८ वैशाख २०८१ शनिबार
समाज

महिलाले नि ठूलो बस चलाउन सक्छन् र !

महिलाले पनि ठूलो बस चलाएको! देख्नेहरू अचम्म मान्छन्।  उनको बसमा चढ्ने यात्रु उनले ‘स्टयेरिङ’ घुमाएको हेरिरहन्छन्।  

उनको बस देख्नासाथ अधिकतर यात्रु यसो भन्छन्, ‘महिलाले चलाएको बस रहेछ यसैमा चढ्नुपर्छ।’  

‘हातमा सीप भएपछि पुरुषले मात्रै चलाउनुपर्छ भन्ने छ र,’ उनी भन्छिन्, ‘मलाई त सानो गाडीभन्दा ठूलो गाडी चलाउन सजिलो लाग्छ।’

‘हेभी’ गाडी पुरुषले मात्र चलाएको देख्नेहरूलाई महिलाले ‘मयुर यातायात’ चलाएको देख्दा नौलो लाग्ने नै भयो। तर छविता थापा मगरका लागि भने यो कुनै नौलो र अचम्मको काम होइन। उनले ‘स्टयेरिङ’ समातेको १० वर्ष भयो ।   

‘महिलाले पनि यति ठूलो बस चलाउन सक्छन् र भन्ने धेरैलाई लाग्छ, तर हातमा सीप भएपछि पुरुषले मात्रै चलाउनुपर्छ भन्ने छ र,’ उनी भन्छिन्, ‘मलाई त सानो गाडीभन्दा ठूलो गाडी चलाउन सजिलो लाग्छ।’

काठमाडौं उपत्यकामा मयुर यातायात चलाउने एक मात्र महिला चालकका रूपमा उनले काम गर्न थालेको २ वर्ष भयो। यसभन्दा पहिले उनले ट्याक्सी, माइक्रो, टेम्पोजस्ता साना गाडी मात्र चलाएकी थिइन्।  

साना गाडी चलाउँदै गर्दा ठूलो बस चलाउन महिला चालक खोजेको उनले थाहा पाइन्। अनि दरखास्त हालिन्। नभन्दै उनले लिखित तथा प्रयोगात्मक दुवै परीक्षा पास गरिन्। त्यसपछि मयुर यातायातले चालकको जागिर दियो।  

एक दिन कलंकीमा गाडी चलाउँदै थिएँ। एक जना ट्राफिक प्रहरी दौडिँदै आएर तपाईंको ‘लाइसेन्स’ छ भनेर सोधे। मैले लाइसेन्स नभए गाडी दिन्छन् त भनेर जवाफ दिएँ।

‘पहिले–पहिले त मैले स्टेरिङ समातेर बसिरहँदा गाडी चढ्न लागेका यात्रुले पत्याउँदैन थिए, एकछिनका लागि त्यसै चालकको सिटमा बसेको होला भन्ठान्थे,’ उनले सुनाइन्, ‘तर स्टेरिङ घुमाएर गाडी चलाउन थालेपछि दंग पर्थे।’  

त्यसो त उनले ठूलो बस चलाएको देखेर अचम्म मान्ने मानिस अहिले पनि उत्तिकै छन्। कतिपय यात्रुले यत्रो बस कसरी चलाउन सक्नुभयो भनेर जिज्ञासा पनि राख्ने गरेका छन्।  

’एक दिन धुलीखेल जान लागेको थिएँ ।  एक जना ट्राफिक प्रहरी दौडिँदै आएर तपाईंको ‘लाइसेन्स’ छ भनेर सोधे। मैले लाइसेन्स नभए गाडी दिन्छन् त भनेर जवाफ दिएँ’,उनी भन्छिन्, ‘महिलाले ठूला गाडी चलाउन सक्दैनन् भन्ने धेरैलाई लाग्छ। महिलाले पनि गर्न सक्छन् भन्ने सोच अझै बदलिएको छैन। अहिले धेरै महिलाले ठूला गाडी चलाउन थालेका छन्।’

सुर्खेत स्थायी घर भएकी छविता कलंकी, कोटेश्वर, बनेपा धुलीखेल र  पनौतीको रुटमा बस चलाउँछिन्। हुन त ड्राइभिङ पेसालाई असुरक्षित मानिन्छ। बाहिरबाट झट्टा हेर्दा महिलाका लागि त झनै असुरक्षित ठानिन्छ।

‘मैले त सुरक्षितै महसुस गरेकी छु। समाजले सोचेजस्तो असुरक्षित छैन, सबैभन्दा ठूलो आत्मबल हो,’ उनी भन्छिन्, ‘महिलाले चलाएको गाडी बढी सुरक्षित पनि मानिन्छ।’

‘साना गाडी चलाइरहनुभएका दिदीबहिनीहरूलाई म मैलेजस्तै ठूला गाडी चलाउन आउनुस् भन्छु।’

यो क्षेत्र आफैंमा नराम्रो नभएको उनी बताउँछिन्। अन्य महिलालाई पनि उनी गाडी चलाउने काममा लाग्न सुझाव दिन्छिन्। आफ्नो हातमा सीप छ भने कुनै पनि काम गर्न पछि हट्न नहुने उनको तर्क छ।

‘यो क्षेत्रमा आउन चाहने महिला दिदीबहिनीहरूलाई सिक्नुस्, लाइसेन्स पास गर्नुस्। आँट गर्नुस्, सम्भव छ। एकैपटक सम्भव केही पनि हुँदैन,’ उनी भन्छिन्, ‘साना गाडी चलाइरहनुभएका दिदीबहिनीहरूलाई म मैलेजस्तै ठूला गाडी चलाउन आउनुस् भन्छु।’

कोरोना महामारीले गर्दा अहिले यात्रु पर्याप्त नहुने उनी बताउँछिन्। ‘कोरोना त्रासले धेरै मानिसहरू गाडी चढ्न आउँदैनन्। कहिले त खाली गाडी चलाउनुपर्छ,’ छविता भन्छिन्, ‘अब बिस्तारै स्थिति सामान्य हुन्छ होला। आफूले यात्रुहरूलाई सक्दो सुरक्षित रहेर चढ्न आग्रह गर्छु।’  

प्रकाशित: २३ मंसिर २०७७ ०९:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App