७ वैशाख २०८१ शुक्रबार
समाज

भक्तपुरको रानीपोखरी काठमाडौंको रानीपोखरी भन्दा ४० वर्ष पुरानो

प्रतिवेदन हस्तान्तरण गर्दै ।

भक्तपुरको सल्लाघारीस्थित रानीपोखरी काठमाडौंको रानीपोखरी भन्दा ४० वर्ष अगाडि बनेको सार्वजनिक गरिएको छ। भक्तपुरको रानीपोखरी अध्ययन समिति कार्यदलका संयोजक प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले कान्तिपुरको रानीपोखरी निर्माणभन्दा ४० वर्ष अगाडि बनेको भक्तपुरको रानीपोखरीको पुरातात्विक नाम ‘न्हु पुखु’ रहेको सार्वजनिक गरेका हुन्। रानीपोखरीको ऐतिहासिक महत्वमाथि प्रष्ट पार्दै प्रा.डा. श्रेष्ठले पाँच महिनाको छोटो समयावधिमा भक्तपुरको रानीपोखरीको निर्माण भएको इतिहास त्यहाँ अवस्थित शिलालेखहरूबाट थाहा हुन आएको बताए।

भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरी पुनर्निर्माणसम्बन्धी रानीपोखरी अध्ययन समितिद्वारा तयार गरिएको प्रतिवेदन बुधबार एक समारोहबीच हस्तान्तरण गर्दै उनले ऐतिहासिक पोखरीको संरक्षण आवश्यक रहेको बताए। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई उनले यो प्रतिवेदन हस्तान्तरण गरेका हुन्।  

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रजापतिले भक्तपुरका सम्पदाहरूको ऐतिहासिक दस्ताबेजीकरण गर्ने ढंगले सम्पदाहरु पुनर्निर्माण तथा जीर्णोद्वार कार्यलाई तीव्रता दिइरहेको बताए। भक्तपुर नपाले नेपाली सेनासँग समन्वय र सहकार्य गर्दै भक्तपुरको ऐतिहासिक रानीपोखरी पुनर्निर्माणलगायत सार्वजनिक सम्पत्तिहरू संरक्षणको कार्यलाई अगाडि बढाइरहेको बताउँदै नगर प्रमुख प्रजापतिले काठमाडौंको रानीपोखरी पुनर्निर्माणमा पनि भक्तपुर नपाले प्राविधिक तथा आवश्यक कालीगढहरू सहयोग गरेको स्मरण गरे।

भक्तपुरमा अवस्थित सार्वजनिक सम्पत्ति संरक्षणको निम्ति नगरपालिकाले सम्बन्धित निकायहरूमा निरन्तर पहल गरिरहेको बताउँदै प्रमुख प्रजापतिले भक्तपुरको सार्वजनिक सम्पत्तिहरू जनताको साझा सम्पत्तिको रुपमा ग्रहण गर्ने उद्देश्यले नगरपालिका अगाडि बढिरहेको बताए।

उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिमा २०७४ सालको स्थानीय तहको निर्वाचन पश्चात् जनप्रतिनिधि बहालीपश्चात् लामो समयदेखि जीर्ण रहेको भक्तपुरको रानीपोखरीको संरक्षण गरी पुनर्निर्माण कार्यलाई अगाडि बढाएको बताइन्। रानीपोखरी पुनर्निर्माणका क्रममा विभिन्न अध्ययन अनुसन्धानहरू भएको र सोबाट नयाँ तथ्य र प्रमाणहरूसमेत प्राप्त भएको बताउँदै उनले रानीपोखरी अध्ययन समिति कार्यदलप्रति धन्यवाद ज्ञापन गरिन्।

पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्कीले काठमाडौं उपत्यकाका सम्पदाहरू बिस्तारै म्हासिँदै र हराउँदै गएको समयमा भक्तपुर नगरपालिकाले यहाँका मूर्त अमूर्त सम्पदालाई मौलिक शैलीमा पुनर्निर्माण गर्ने कार्य प्रशंसनीय भएको बताए। उनले सम्पदा पुनर्निर्माण र जीर्णोद्धार गर्ने क्रममा त्यसको मौलिक स्वरुप कायम गर्नु महत्वपूर्ण भएको बताउँदै उपत्यकाका पोखरीहरूबारे अध्ययन अनुसन्धान गर्नुपर्ने र पोखरी वरिपरिको सौन्दर्य वातावरणमैत्री हुने ढंगले निर्माण गरिनुपर्ने आवश्यकता औंल्याए। भक्तपुर नगरपालिका सम्पदा शाखाका आर्किटेक्ट सरिता धुख्वाले ऐतिहासिक रानीपोखरीबारे थ्रीडी प्रस्तुतीकरण देखाइन्।

प्रकाशित: १७ मंसिर २०७७ १२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App