८ वैशाख २०८१ शनिबार
समाज

पिँडालुको पर्व मनाइँंदै

बजारबाट किनेर ल्याई उसिन्न ठीक पारिएको पिँडालु ।

पिँडालुको पनि पर्व हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्ला तर सोमबार भक्तपुरका घरघरमा उसिनेको पिँडालु खाएर सकिमना पुन्ही पर्व मनाइएको छ। स्थानीय नेपाल भाषामा यसलाई सकी मानेगू पुन्ही (पिँडालु उसिनेर खाने पर्व) भनिन्छ। नेपाल भाषामा सकीको अर्थ पिँडालु र मानाको अर्थ उसिन्नु हो। यस अर्थमा सकी मना पुन्हीको अर्थ पिँडालु उसिनेर खानु हो। प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन घरघरमा पिँडालु उसिनेर खाई यो पर्व मनाउने परम्परा छ।  

पर्वको विशेष आकर्षण पिँडालु उसिनेर खानु नै हो। पर्वको क्रममा घरघरमा पिँडालु उसिनेर खाने चलन यद्यपि छ। पर्वको क्रममा विशेष गरी नेवार समुदायका परिवार घरघरमा पिँडालु उसिनेर खाने गर्दछन्। यो क्रममा उनीहरु मकै, भटमास, बदामलगायतका गेडागुडी पनि भुटेर खाने गर्छन्। साथै सखरखण्ड, तरुल पनि पकाएर खाने गर्दछन्।  

कुनै समय यहाँंका किसानका घरघरमा पिँडालु पाइन्थ्यो। पर्व मनाउनकै लागि खेतमा कहीकतै अलिकति मात्रै भए पनि किसान परिवारले पिँडालु रोप्ने गर्दथे तर अहिले पर्वका लागि धेरैले पिँडालु खरिद गर्नु परेको छ। पर्वका लागि पसलबाट पिँडालु खरिद गर्नेको विशेष भीड यहाँंका बजारमा लागेको थियो। माग अत्याधिक रहेको भन्दै पसलमा पिँडालुको मूल्य अनियन्त्रित भए पनि खरिद गर्नेेको संख्या उत्तिकै देखिएको थियो।  

स्थानीय कृष्ण प्रजापतिका अनुसार बजारमा पिँडालु, सखरखण्ड, तरुल खरिद गर्नेको विशेष भीड जताततै देखिएको थियो। एक पटक मात्रै खरिद गर्नुपर्ने भएकाले जति मूल्यमा पनि पिँडालु खरिद गर्न खोजिरहेको उनले सुनाए। अरु सामान्य दिनमा खासै पिँडालु खाने नगरिए पनि यो पर्वमा घरघरमा पिँडालु खाने चलन छ।  

पर्वको क्रममा सोमबार विहानदेखि ठाउठाउका महादेव, नारायण मन्दिरहरुमा विशेष मेला पनि लागेको छ। यस क्रममा दिनभर जिल्लाको चाँगुनारायण मन्दिर, कमलविनायकस्थित यातु गणेश, काभ्रे र भक्तपुरको सिमानास्थित आशापुर महादेव, गुण्डुको अनन्तलिंगेश्वर, सिपाडोलको डोलेश्वरलगायतका मन्दिरमा विशेष मेला लागेको थियो।  

यस दिन भक्तपुर नगरका ठाउँंठाउँंमा भुटेको मकै, भटमास, बदामलगायतका खाद्यान्नबाट भुइमा विशेष प्रकारको पाचतल्ले मन्दिर आकारका चित्र बनाइने चलन छ। साथै यातु गणेशमा पनि यसैगरी भुटेको मकै, भटमासबाट भुइमा यातु महोदेव बनाइने चलन छ  

र यो पर्व कोरोनाका कारण भीडभाड हुने गरी यसो नगर्न भक्तपुर नगरपालिकाले सार्वजनिक आह्वान गरेपछि यस्तो कार्य यस वर्षका लागि बन्द भएको छ।

पर्वको अर्काे विषेश आकर्षण भजन गाउनु हो। यस क्रममा ठाउठाउका पाटीमा समूह समूह मिलेर विभिन्न बाद्यबादनका साथ बाजागाजासहित भजन गाइएको छ। विशेष गरी बुढापाकाहरु ठाउँठाउँका पाटीमा बसेर भजनमा रमाएका थिए। पर्वका क्रममा महिलाहरु ब्रत पनि बस्ने चलन छ।  

संस्कृतिविद् जननीप्रसाद मुल यो पर्व मौसमसग सम्वन्धित रहेको बताउँंछन्। जाडोयाम सुरु भएको संकेतको पर्वको रुपमा यो पर्व मनाउने उनी सुनाउँछन्। जाडोयाममा तातोतातो पिँडालु उसिनेर खाने चलनको रुपमा यो परम्परा सुरु भएको उनी बताउँछन्। उनका अनुसार भक्तपुरमा यो पर्व विशेष रुपमा घरघरमा मनाइन्छ।

प्रकाशित: १५ मंसिर २०७७ १०:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App