८ वैशाख २०८१ शनिबार
समाज

लोमान्थाङमा इन्टरनेटको लागि फाइबर विस्तार

इन्टरनेटको सुविधाको लागि सोलार प्यानल जडान गर्न ल्याइएको आवश्यक सामग्री । तस्बिर सौजन्य: इन्द्रधारा विष्ट

उपल्लो मुस्ताङवासीले अब सजिलै इन्टरनेट सुविधा पाउने छन्। इन्टरनेट सुविधाको लागि फाइबर तान्ने काम सुरु गरसकिएको छ। यसैवर्षको अन्त्यसम्ममा इन्टरनेट लोमान्थाङवासीको पहुँचमा पुग्ने छ। अन्य इन्टरनेट सेवा भएपनि भरपर्दो र गुणस्तरीय भने थिएन।  

लोमान्थाङमा विद्युतीय सेवा समेत विस्तार भईसकेको छ। केन्द्रीय प्रशारण लाइन विस्तार गरिसकिएको छ। प्रशारण लाइन नपुगेको स्थानमा सोलार प्यानल जडान कार्य भईरहेको छ।  

गाँउ उज्यालो अभियान बनाउँदै इन्टरनेटको सहजता पुर्‍याउने ध्येयमा स्थानीयवासी जुटेका छन्। लोमान्थाङमा इन्टरनेट सेवा विस्तार गर्ने योजना भने दुरसञ्चार प्राधिकरणको हो। राष्ट्रिय गौरबको योजना अन्तर्गत गाउँ गाउँमा इन्टरनेट सेवा पुर्‍याउने उद्देश्यसहित प्राधिकरणले फाइबर विस्तार सुरु गरेको हो। प्राधिकरणले फाइबर विस्तार गर्ने कामको जिम्मेवारी भने टेकमाईन्ड नेटवर्क प्रालिलाई सुम्पिएको छ। नेटवर्कले नै फाइबर तान्ने काम गरिरहेको छ। हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजारमा भने इन्टरनेटको लागि फाइबर जडान भईसकेको छ।  

‘लोमान्थाङदेखि तल जोमसोम तर्फ तार तान्ने काम भईरहेको छ’ टेकमाईन नेटवर्क एक्सपान्सन मेनेजर उत्तम सुवेदीले भने।‘पाँचसात दिनभित्रमा कामको प्रगति विवरण आईपुग्छ।’ उनले विभिन्न ठाँउमा काम भईरहेकोले पनि कति लामो तानियो भन्ने विषयमा भन्न सकिने अवस्था भने नरहेको सुनाए। ‘चिसो बढेको छ। हिउँ पर्नु अघि नै तार तानेर सक्ने योजना हो।’ उनको भनाइ थियो। ४२ सय मिटरभन्दा माथिको उचाइमा रहेको लोमान्थाङमा तापक्रम माइनस पुगिसकेको छ। अत्याधिक चिसो छ। चिसोकै कारण मानिसहरु तल झर्ने गर्छन्। तर यो वर्ष भने कोभिड–१९ कै कारण लोमान्थाङवासी तल्लो क्षेत्रमा झरेका छैनन्। अत्याधिक चिसोमै कष्टकर रुपैयाँ यो वर्ष माथि नै बिताउँछन्।  

हिउँ पर्नु अघि तार विस्तारको काम पुरा नभए रोकिने छ। अत्याधिक चिसोले तार तान्न कठिनाई हुँदा घरबाहिर निस्कन सकिने अवस्था रहँदैन। त्यसैले पनि प्रालिले हिउँ पर्नु अघि नै तार विस्तारलाई सक्ने योजना बनाएको छ। मौसम विभागले पनि गण्डकी प्रदेश लगायत अन्य प्रदेशमा हिमपात हुने पूर्वानुमान समेत गरिसकेको छ। मौसम विभागले गरेको पूवार्नुमान अनुसार नै काम छिटो सक्नुपर्ने बाध्यता रहेको छ। ‘तार तानिसकेपछि नेटवर्कको अवस्था हेर्छै। गुणस्तरीय सर्भिस दिने छौं।’ उनको भनाई थियो।  

जोमसोमदेखि लोमान्थाङ ८० किलोमिटरको दूरी छ। प्रालिले तार विस्तार गर्ने कामलाई बढीमा एक हप्ताभित्रमा सक्ने लक्ष्य राखेको छ। ‘धेरै ठाँउमा तार तानिसकिएको छ’ लोमान्थाङबाट प्रदेश सदस्यमा निर्वाचित इन्द्रधारा विष्टले सुनाए,‘तार तान्ने काम एक हप्ताभित्र सकिन्छ होला।’ उनका अनुसार हिउँदमै नेटवर्किङ काम सकिए सर्भिस सुरु हुने अपेक्षा छ। प्रालिले फाइबर तानेर इन्टरनेट सेवा सुरु गरेपछि लोमान्थाङ इन्टरनेटको सहज पहुँचभित्र पर्ने छ। प्रालिले सरकारी कार्यालय, स्वास्थ्य सस्था तथा विद्यालयमा निःशुल्क उपलब्ध गराउने छ। 

सर्वसाधारणलाई समेत नेटवर्किङ गरेर शुल्क लिएर सेवा विस्तार गर्न सक्ने जनाइएको छ। लोमान्थाङसम्म पुर्‍याइएको इन्टरनेटको पहुँच गाउँपालिकाको अन्य ठाँउमा समेत विस्तार गर्ने योजना छ। उपल्लो मुस्ताङमा १५० घर धुरी छ। इन्टरनेट सुविधाको लागि प्रदेश सदस्य विष्टले प्रदेश र संघीय सरकार समक्ष पहलकदमी गर्दै आएका थिए।

प्रकाशित: १२ मंसिर २०७७ ०७:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App