१६ चैत्र २०८० शुक्रबार
समाज

करैयामाई गाउँपालिकाको निमित्तको नामबाट गरिंदै आएको कारोबार रोक्का

निमित्त प्रमुख प्रशासकीय अधिकृत महतो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरुलाई हाजिर गर्न नदिएको भन्दै जिल्लाका एक स्थानीय तहको आर्थिक कारोबार रोक्का गर्न पत्राचार गरेको छ।

मन्त्रालयले सरुवा गरिएका प्रमुख प्रशासकीय अधिकृतहरुलाई हाजिर गर्न नदिएको भन्दै करैयामाई गाउँपालिकाको आर्थिक कारोबार रोक्का राख्न कोष तथा लेखा नियन्त्रण कार्यालय बारालाई पत्राचार गरेको हो।

साबिक जिल्ला विकास समिति बारामा राजनीतिक पहुँचका आधारमा जागिर खाएका बिरेन्द्र महतोले लामो समयदेखि करैयामाई गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत रहेको र उनले संघ सरुवा गरेका प्रमुख प्रशासकीय अधिकृतहरुलाई कार्यालयमा हाजिर गर्न नदिएको आरोप लागेको छ।

कोष तथा लेखा नियन्त्रण कार्यालय बाराका प्रमुख पवनकुमार अधिकारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करैयामाई गाउँपालिकाका निमित्त प्रमुख बिरेन्द्र महतोको नामबाट आर्थिक कारोबार रोक्का गर्न पत्र पठाएको बताएका छन्।

मन्त्रालयले पत्राचार गरेपछि महतोको नामबाट गाउँपालिकाको खाता रहेको एनसिसि बैंकको करैया शाखालाई आर्थिक कारोबार नगर्न पत्राचार समेत गरिएको अधिकारीले बताए।

संघले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएका सुबोध महतोलाई हाजिर गर्न नदिएको आरोप  निमित्त प्रमुख महतोमाथि लागेको छ।

यसअघि संघले खटाएका रामजी जोशीलाई पनि महतोले हाजिर गर्नबाट रोकेको आरोप छ। करैयामाई गाउँपालिका प्रमुख भुनेश्वर धामीले बिरेन्द्र महतोले ठिकसँग काम गरेकोले अन्यलाई प्रमुख प्रशासकीय अधिकृतमा हाजिर नगराउन बोर्ड बैठकबाट नै निर्णय गरिएको तर्क गरेका छन्।

गाउँपालिका प्रमुख लगाएतका पदाधिकारीहरुलाई आर्थिक लाभ पुर्‍याउनको लागि महतोले नियम बिपरीत कामहरु गर्ने गरेका र महतोले गर्ने कामहरु संघबाट खटिने प्रमुख प्रशासकीय अधिकृतहरुले नगर्ने डरले अन्यलाई हाजिर गर्न नदिएको करैयामाई गाउँपालिकाका एक वडा अध्यक्षले बताएका छन्।

जिल्ला समन्वय समिति बाराका समन्वय अधिकारी सुनिल चौरसियाले करैयामाई गाउँपालिकामा संघबाट खटाउने प्रमुख प्रशासकीय अधिकृतहरुलाई हाजिर गर्न नदिएको बताएका छन्।

प्रकाशित: १७ मंसिर २०७७ ११:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App