४ वैशाख २०८१ मंगलबार
समाज

महामारीमा सबैभन्दा बढी हिंसामा दलित महिला र बालबालिका : प्रतिवेदन

कोरोना महामारीका बेला सबैभन्दा बढी हिंसामा दलित समुदायका महिला तथा बालबालिका परेको एक अध्ययनले देखाएको छ।  

दलित महिला संघले गरेको अध्ययनले मुलुकभर भएका बलात्कार घटनामा ८० प्रतिशतभन्दा बढी दलित महिला तथा बालिका पीडित देखिएका हुन्।  

संघले आइतबार सार्वजनिक गरेको ‘दलित महिला र बालबालिकामाथि भएको हिंसा र विभेदसम्बन्धी अध्ययन तथा विश्लेषण प्रतिवदेन’ले उनीहरूविरुद्ध यौन, छुवाछुत र अन्य हिंसा भएको देखाएको हो।  

दलित समुदायविरुद्ध भएका हिंसामध्ये ६२ प्रतिशत बलात्कार तथा यौनसम्बन्धी भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार महामारी अवधिमा दलित महिला तथा बालबालिकाविरुद्ध ४ सय ४७ वटा बलात्कार तथा यौन हिंसा भएका छन्। यस्तै जातीय विभेद तथा छुवाछुतजन्य हिंसा १ सय ६२ वटा भएका छन्। यस्तै भौतिक आक्रमणका ७२, हत्याका २५, बलात्कारपछि हत्याका ७, बोक्सी आरोपमा कुटपिट ३ वटा घटना भएका छन्।  

त्यसमा पनि सबैभन्दा बढी प्रदेश २ का दलित महिला तथा बालबालिकाविरुद्ध बढी हिंसा भएको प्रतिवेदनमा उल्लेख छ। यो प्रदेशमा बलात्कार तथा यौन हिंसाका घटना मात्र १ सय ९६ वटा भएका छन् अर्थात् ४३.१७ प्रतिशत घटना यही प्रदेशमा भएका हुन्। जसमा ३१ वटा भौतिक आक्रमण तथा ५२ वटा जातीय विभेद तथा छुवाछुतका घटना छन्।  

यसपछि महामारी अवधिमा देशभरमा बागमती प्रदेशमा दलित महिलाविरुद्ध  हिंसा भएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार बागमती प्रदेशमा ३८ वटा जातीय विभेद, १८ वटा बलात्कार तथा ६ वटा भौतिक आक्रमणका घटना भएका छन्। 

त्यसैगरी गण्डकी प्रदेशमा ४१ वटा बलात्कार, १७ वटा जातीय छुवाछुत र ११ वटा भौतिक आक्रमणका घटना भएका छन्।

यस्तै महामारी अवधिमा सुदूरपश्चिम प्रदेशमा दलित महिला तथा बालबालिकाविरुद्ध २३ वटा बलात्कार, ११ वटा जातीय विभेद र ७ वटा भौतिक आक्रमणका घटना भएका छन्।  

हिंसाका घटनामध्ये अत्यन्त कम मात्र प्रहरीसम्म पुगेको र तीमध्ये पनि कमले मात्र न्याय पाएको दलित महिला संघको प्रतिवेदनले जनाएको छ।  

नेपाल प्रहरीका अनुसार चैतयता मात्र १ हजार ६ सय २९ वटा यौन हिंसा तथा बलात्कारका घटना भएका छन्। यस्तै ६ हजार ४ सय ५३ वटा घरेलु हिंसा तथा ४ सय ८३ वटा बलात्कार प्रयासका घटना छन्।

दलित महिला अधिकारकर्मी दुर्गा सोबले न्यायिक निकाय तथा प्रहरी प्रशासनको असहयोगका कारण दलित महिलाविरुद्ध हिंसा नरोकिएको आरोप लगाइन्। यस्तै दलित नेता गणेश बिकेले समाजको चिन्तनमा परिवर्तन नआउँदा दलित हिंसाले प्रश्रय पाएको बताए।  

प्रतिवेदन सार्वजनिक समारोहलाई सम्बोधन गर्दै महिला तथा बालबालिका निर्देशनालयकी एसएसपी दुर्गासिंह चन्दले नेपालमा हुने महिला हिंसाका घटनामध्ये दलित महिला बढी प्रताडित भएको बताइन्। साथै हिंसा न्यूनीकरणका लागि नेपाल प्रहरी प्रयासरत रहेको दाबी गरिन्।  

एसएसपी चन्दले पछिल्लो समय महिलामा आएको सचेतनाका कारण उजुरी गर्ने चलनले पनि बलात्कार तथा अन्य हिंसाका घटना सार्वजनिक हुन थालेको बताइन्। यस्ता घटना हुन नदिन हरेक नागरिकले प्रहरी सरहको भूमिका निर्वाह गर्न आवश्यक रहेको पनि उनले बताइन्।  

‘हिंसाका घटनामा चुप लाग्ने चलनले हिंसालाई प्रश्रय दिन्छ, हरेक नागरिकले चुप लागेर नबस्ने र बिनाबर्दीको प्रहरीको भूमिका निर्वाह गर्न आवश्यक छ,’ उनले भनिन्।

यस्तै दलित गैरसरकारी महासंघका अध्यक्ष भक्त विश्वकर्माले प्रहरीबाटै घटना लुकाउने प्रवृत्तिले पीडित दलितले न्याय पाउन नसकेको आरोप लगाए।  

‘कुनै दलित महिला तथा बालिका बलात्कृत भइन् भने उजुरी लिनै मान्दैनन्, यस्तो प्रवृत्तिले पीडकले उन्मुक्ति पाइरहेका छन्,’ उनले भने।  

प्रकाशित: २३ मंसिर २०७७ ०८:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App