coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मिलापत्रमै टुंग्याइन्छ बलात्कार घटना

बझाङ मस्टा गाउँपालिका–२ की १४ वर्षीया बालिकालाई घट्टमा गएका बेला साउन २९ गते साँझ १८ वर्षीय राजेन्द बोहराले बलात्कार गरे । गर्भ रहे स्विकार्ने सर्तमा गाउँमै उक्त घटनामा मिलापत्र गराइयो । बलात्कार गरेबापत ५ सयको नोट जरिवानास्वरूप ती बालिकाको खुट्टामा राखेर बोहराले ढोगे ।  

मिलापत्र भएको डेढ साता नबित्दै बोहराले १२ वर्षीया सम्झना कामीलाई बलात्कार गरे । उनले बलात्कारपछि ती बालिकाको हत्यासमेत गरे । बलात्कार र हत्या आरोपमा उनी पक्राउ परे । त्यसपछि मात्र पहिले गाउँमै मिलापत्रमा टुंग्याइएको बलात्कार घटनाकी पीडित बालिकाका आफन्त न्यायका लागि प्रहरीसमक्ष पुगे ।  

बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बिहे गरेको ६ महिनामै सुत्केरी भइन् । ६ महिनामै बच्चा जन्माएपछि उनका आफन्तले केरकार गरे । आफन्तको चर्को दबाबपछि मात्र किशोरीले बलात्कृत भएका कारण गर्भ बसेको बताइन् । उनलाई पढाउने शिक्षकलगायत पाँचजनाले बलात्कार गरेको घटना सार्वजनिक भयो । घटना सुरुमा गाउँमै मिलाउन खोजियो तर दबाब बढेदै गएपछि प्रहरीले आरोपित पाँचैजनालाई पक्राउ ग-यो । सिगास गाउँपालिकाकै १८ वर्षीया अर्की किशोरी बलात्कृत भएको घटना ६ महिनापछि सार्वजनिक भएको छ । पीडितलाई एकतोला सुन दिने कागज बनाएर घटना गाउँमै सामसुम पार्न खोजिएको थियो । असार दोस्रो साता पानी भर्न जाँदा दीपकसिंह धामीबाट बलाकृत किशोरीलाई कात्तिक मसान्तभित्र एकतोला सुन दिने सर्तमा मिलापत्र गरिएको घटना अहिले आएर सार्वजनिक भएको हो ।  

मिलापत्र गरिए पनि पीडितले पटकपटक धम्की र सुन नदिएपछि घटना बाहिरिएको हो । यो विषय बाहिर आएपछि प्रहरीले घटनामा संलग्नलाई कारबाहीको तयारी गरेको छ ।  

बैतडी पञ्चेश्वर गाउँपालिका–४ का ४५ वर्षीय पुरुषले आफ्नै १० वर्षीया छोरीलाई दुई वर्षदेखि बलात्कार गर्दै आएको घटना गत असारमा बाहिर आएको छ । आमा अर्कै लोग्नेसँग गएपछि बाबुले पटकपटक छोरीलाई बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएको छ । बाहिर कसैलाई भने मार्ने धम्की बाबुले दिएकाले ती बालिकाले लामो समयदेखि पीडा सहदै आएकी थिइन् । ती बालिकाले पीडा सहन नसकेर गत असारमा घटना सार्वजनिक गरेपछि प्रहरीले उनका बाबुलाई पक्राउ ग-यो । अहिले उनी पुर्पक्ष थुनामा छन् ।  

यी त सार्वजनिक भएका बलात्कारका केही प्रतिनिधि घटना हुन् । सुदूरपश्चिमका दूरदराजका गाउँमा बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गराइन्छ । प्रहरीले पनि सुदूरपश्चिमका दूरदराजमा बलात्कारका घटनामा मिलापत्र गराइने गरेको पाइएको जनाएको छ । धेरैजसो यस्ता घटना प्रहरीकहाँ पुग्दैनन् र पुग्न चाहनेलाई पनि तगारो हालिन्छ ।  

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंह सुदूरपश्चिमका दूरदराजका गाउँमा अहिले पनि बलात्कारका घटना मिलेमतोमा टुंग्याउने प्रवृत्ति हाबी रहेको बताउँछन् । ‘दूरदराजमा अहिले पनि समाजका ठुलाठालु भनाउँदाले सर्वसाधारणलाई दबाबमा राखेका छन् । बलात्कारका घटना सकेसम्म गाउँमै मिलाएर प्रहरीसम्म पुग्न दिइँदैन,’ उनले भने, ‘बझाङको घटना पनि त्यसैको परिणति थियो ।’ बैतडीको घटना पनि ढिलोगरी प्रहरीसमक्ष आएपछि आरोपितलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको उनले बताए । यस्ता धेरै घटना गाउँमै मिलापत्र गरेर टुंग्याउँदा प्रहरीसम्म नआएको उनी बताउँछन् । मिलापत्र गराउनेलाई तीन वर्षसम्म जेल सजाय गर्ने व्यवस्थासहितको कानुन आउन लागेकाले सोहीअनुसार कारबाही हुने उनले बताए ।

पीडितले परिवार र समाजबाट अपहेलित हुनुपर्ने डर तथा पीडकले दिने धम्की र प्रलोभनका कारण बलात्कारका घटना सार्वजनिक गर्न नसकेको अधिवक्ता लक्ष्मीदत्त पाण्डेय बताउँछन् । समाजबाट अपहेलित हुने डरले यस्ता घटनालाई भित्रभित्रै मिलाउने गरिएको उनको भनाइ छ । डर, धाक, धम्की र प्रलोभनका कारण यस्ता घटना लुकाउन पीडित बाध्य भएको बैतडी जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारी बताउँछन् ।  

लकडाउनमा सुदूरपश्चिममा बलात्कारका घटना बढेका छन् । घरभित्रै आफन्तबाट, छिमेकीबाट र प्रेमको नाटक गरेर एकान्त ठाउँमा बोलाएर सामूहिक बलात्कारका घटना भइरहेको बालबालिकाको क्षेत्रमा काम गरिरहेको बाल हेल्पलाइन सिविन धनगढीका विष्णु पौडेलले बताइन् । ‘बलात्कारका घटना चिन्ताजनक ढंगले बढ्दै गएका छन्,’ उनले भनिन्, ‘गाउँमै मिलापत्र गराएर दोषीलाई उन्मुक्ति दिँदा यस्ता घटना बढ्दै गएका हुन् ।’ लकडाउन अवधिमा बलात्कारका घटना धेरै बढेको उनी बताउँछिन् ।

नजिकका आफन्त र चिनेजानेकैबाट महिला बलात्कृत भइरहेको प्रहरीको तथ्यांकले देखाएको छ । लकडाउन अवधिमा परिस्थितिजन्य अवस्थाको फाइदा उठाउँदै बलात्कार गर्नेहरू बढी सक्रिय बनेका छन् । नैतिक शिक्षाको अभाव, लागु औषधको बढ्दो प्रयोग, सानै उमेरदेखि प्रेम गर्ने सिकोलगायतका कारण बलात्कारका घटना बढ्दै गएको बैतडीस्थित  

जगन्नाथ बहुुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थी बताउँछन् । बैतडी जिल्लामामा पछिल्लो समयमा जबर्जस्ती करणीका घटना बढ्दै गएका छन् ।

प्रकाशित: १२ मंसिर २०७७ ०१:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App