१६ चैत्र २०८० शुक्रबार
समाज

हत्या गरी रुखमा बाँधिएको अवस्थामा महिलाको शव फेला

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला कपिलवस्तुमा एक महिलाको बिभत्स हत्या गरिएको छ। कृष्णनगर नगरपालिका वडा नम्बर ४ स्थित सिमावर्ती क्षेत्र शिर्शिहवा गाउँको बगैचामा हत्या गरी रुखमा बाँधिएको अवस्थामा महिलाको शव फेला परेको हो। मंगलबार साँझ ६ बजेतिर स्थानीय नोहर बानियाको आँपको बगैचामा रुखमुनी हत्या गरी राखिएको अवस्थामा महिला मृत अवस्थामा भेटिएको प्रहरी प्रबक्ता तथा प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीले बताए।  

महिलाको हत्या भएको र बुधबार साँझसम्म पनि शवको पहिचान नखुलेको उनले बताए। अन्दाजी २२ वर्षीया महिलाको शव फेला परेको हो। रुखको फेदमा बायाँ खुट्टामा सलले बाँधी घुमाएर घाँटीमा बाँधेको अवस्थामा फेला परेको रेग्मीले बताए। शरीरको टाउको हात लगायतका बिभिन्न स्थानमा चोटको निशान रहेको छ। शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लुम्बिनीमा पठाइएको छ। घटनाको अध्ययन र अनुसन्धानका लागि घटना स्थलमा तालिम प्राप्त कुकर समेत परिचालन गरिएको छ। सुरुमा भेटिएको शव परिवारको ईच्छा बिपरित बिवाह गरेपछि माइती पक्षले गायब गराएकी पुष्पा चौधरीको रहेको आशंका गरिएको थियो। 

शवको पहिचानका लागि पुष्पाको श्रीमान दिनेशप्रसाद कुर्मी र पुष्पाका बुवालाई सोमबार राति नै ईलाका प्रहरी कार्यालय कृष्णनगर झिकाइएको थियो। तर सो शव पुष्पाको नरहेको उनीहरुले बताएको ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रहरी निरीक्षक सुकदेव पौडेलले बताए। भेटिएको शव पुष्पाको नरहेको उनले बताए। घटनाको अनुसन्धान भईरहेको प्रहरी निरीक्षक रेग्मीले बताए। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मनाईरहदा कपिलवस्तुमा अपराधिक घटनाहरु झन बढेको देखिन्छ।

प्रकाशित: १७ मंसिर २०७७ १२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App