८ वैशाख २०८१ शनिबार
समाज

धेरै फलाउने किसानलाई गाउँपालिकाको पुरस्कार

मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बाका पासाङ लावती कोरोना कहरका कारण बैदेशिक रोजागारी (साउदी)बाट फर्किए। एकातर्फ कोरोना कहर, अर्कोतर्फ गाउँ गएर के गर्ने भन्ने चिन्तासरी भएर उनी गाउँ आइपुगेका थिए। जब गाउँ आए, उनले सुने ४० मुरीभन्दा धेरै धान फलाउने किसानलाई गाउँपालिकाले पुरस्कृत गर्छ, त्यो पनि एक लाख रुपैयाँसहित।

धान खेतीका लागि आफ्नै जग्गा थियो नै। मेहनत गरेर धान खेती गरे। गाउँपालिकाले भनेझै मापदण्ड पुर्‍याएर लावतीले वार्डमा निवेदन दिए। गाउँपालिकाका प्रतिनिधिसहित धानको दाई गर्दा उनको खेतमा ४५ मुरी १० पाथी धान फलेको पाइयो। ‘धान पनि आफ्नै भयो। पैसा पनि पाईने भयो’ लावतीले भने ‘कार्यक्रम गरेर पैसासहित पुरस्कृत गर्ने भन्नु भएको छ। अब त विदेश नजाने, गाउँमै खेती किसान गर्छु।’

लावतीजस्तै धेरै धान, मकै फलाउने किसान गाउँपालिकाबाट १ लाख रुपैयाँसहित सम्मानीत हुने भएपछि खुसी देखिमात्र छैनन्, कृषिमा पनि केहि गर्ने हौसला मिलेको बताउँछन्। पुस्तौदेखि खेती किसानी गर्दै आएका दुर्दिम्बाका मनबहादुर गौतम पनि कम खुसी छैनन्। उनले मकै खेतीमा पुरस्कार पाउदैछन्। ‘खेतीपाती गरेर बुढेसकाल लाग्यो। यसपालि त आफ्नै बाली फलाउँदा पनि पैसा पाइने भयो’ गौतम भन्छन्, ‘किसानको पनि सरकार हुदो रहेछ।’ यसरी खुसी हुनेको संख्या ठूलो छ।

मिक्लाजुङ गाउँपालिकाले धेरै उत्पादन गर्ने किसानलाई पुरस्कृत गर्ने नीति लिएको थियो। धान, मकै र आलुमा यो नीति लिएको हो। ‘कोरोना भाइरसका कारण भएको लकडाउनले गाउँसम्म समस्या ल्यायो। गाउँमै उत्पादन बढाउनु पर्छ भन्ने लागेर किसान प्रोत्सहन गर्ने नीति अघि सारेका थियौँ’ गाउँपालिका प्रमुख अमरराज माखिमले भने ‘४० मुरी भन्दा धेरै धान फलाउने, ४ फुट उचाई २० फुटको लम्बाई भएको थाङ्ग्रा हुने मकै उत्पादन गर्ने किसानलाई १ लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिने निर्णय गरीएको थियो। यस्तै, ३५ मन भन्दा बढी आलु फलाउनेलाई प्रतिकेजी २० रुपैयाँ अनुदान दिने निर्णय गरेका छौँ।’

आलुमा यस अघिनै अनुदान दिईसकेको छ। १७ लाख रुपैयाँ अनुदान दिइएको बताइएको छ। धान र मकैको विवरण संकलन भईरहेको गाउँपालिकाले जानकारी दिएको छ। निवेदनका आधारमा किसानका घर तथा खेतमै पुगेर मूल्याङ्कन गरिएको हो। केहि दिनमा विवरण संकलन भईसक्ने गाउँपालिकाका लेखा शाख प्रमुख दिपेन्द्र चेम्जोङले जानकारी दिए। यो कार्यक्रमलाई निरन्तरता दिँदै सबैखाले किसानलाई उत्पादनका लागि प्रोत्साहन हुने गरी कार्यक्रम अघि सारिने माखिमले बताए। गाउँपालिका केन्द्र रवि बजारमा आयोजित एक कार्यक्रममा धेरै उत्पादन गर्ने केहि प्रतिनिधि किसानलाई सम्मान गरीएको थियो। 

१ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले उनीहरुलाई सम्मान गरेका थिए। ‘नजिकको सरकारले किसानलाई यसरी प्रोत्साहन गर्नु अत्यन्त सराहनीय काम हो। कृषिको आधुनिकिकरण तथा व्यवसायीकरण विना समृद्धि आउन सक्दैन’ मन्त्री आङ्बोले भने ‘सबै स्थानीय सरकारले यस तर्फ ध्यान दिनु पर्छ। प्रदेशको प्राथमिकतमा पनि कृषि रहेको छ।’ हिउँदे अधिवेशनमा सबै किसानलाई पुरस्कृत गरीने माखिमले जानकारी दिए।

प्रकाशित: १८ मंसिर २०७७ १२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App