८ वैशाख २०८१ शनिबार
समाज

कोरोनाको उच्च जोखिममा रोल्पा

ग्लोवल आईएमई बैङ्कमा रहेको भिड । तस्बिर : दिनेश/नागरिक

रोल्पा जिल्ला यतिबेला कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ। जबरजस्ती विद्यालयहरु खोलिएका छन् भने सामाजिक दूरी र अन्य बचाउका कुनै उपाय अपनाइएका छैनन्। अस्पताल, बजार, बैङ्क, प्रहरी चारैतिर संक्रमणले आतंक फैलाएको छ। मानिसहरुले मास्क र सेनिटाइजरको प्रयोग गर्न छोडेका छन्। सरकारले संक्रमितलाई होम आइसोलेुनमा बस्न भनेको भन्दै जिल्ला कोभिड संकट ब्यवस्थापन समितिको बैठकको निर्णयबाट जिल्लामा रहेको एक मात्र अस्थायी आइसोलेसन केन्द्र पनि बन्द गरिएको छ।  

प्रहरीले आफ्ना कर्मचारी राख्नका लागि अलग्गै आइसोलेसन केन्द्र तयार गरेको भए पनि आम नागरिकका लागि कुनै तयारी समेत छैन। कोरोनाका नियन्त्रणका विषयमा के गर्ने भनेर छलफल समेत गर्न छोडिएको छ। नेपाल बैङ्क लिमिटेडका प्रबन्धकलाई कोरोना संक्रमण देखिएपछि उनी होम आइसोलेसनमा बसेका छन् तर बैङ्कले आफ्नो सेवा बन्द गरेको छैन। त्यहाँ कार्यरत केहिमा कोरोना लक्षण देखिएको एक कर्मचारीले बताए। उनका अनुसार बैङ्क केहि दिनलाई बन्द गर्ने विषयमा जिल्ला प्रसाशन कार्यालयले खासै चासो दिएको छैन।  

उता जिल्लामा बढी चहलपहल हुने ग्लोवल आईएमई बैङ्कका केहि कर्मचारीमा कोरोना संका लागेपछि उनीहरुलाई पिसिआर परीक्षणका लागि बाहिर पठाइएको छ। ‘पिसिआर स्याम्पल परीक्षण गरौ भन्दा कसैले वास्ता नगरेपछि कर्मचारी आफैलाई परीक्षणका लागि भैरहवा पठाएका छौ।’ आईएमई बैङ्कका प्रबन्धक प्रबिण आचार्यले भने ‘यतिबेला हामी र हाम्रा कारणले सेवाग्राही समेत उच्च जोखिममा हुनुहुन्छ।’ त्यसो त कृर्षि बिकास बैङ्कका एक कर्मचारी पनि यतिबेला संक्रमित भएर आफू र श्रीमतीको उपचारका लागि जिल्ला बाहिर गएका छन् तर बैङ्कले सेवा निरन्तरता दिईरहेको छ।  

बैङ्कहरु जस्तै जिल्लाको एक मात्र अस्पताल रोल्पा अस्पताल पनि यतिबेला अत्यन्त जोखिमपूर्ण अवस्थामा छ। पर्याप्त सुबिधा र जनशक्तिको अभावमा चलिरहेको अस्पतालमा आउने बिरामीका कारण स्वास्थ्यकर्मीहरु जतिबेला पनि संक्रमणको जोखिममा छन्। ‘कन्ट्रयाक ट्रेसिङ नहुँदा संक्रमितहरु बढीरहेका छन्। आत्तिने अवस्था आईसकेको छ। हामी स्वास्थ्यकर्मी उच्च जोखिममा छौ।’ रोल्पा अस्पतालका डा. प्रकाश बुढाले भने ‘ब्यवस्थित आइसोलेसन नहुँदा संक्रमित राख्न समस्या भएको छ।’

आइसोलेसन नहुँदा संक्रमितका परिवार अत्यन्त जोखिममा रहेका छन्। घरमा परिवार संगसंगै बस्नु पर्ने भएपछि परिवारका सबै सदस्य जोखिममा पर्ने गर्छन्। सबैका घरमा पर्याप्त कोठा र शौचालय नहुने भएपछि थप समस्या आउने गरेको हो। ‘आइसोलेसन भएको भए मेरी श्रीमती संक्रमित हुदैनथिन्।’ कोरोना संक्रमित एक युवाले भने ‘मैरै कारणले श्रीमती संक्रमित भएकी छिन्।’ अहिले उनकी श्रीमती अस्पतालको एउटा कोठामा उपचारका लागि भर्ना गरिएकी छिन्।

पछिल्लो समय जिल्लामा कोरोना संक्रमित बढी रहेपनि संचालनमा रहेका अस्थायी आइसोलेसन केन्द्र हटाइएको छ। संक्रमितलाई बेग्लै राख्ने र उपचारसमेत गर्ने गरी यसअघि ‘नमुना आइसोलेसन केन्द्र’ बनाइएको थियो। स्थानीय तहहरुको आर्थिक व्यवस्थापनमा सदरमुकामस्थित जलजला बहुमुखी क्याम्पसमा प्रदेशकै नमुना आइसोलेसन केन्द्र सञ्चालन गर्दै आएकोमा कोभिड संकट व्यवस्थापन समितिको निर्णयबाट आइसोलेसन केन्द्र हटाइएको हो। करिब ३० लाख लगानीमा स्वास्थ्यकर्मीसहित लिबाङमा प्रदेशकै नमुना आइसोलेसन केन्द्र चलाइएपछि करिब २ सयलाई उपचार गरिएको थियो।  

स्थानीय प्रसाशन र स्थानीय सरकारहरुले कोरोना ब्यवस्थापनमा खासै चासो नदिएको भन्दै रोल्पा अस्पतालका सूचना अधिकारी कुलबहादुर डागि भन्छन् ‘आइसोलेसन केन्द्रको ब्यवस्था गर्दा सहज हुन्छ।’ उनी भन्छन्, ‘कोरोना संक्रमणले जोखिम फैलाई सकेको छ। कन्ट्रयाक्ट ट्रेसिङ नहुँदा जिल्ला उच्च जोखिममा छ। स्वाब परीक्षण नभएका कारण संक्रमितको पहिचान नभएको हो तर यतिबेला संक्रमितको संख्या निकै धेरै छ।’ स्वास्थ्यकर्मीका अनुसार स्वाब परीक्षणमा पनि समस्या थपिएको छ। आर्थिक अभावका कारण रोल्पादेखि स्वाब ढुवानी गरि बाहिर जिल्ला लैजान सक्ने अवस्था समेत छैन।

प्रकाशित: १४ मंसिर २०७७ १०:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App