२३ फाल्गुन २०७७ आइतबार
समाज

अवैध हतियारले मधेसमा बढ्दै अपराध

भदौ ३ गते रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहमाथि खाना खाँदै गर्दा गोली प्रहार भयो। गोली लागेर ढलेका उनी अस्पताल पु-याउनेबित्तिकै मृत घोषित भए। गाउँमा विभिन्न विषयमा छलफल हुँदा उनी फरक मत राख्थे, नाजायज कामको विरोध गर्थे। सोही क्रममा देवाही गोनाही नगरपालिका–१ करुनियाका ३६ वर्षीय रामनरेश राउत पटेलसँग उनको सामान्य विवाद भएको थियो। रामनरेशका बुवाले पुजारीसँग केही रकम ब्याजमा लिएका थिए। उक्त रकमलाई लिएर पनि विवाद उत्पन्न भएको थियो।

लेनदेनको विषयमा भएको सामान्य विवादमा नरेशले आफूसँग भएको अवैध हतियार पुजारीमाथि प्रहार गरे। त्यसपछि फरार रामनरेशलाई आफ्ना सहयोगीसहित प्रहरीले पक्राउ गरी नलकटुवा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरेको थियो। कात्तिक २६ गते रौतहटको माधवनारायण नगरपालिका–७ की १७ वर्षीया अमृताकुमारी साहमाथि पेस्तोल प्रहार भयो। साहमाथि गोली हानेर फरार भएका आरेपितहरूलाई प्रहरीले पक्राउ गरी कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरेको थियो। त्यस्तै असोज २९ गते पर्साको ठोरी गाउँपालिकाको विजय बस्तीस्थित ओरिया खोलाको बगरमा बन्दुकधारी समूहले प्रहरीलाई ताकेर गोली चलाए। प्रहरीले सावधानी अपनाएका कारण मानवीय क्षति हुन पाएन। अवैध भरुवा बन्दुक, त्यसमा प्रयोग हुने चार राउन्ड गोली र एक थान खुकुरीसहित प्रहरीले चारजनालाई पक्राउ गरेका थिए।

ससाना विवाद, रिसइबीदेखि छलफल क्रममा पनि पेस्तोल देखाउने र गोली प्रहार गर्ने घटना मधेसमा नौलो होइन। अवैध हतियारको बिगबिगीका कारण कोर मधेस (प्रदेश २) मा हत्याहिंसाका घटना बढ्दो छ। सामान्य झगडा र लेनदेन विवादमा अवैध हतियार प्रहार गर्ने र ज्यानै लिनेसम्मका घटनामा कटुवादेखि ‘स्वचालित’ पेस्तोलसम्म प्रयोग भएको पाइन्छ। प्रदेश २ का आठवटै जिल्ला भारतसँग जोडिएका छन्। खुला सीमाका कारण वारिपारिको उठबस र सम्बन्धले आपराधिक गतिविधिलाई पनि मलजल गरेको प्रहरी अधिकारीहरू बताउँछन्। प्रहरीले बेलाबेला बरामद गरेका साना हतियार सीमापारि भारतबाट भित्र्याएको पाइएको छ।

तत्कालीन माओवादीको सशस्त्र युद्धका बेलादेखि मधेसमा अवैध हतियारको बढी त्रास फैलिएको हो। सो युद्ध शान्ति प्रक्रियामार्फत अवतरण भएर देशमा एक हदसम्म शान्ति त फैलियो तर मधेसमा अरू धेरै सशस्त्र समूह जन्मिए।

प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार प्रदेशका आठ जिल्लामा आर्थिक वर्ष २०७५÷७६ मा ४५ थान अवैध हतियार बरामद भएका थिए। त्यसमा संलग्न ५७ जना पक्राउ परेका थिए। आर्थिक वर्ष २०७६÷७७ मा ४० वटा मुद्दा दर्ता भएका छन्। आव २०७७÷७८ कात्तिकसम्म १० वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी कृष्ण प्रसाइँले बताए। कात्तिक १२ गते सिरहाको बन्दीपुरबाट कटुवा पेस्तोलसहित कर्जन्हा नगरपालिका–२ का २२ वर्षीय डिम्पल यादव र प्रेमनाथ यादव पक्राउ परे। शंकास्पद रूपमा हिँडिरहेका यादवलाई जाँच गर्दा उनका साथबाट कटुवा पेस्तोल बरामद भएको थियो। पेस्तोलसहित पक्राउ परेका यादवद्वय सिरहाको मिर्चैैया प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

कात्तिक ५ गते बारा प्रहरीबाट भारत बिहारको पूर्वी चम्पारण दुधिअवाका २८ वर्षीय वृजकिशोर कुशवाहा एक थान अमेरिकी पेस्ताल, चार राउन्ड लोडेड म्यागजिनसहित पक्राउ परे। प्रहरीले सानाठूला हतियार बरामद गरिरहे पनि मधेसमा अवैध हतियार प्रयोगबाट आपराधिक क्रियाकलाप पूर्ण रूपमा रोकिएको छैन। तराई–मधेसमा लामो समय काम गरेका प्रहरी अधिकारीहरूका अनुसार अवैध हतियार नियन्त्रणमा नेपाल–भारत खुला सीमा मुख्य चुनौती हो। नेपाली–भारतीय अपराधीहरूबीच रहेको सञ्जालका कारण साना हतियार नियन्त्रण सीमावर्ती जिल्लाहरूमा चुनौतीपूर्ण बनेको छ। पारिका अपराधीबाट वारिकाले स्वचालित र अर्धस्वचालित हतियार भाडामा ल्याएर समेत ‘कन्ट्रयाक्ट किलर’ (भाडाका हत्यारा) को धन्दा गरेको पाइएको छ।

रौतहटको परोहा नगरपालिका–४ का छोटेलाल साह, देवाही गोनाही–२ लक्ष्मीनियाका कैमुल देबान हत्याका लागि कन्ट्र्याक्ट लिएको खुलेको छ। उनीहरूले अढाइ लाख रुपैयाँ लिएर रौतहटकै माधवनारायण नगरपालिका–७ लौकाहाकी अमृता साहको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। यो घटनापूर्व पनि दुवैका थुप्रै आपराधिक रेकर्ड रहेको रौतहट प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए। ‘हतियार तथा खरखजाना, ज्यान मार्ने उद्योग कसुरको अभिलेख त यसै प्रहरी कार्यालयमा छ,’ एसपी शाहले नागरिकसँग भने, ‘पहिलाका आपराधिक व्यक्तिलाई यस घटनामा पैसा दिएर प्रयोग गरिएको छ।’ कानुनी फन्दामा पर्छु भन्ने थाहा हुँदाहुँदै पनि क्षणिक लाभका लागि उनीहरूले हत्याको जिम्मेवारी लिइरहेका छन्,’ उनले भने, ‘यो घटनाले समाजमा डरलाग्दो अपराधको संकेत गरेको छ।’ यो सामाजिक सुरक्षाका हिसाबले ठूलो चुनौती हो। सहज तरिकाबाट पैसा आर्जन गर्ने सोच बनाएका बेरोजगारहरू हत्याको सुपारी लिन अगाडि सरेका छन्।’

यहाँको समाजमा एउटा प्रवृत्ति के देखिएको छ भने घरमा अवैध हतियार राख्दा त्यस्तो हतियार राख्नेले छरछिमेकमा गर्व अनुभव गर्छन्। मान्छे मार्नभन्दा पनि तर्साउन अवैध हतियार घरमा लुकाएर राख्ने गरेको उनीहरूको भनाइ छ। लुकाउन सजिलो भएकाले साना अवैध हतियार नियन्त्रण उति सजिलो नभएको प्रहरी अधिकारीहरू बताउँछन्। मधेसको घरघरमा साना अवैध हतियार खानतलासी गर्न कानुनी झन्झट रहेको उनीहरू बताउँछन्। मधेसमा सशस्त्र समूहको बिगबिगी भएका बेलाजस्तो अहिले त्यति भयावह अवस्था छैन तर चुनौती पनि कम छैन।

प्रहरीको सक्रियाताले हतियार र हतियारधारी व्यक्ति पक्राउ पर्ने क्रम बढेको प्रदेश प्रहरी प्रवक्ता एसपी कृष्ण प्रसाइँले बताए। ‘अवैध हतियार राखेको हुन सक्ने व्यक्ति र स्थानमा खोजी अभियान जारी छ।’ तर आपराधिक सूचना संयन्त्र अपेक्षित सबल नहुँदा पूर्ण सफलता पाउन कठिनाइ भइरहेको प्रहरीको भनाइ छ।

सधैं अवैध हतियारकै त्रास
तत्कालीन माओवादीको सशस्त्र युद्धका बेलादेखि मधेसमा अवैध हतियारको बढी त्रास फैलिएको हो। सो युद्ध शान्ति प्रक्रियामार्फत अवतरण भएर देशमा एक हदसम्म शान्ति त फैलियो तर मधेसमा अरू धेरै सशस्त्र समूह जन्मिए। माओवादीबाट विद्रोह गरेर २०६१ साउन १० जयकृष्ण गोइतले जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक सशस्त्र संगठन सञ्चालन गरेपछि मधेसमा पुनः अवैध हतियारको त्रास सुरु भयो। मधेस र मधेसीको मुक्तिका लागि भन्दै उनको संगठनले तराई–मधेसमा सशस्त्र संघर्षको शंखनाद गरेलगतै ज्वाला सिंह उनीबाट अलग्गिए।

गोइतसँगको विवाद र मतभेदका कारण मोर्चा स्थापनाको दुई वर्षमै दुई चिरा भयो। ज्वाला सिंहले आफ्नै नेतृत्वमा फेरि जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक सशस्त्र समूह सञ्चालन गरे। त्यसपछि त जनतान्त्रिकको नाम यति चल्यो कि यो नामबाट दर्जनौं समूह बाहिर आए, सप्तरीको बुढो बाजेको पेडा पसलजस्तै। जनतान्त्रिकका नामबाट अपहरण, चन्दा, फिरौती, व्यक्ति हत्या यति बढ्यो कि मधेसका गाउँघरबाट मधेसी नै पलायन हुन थाले। मधेस मुक्तिका लागि भनिएको त्यो सशस्त्र संघर्षलाई अवैध हतियारको आडमा कमाइको माध्यम बनाइयो। तर समयान्तरमा सशस्त्र समूहको गतिविधि मधेसमा बन्द भएको छ तर अवैध हतियारको त्रास भने घटेको छैन। सशस्त्र समूहले चलाएको हतियार धन्दाको बाछिटा मधेसी समाज हतियारको त्रासमा बाच्न बाध्य छन्।

प्रकाशित: २० मंसिर २०७७ ०७:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App