८ वैशाख २०८१ शनिबार
समाज

राजपुर बमकाण्ड : आलमलाई आठ महिनादेखि पछ्याइरहेको थियो प्रहरी

राजपुर बमकाण्ड मुख्य योजनाकार महम्मद महताब आलमलाई पक्राउ गर्न प्रदेश नम्बर २ प्रहरी कार्यालय जनकपुरले आठ महिनादेखि पछ्याइरहेको बुझिएको छ।  सोमबार पक्राउ गरिएका आलमलाई प्रहरीले भारतको विभिन्न शहरमा खोजी गरेको थियो।  

बम कान्डका मुख्य आरोपित सांसद महम्मद आफताब आलम पक्राउ परेपछि फरार रहेका उनका भाइ महताब आलम पनि घटनाको दोषी रहेको प्रमाणहरु संकलन भइसकेको थियो।  घटनाका साक्षीहरुको बयान, मुद्दा दर्तामा पनि नाम रहेको तथा सांसद आलमका सबै अपराधमूलक कामहरुको योजनाकार र संरक्षकको रुपमा परिचित महताब आलमलाई पक्राउ गर्नु प्रहरीको लागि चुनौती बनेको थियो।  

गत बैशाखमा अदालतबाट पुर्पक्षका लागि सांसद आलम कारागार चलान भएपछि प्रहरीको ध्यान बम कान्डका मुख्य योजनाकार मानिएका महताब आलमतिर गएको थियो।  २०७६ को कोजाग्रत पूर्णिमाकै दिन सांसद आलम पक्राउ परेपछि फरार रहेका महताब आलमको खोजी र पक्राउ चुनौतीपूर्ण रहेको थियो।  

सांसद आलम पक्राउ परेपछि महताब आलमलाई पक्राउ गर्न प्रदेश नम्बर २ प्रहरी कार्यालय जनकपुरले विशेष योजनामा बनाई काम गर्न सुरु गरिसकेको थियो।  गत बैशाख महिनादेखि प्रदेश प्रहरी कार्यालयले आलमलाई पछ्याइरहेको थियो।  

गत जेठ ८ मा आलम रौतहटको राजपुर नगरपालिका वडा नम्बर ४ स्थित घरमा आएको सूचना प्रहरीले प्राप्त गरेको थियो र त्यही सूचनाको आधारमा बाराको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख डिएसपी गोविन्द पुरीको कमान्डमा आलमको घरमा छापा मारेको थियो।  आलमको घरलाई प्रहरीले चारैतिरबाट घेरेको गाउँले थाहा पाएपछि प्रहरीमाथि पनि ढुंगामुढा प्रहार भएको थियो।  एक सय पचास प्रहरी परिचालन गर्दै छापामारी गरेको प्रहरीले कम्तीमा १७ राउन्ड गोली हवाई फायर गर्नु परेको थियो।  

आलमलाई पक्राउ गर्न प्रहरीले नयाँ किसिमले योजना बनाउनु परेको थियो।  भारतको मुम्बईमा आलम भएको सूचना आएपछि प्रदेश प्रहरी कार्यालयको एक टोली मुम्बईमा पनि १५ दिन रहेर खोजी गरेको थियो।  त्यसैबीच भारत बिहारको शिवहरस्थित महम्मद आफताब आलमको सम्धि तथा विधायकसमेत रहेका महम्मद सफरुदीनको घरमा रहेको सूचना आएपछि प्रहरी शिवहरमा पनि परिचालन भएको थियो।  सम्धीको घरबाट पक्राउ गर्न सम्भव नभएको र आलम गाउँबाहिर निस्कनासाथ पक्राउ गर्ने योजना रहेकोमा १५ दिनसम्म प्रहरी शिवहरमा रहेको थियो तर योजना सफल हुन नसकेको थिएन।  

आलमलाई पछ्याइरहेको प्रहरीले बिहारकै मोतिहारीस्थित ब्लु डायमन्ड होटलबाट सोमवार पक्राउ गर्न सफल भएको थियो।  हतियारधारी अंगरक्षक र सहयोगीका साथमा रहेका आलमलाई प्रहरीले पक्राउ गरेपछि हतियारसहित अंगरक्षक र सहयोगीलाई भारतीय प्रहरीले आफूसित राखी आलमलाई नेपालतिर सुरक्षित ल्याउन सहयोग गरेको थियो।  

आलमलाई पक्राउ गर्नु अघि प्रहरीले गत जेठ १४ गते इँटा उद्योगका मजदुर मुक्ति साह, असार १८ गते लास ओसार्ने ट्रयाक्टर चालक शेख सेराज, असोज १६ गते इँटा उद्योगका मुन्सी बद्री सहनीलाई पक्राउ गरेको थियो।  पक्राउ परेका बद्री सहनी र मुक्ति साहलाई अदालतले तारेखमा रिहा गरेको छ भने शेख सेराज पुर्पक्षका लागि कारागारमा रहेका छन्।  

प्रदेश प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहले आलमलाई पक्राउ गर्नु चुनौतीपूर्ण रहेको भए पनि सबै चुनौतीको सामना गर्दै राजपुर बम कान्डका मुख्य योजनाकारई पक्राउ गर्न सफल भएको र अन्य आरोपीलाई पनि पक्राउ गरिने बताएका छन्।  

यसैबीच पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलवार अदालतमा पेश गरेको छ भने भोली पेश गर्ने गरी अदालतले फिर्ता पठाएको रौतहट प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले जानकारी गराएका छन्।  आलमको स्वाब संकलन गरी जाँच गराएका तथा राजपुर बम कान्डका अन्य आरोपिलाई पनि प्रदेश प्रहरी कार्यालयको समन्वयमा पक्राउ गरिने एसपी शाहको भनाइ छ।    

 

प्रकाशित: २३ मंसिर २०७७ १३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App