५ वैशाख २०८१ बुधबार
समाज

फिदिम बजार क्षेत्रमा सडक विस्तार गरिने

फिदिम बजार क्षेत्रमा रहेको मेची राजमार्ग । तस्बिर : गिरिराज/नागरिक

पाँचथर सदरमुकाम फिदिमको बजार क्षेत्रमा रहेको मेची राजमार्गको चौडा विस्तार गरिने भएको छ। बजार क्षेत्रमा सडक चौडा गर्ने  तयारी भएको भौतिक पूर्वाधार तथा यातायत मन्त्री बसन्तकुमार नेम्बाङले जानकारी दिए।  

‘अर्थमन्त्रालयबाट लगानी स्वीकृत भएको छ। १४ करोड रुपैयाँ बजेट रहेको छ। यहि हप्ता टेण्डर खोल्ने गरी तयारी भएको छ’ मन्त्री नेम्बाङले भने ‘बजार क्षेत्रमा सांगुरो सडकलाई व्यवस्थित गर्दैछौँ।’ मन्त्री नेम्बाङ फिदिममा सरोकारवाला निकायसँग छलफल समेत गरेको बताएका छन्। फिदिम बजार क्षेत्रमा मेचीराजमार्गको क्षेत्राधिकारमा भएका संरचना हटाएर सडक विस्तार हुने चर्चा निक्कै लामो समयदेखि चल्दै आएको थियो। यसअघि राजमार्गको क्षेत्राधिकारमा बनाइएका संरचना हटाउन सडक डिभिजन कार्यालय इलामले सार्वजनिक सूचना जारी गरेको थियो।

सडक डिभिजन कार्यालय इलामका प्रमुख अभिमान मूल्मीका अनुसार फिदिमको समर्पीत अस्पताल नजिकबाट १ दशमलव ७ किलोमिटर सडकको चौडा विस्तार गर्न लागिएको हो। यो फिदिमको मुख्य बजार क्षेत्र भित्र पर्छ। सडकको बीचबाट ८–८ चौडाई हुने गरी १६ मिटरको चौडाई बनाउने गरी सडक विस्तार हुने मूल्मीले जानकारी दिए। उनका अनुसार केहि दिनमा ठेक्का खुलेर दुई महिनाभित्रमा काम अघि बढाउने तयारी छ। संरचना हटाएर सडक कालोपत्रे निर्माण गरी सक्नका लागि दुई वर्षको ठेक्का लगाउने तयारी भएको छ।  

सडक विस्तारका लागि भएका संरचना हटाउनु पर्ने छ। घर लगायतका संरचना रहेका छन्। कति संरचना हटाउने भन्ने मार्किङ गरी सकिएको मूल्मीले जानकारी दिए। स्थानीयलाई पुनः संरचना हटाउन आग्रह गरिने बताइएको छ।

प्रकाशित: १२ मंसिर २०७७ १२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App