८ वैशाख २०८१ शनिबार
समाज

बाँकेको अतिदुर्गम सीमा क्षेत्र महेशपुरमा सशस्त्रको बिओपी राख्ने तयारी

सशस्त्र प्रहरी बलको बिओपी भवन शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष लाहुराम थारु । तस्बिर : नागरिक

बाँकेस्थित नेपाल–भारत सीमा अन्तर्गत पर्ने राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ को महेशपुरमा सशस्त्र प्रहरी बलको बिओपी स्थापना गर्ने तयारी गरिएको छ। उक्त बिओपीका लागि बुधबार एक कार्यक्रमका बीच भवन शिलान्यास गरिएको छ।  

राप्तीसोनारी गाउँपालिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथी लाहुराम थारुले भवन शिलान्यास गरेका हुन्। सो क्रममा गाउँपालिका अध्यक्ष लाहुराम थारु, सशस्त्र प्रहरी बल सम्शेरगन्जका डिएसपी जनकराज पन्त, वडा नम्बर ४ का वडाध्यक्ष कान्छा थारु, वडा नम्बर ८ का वडाध्यक्ष खुमबहादुर बस्नेत, गाउँपालिकाका लेखा अधिकृत गौरब लामिछाने लगायतले अहिलेसम्म सीमा क्षेत्रमा बसेका नेपाली नागरिकले सीमा स्तम्भको सुरक्षा गर्दै आएकोमा अब सुरक्षाकर्मीसँग मिलेर सीमा सुरक्षा गर्नुपर्ने बताए।  

सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरु आफ्नो राष्ट्र र राष्ट्रियता प्रति बफादार रहेको उनीहरुको भनाइ थियो। भवन निर्माणको काम छिट्टै सम्पन्न हुने र उक्त भवनलाई सशस्त्र प्रहरी बलले प्रयोग गर्ने डिएसपी पन्तले जानकारी दिए। ‘भवन निर्माणको काम सम्पन्न भए लगत्तै चाडै हाम्रो बिओपीले यहाँ बसेर काम सुरु गर्छ,’ उनले भने। महेशपुरमा बिओपी राख्नका लागि करिव दुई महिनाअघि सर्बपक्षीय टोली स्थलगत निरीक्षणका लागि पुगेको थियो। उक्त ठाउँ बाँकेको अति दुर्गम क्षेत्रका रुपमा चिनिन्छ।  

तत्कालिन माओवादी सशस्त्र द्वन्द्वका क्रममा रोल्पा, रुकुम, सल्यान लगायत विभिन्न जिल्लाबाट विस्थापित भएर आएका ब्यक्तिको बसोबास रहेको छ। नयाँबस्तीका रुपमा चिनिने सिमावर्ती त्यसक्षेत्रमा करिव आधा दर्जन बढी गाउँ रहेका छन्, भने ती गाउँको कुल घरधुरी संख्या १ सय ७० रहेको बताइएको छ। उक्त ठाउँमा नेपाली सुरक्षाकर्मीको उपस्थिती नै नहुँदा भारतीय पक्षबाट सीमा अतिक्रमण हुने उच्च जोखिम छ। नेपाली मोबाइल कम्पनीको टावरले त्यसक्षेत्रमा काम नगर्दा नेपाली नागरिकहरु भारतीय फोनमा निर्भर छन्।

प्रकाशित: १७ मंसिर २०७७ १३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App