६ सय ३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको प्रशारणलाईनको प्रारम्भिक वातावरणीय परिक्षण (आइई)को काम सुरु गरिएको छ। खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने जलबिद्युत आयोजनाको ४०० केभी डबल सर्किट प्रशारणलाईनको आइईको काम सुरु गरिएको हो। दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको आयोजनास्थलदेखि धनुषाको ढल्केबरसम्मको करिब १०२ किलोमिटर दुरीमा डबल सर्किट प्रशारणलाईनको प्रारम्भिक वातावरणीय परिक्षणका काम सुरु गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। करिब ६ महिनाभित्र पुरा गर्नेगरी इटालीको इएलसि इलेक्ट्रोकन्सल्टले आयोजनाको सर्किट प्रशारणलाईनको आइईको काम थालेको हो। आयोजनास्थल ओखलढुंगाको भदौरेदेखि धितुङ–जयराम–हिलेपानी–घुर्मी–कटारी–सिन्धुली हुँदै ढल्केबर जोड्ने प्रशारणलाईनका कारण भौतिक, सामाजिक, आर्थिक, वातावरणीय लगायतका क्षेत्रमा पुग्ने अशर र प्रभावका बारेमा अध्ययन सुरु गरिएको इएलसि इलेक्ट्रोकन्सल्टका आइई फिल्ड को–अर्डिनेटर नितेश खड्काले बताए।
दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनालाई ४ सय केभी डबल सर्किट प्रशारणलाईनबाट दुधकोसी स्वीच यार्डदेखि सुनकोसी स्वीच यार्ड हुँदै ढल्केबर स्टेशनमा जोड्ने तयारी छ। आइईकाक्रममा प्रत्यक्ष प्रभावित क्षेत्र मानिने टावर र तारको दायाँ–वायाँ २३÷२३ मिटर तथा अप्रत्यक्ष प्रभावित क्षेत्र मानिने दायाँ–वायाँ ५÷५ सय मिटर क्षेत्रमा भएका घर, वस्ती, खेतीयोग्य जमिन, वनजंगल, पहिरो लगायतको अवस्था तथा तिनलाई पर्ने अशरका बारेमा ‘स्याम्पल सर्भे’ सुरु गरिएको हो। कात्तिक २३ गतेदेखि तालिम दिइएका १० जना स्थानीय सर्भेक्षणकर्तालाई तिहारपछि आइईको सर्भेक्षणका काममा खटाइएको फिल्ड को–अर्डिनेटर खड्काले बताए। आइईको प्रारम्भिक रिपोर्टकै आधारमा प्रत्यक्ष प्रभावित तथा अप्रत्यक्ष प्रभावित क्षेत्रमा मुआव्जादेखि पुःर्नवासको काम हुने छन्। ‘सर्किट प्रशारणलाईनको रुटमा कस्तो वस्ती छ, क–कसको कस्ता खालका जग्गा छन्, रुटमा पहिरो छन् कि, कस्ता खालका वन छन्, कसैको करेसा बारी वा बगैंचा पर्छ कि भनेर स्याम्पल लिने काम भइरहेको छ,’ फिल्ड को–अर्डिनेटर खड्काले भने, ‘यसबाट प्रशारणलाईनको रुटमा पर्ने टावर र तारको आसपासमा के–के पर्छ, भौतिकरुपमा के–के छन्, केलाई कस्तो अशर पुग्छ, कति क्षती हुन्छ, फिजिकल, बायोलोजीकल, सोसल ईन्भाइरोन्मेन्ट कस्तो छ, इकोनोमिकल स्टाटस के छ भन्ने जानकारी लिन सकिन्छ।’
आइईको काम सुरु गर्नका लागि इएलसि इलेक्ट्रोकन्सल्टका टोली प्रमुख अजय माथेमा, एडिबिका इन्भाइरोन्मेन्ट एक्स्पर्ट कन्सल्टेन्ट रेशम बानियाँ, सोसल एक्स्पर्ट कन्सल्टेन्ट बमबहादुर थापा, आइईका फिल्ड को–अर्डिनेटर खड्का, स्टडि टिम मेम्वर सुभुती घिमिरे लगायतको टोली आयोजनस्थल आएका थिए।
लामीडाँडाको रँभुवाबजारमा २०० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढिरहेको छ। भ्याटसहित करिब २.२ विलियन यूएसडलरमा सम्पन्न हुने अनुमान गरिएको आयोजनाको जलाशयबाट जलपर्यटनको उत्तिकै सम्भावना रहेको औंल्याइएको छ। सन् १९८५ सालमा जाइकाले नेपालको ६ वटा जलाशययुक्त आयोजनामध्ये आकर्षक आयोजनाकारुपमा पहिचान गरेको तथा २०१३ सालमा जाईकाले नै दोश्रो पटक अध्ययन गर्दा १० वटा जलाशययुक्त आयोजनामध्ये एक नम्बरमा छानेको आयोजनाबाट बार्षिक तीन अर्व ४४ करोड ३० युनिट उर्जा उत्पादन हुने प्राधिकरणले जनाएको छ।
जलबिद्युत आयोजनाका लागि बाँध हाल्दा खोटाङको ३४ लाख २२ हजार ६०३ बर्गमिटर, ओखलढुंगाको ३५ लाख १२ हजार ३२२ बर्ग मिटर र सोलुखुम्बुको १ लाख ७१ हजार ४ बर्ग मिटर जमिन प्रभावित हुँदा खोटाङका ६५७ धुरी, ओखलढुंगाका २७९ धुरी र सोलुखुम्बुका १४ धुरी गरी कुल १ हजार १५० घर धुरी डुवानबाट प्रभावित हुने वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिबेदनमा देखिएको छ। पूर्णप्रभावित १६२ घरपरिवारमध्ये खोटाङका ८१, ओखलढुंगाका २५ र सोलुखुम्बुका २ घर पूर्णरुपमा डुवानमा पर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आयोजनाका लागि ड्याम बनाउदा दुधकोसीमा १७ किलोमिटर, रावा खोलामा ८ किलोमिटर र ठोट्ने खोलामा ५.५ किलोमिटर जलाशय सिर्जना हुने प्रतिबेदनमा भनिएको छ।
प्रकाशित: १६ मंसिर २०७७ ०६:५४ मंगलबार