व्यक्तीको नाममा पनि सामाजिक सुरक्षा भत्ता चुहावट भइरहेको खबर बाहिरिएपछि न्यायिक समितिका संयोजकका हैसियतमा उपाध्यक्ष खड्काको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो। १५ दिनभित्र छानबिन प्रतिबेदन बुझाउन समय पाएको समितिले मंसिर १३ गते नै छानबिन प्रतिबेदन सार्वजनिक गर्ने भन्दै खबर गरेको थियो।

 तर, समितिले एकाएक कार्यक्रम रोकेर १० दिनपछि मात्र आफ्नो प्रतिबेदन सार्वजनिक गरेको हो। अघिल्ला आर्थिक वर्ष वितरण भएका सामाजिक सुरक्षाभत्ताको खर्च फस्र्योट भइसकेकाले एक वर्ष (आर्थिक वर्ष २०७६÷०७७) भित्रको सामाजिक सुरक्षाभत्तामा दुरुपयोगका विषयमा मात्र छानबिन गरिएको गाउँपालिकाकी उपाध्यक्ष एबं छानविन समितिका संयोजक खड्काले बताईन्। ‘मृत्यु भइसकेको, बसाई सरिसकेको, हुँदै नभएको मान्छेको नाममा काल्पनिक मान्छे खडा गरेर अनियमितता गरेको पाइएको छ। त्यसमा पनि दलितको नाममा बढि दुरुपयोग भएका छन्,’ खड्काले भनिन्, ‘छानविनकाक्रममा हामीले जे देख्यौं, त्यही लेखेका छौँ। उहाँहरु सरासर गलत हुनुहुन्छ। कमजोरी गर्नु भएको छ। उहाँहरु सुध्रिनुपर्छ। आजैबाट सुधारेर लैजान्छु भनेर लाग्नुपर्छ।’  

साकेला गाउँपालिका–४ मात्तिममा सामाजिक सुरक्षाभत्ता चुहावट भएको विषयलाई लिएर छानबिन समिति गठन गरिए पनि समितिले गाउँपालिकाभित्रका सबै वडाको सामाजिक सुरक्षाभत्ता वितरणमा भइरहेको अनियमितताका विषयमा छानबिन गरेको जनाएको छ। साकेला गाउँपालिका–४ मात्तिममा सामाजिक सुरक्षाभत्ता चुहावट भइरहेको घट्ना बाहिरिए लगत्तै साकेला गाउँपालिका–५ मात्तिमबिर्ता र साकेला गाउँपालिका–२ रतन्छामा पनि सामाजिक सुरक्षाभत्तामा उस्तैगरी अनियमितता भइरहेको तथ्य बाहिरिएको थियो। सामाजिक सुरक्षा भत्ता वितरणलाई चुस्त र पारदर्शी बनाउनका लागि गाउँपालिकाले अभियान चलाए पछि सामाजिक सुरक्षा भत्ता दुरुपयोगको फेहरिस्त क्रमशः छताछुल्ल हुन थालेको थियो।  

सामाजिक सुरक्षाभत्ता पाउने कतिपय लाभग्राहीको एउटै नाम, एउटै नागरिकता नम्बर, एउटै ठेगाना, एउटै जन्म मिति उल्लेख गरेर नक्कली लाभग्राही खडा गरिएको पाइएको छ। एकै व्यक्तिको नाममा विधवा र एकल महिलाको सामाजिक सुरक्षा भत्ता बाँडिएको तथ्या पनि फेला परेको छ। सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको प्रतिबेदन सार्वजनिक भएपछि वडा तथा गाउँपालिकाका जनप्रतिनिधि समेत नैतिक प्रश्नको कठघरामा परेका छन्। किनकी यत्तीको मात्रामा भइरहेको रकम दुरुपयोगमा कर्मचारी मात्रको हात नरेको कतिपयको आशंका छ। तर, छानबिनकाक्रममा कतिपय मृतक वा बसाई सरिसकेका व्यक्तीका आफन्तले नै निरन्तर सामाजिक सुरक्षाभत्ता लिइरहेको पनि पाइएको जनाइएको छ।  

सामाजिक सुरक्षाभत्तामा एक आर्थिक वर्षभित्रै ८७ लाखभन्दा बढि रकम अनियमितता भएको छानबिन प्रतिबेदन सार्वजनिक भएपछि अघिल्ला आर्थिक वर्ष सोभन्दा बढि रकम अनियमितता भएको अनुमान गरिएको छ। सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको पूष्टी हुने जो सुकैलाई सामाजिक सुरक्षा ऐन २०७५ र सामाजिक सुरक्षा नियमावली २०७६ अनुशार कारबाही हुने गाउँपालिका अध्यक्ष खड्काले बताए। ‘छानबिन प्रतिबेदन आएको छ, तर त्यो अझै पुरक छैन। त्यसलाई पुरक बनाउन केही समय लग्छ,’ अध्यक्ष खड्काले भने, ‘रकम दुरुपयोगमा क–कसको संलग्नता छ ? को बाट कति असुल गर्नु पर्ने हो ? त्यसको यकिन सँगै पूष्टी भएपछि कारबाही अघि बढ्छ।’  

प्रकाशित: २४ मंसिर २०७७ ११:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App