प्रत्येक शुक्रबार बन्द हुँदै आएको फुङ्लिङ बजार मंसिर १२ गते शुक्रवारबाट साविक झैं बन्द हुने भएको छ । चाडवाडलाई मध्यनजर गर्दै गत असोज १६ गते शुक्रबारबाट खुल्ला भएको फुङ्लिङ बजार फेरि साप्ताहिक रुपमा बन्द हुने ताप्लेजुङ उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत भीष्मराज बरालले जानकारी दिए ।
दशैं–तिहार–छैठ लगायतका चाडपर्वलाई मध्यनजर गरी वाणिज्य संघले असोज १६ गते शुक्रबारदेखि बन्द हुने साप्ताहिक बजार खुलाएको थियो । ‘अब फेरि बजार पसल प्रत्येक साताको शुक्रबार एकदिन बन्द हुनेछन्’बरालले भने । यसैबीच ताप्लेजुङ उद्योग बाणिज्य संघले चिसो मौसम सुरु भएकोले यो बेला हुने विभिन्न किसिममा संक्रमण बिरुद्ध बिशेष सावधानी अपनाउन समुदायका सदस्यलाइ आग्रह गरेको छ ।
वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले चिसो मौसम सुरु भएकोले रुघाखोकी, ज्वरो लगायतका स्वास्थ्य समस्या देखा पर्ने भन्दै यसविरुद्ध बिशेष सावधानी अपनाउन आग्रह गरेका छन् । कोरोना संक्रमणको सन्त्रास समेत भयभित बनिरहेका बेला देखिने अन्य स्वास्थ्य समस्याले अझ समस्यामा पार्ने भन्दै बाणिज्य संघले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । उसले सुख्खा मौसममा आगलागि जस्ता विपद्का घटना समेत हुने भएकोले सर्तक र सम्बेदनशील रहन आग्रह गरेको छ ।
प्रकाशित: ११ मंसिर २०७७ १०:२७ बिहीबार