८ वैशाख २०८१ शनिबार
समाज

छोरीलाई छाडेर अर्कीसँग भागेका ज्वाँइको खोजी गर्दै मंगल

बिहेको समयको तस्बिर र ज्वाँइको नागरिकता देखाउँदै मंगल सार्की । तस्बिरः रितेश/नागरिक

बिहेको आठ वर्षपछि श्रीमतीलाई छोडेर अर्की महिलासँग फरार भएका बाराको डुमरबाना घर भएका दुई सन्तानका बाबु बिमलबहादुर सार्कीको खोजतलास गरिदिन उनका ससुरा मंगल सार्कीले आग्रह गरेका छन्। ‘२ वर्षदेखि हामी खोजतलास गरिरहेका छौं, सिमरास्थित इलाका प्रहरीमा धेरै पटक गयौं, प्रहरीले खोजिरहेका छौं, आफै पनि पत्ता लगाउन प्रयास गर्नुस भन्छ,’ वीरगन्ज महानगरपालिका–३२ शोलखपुर घर घएका उनी सोमबार पत्रकारहरुलाई भेट्न आइपुगेको बेला भने, ‘मिडियामा छापेपछि पत्ता लाग्छ धेरैले भन्छन्, समाचार छापी दिन बिन्ती छ।’  

मिहनेत मजदुरी गरेर जिवकोपार्जन गर्ने मंगलले छिमेकी जिल्ला बाराकै केटा बिमललाई खोजेर २०६७ सालमा धुमधामसंग छोरी कल्पनाको बिहे गराई बिदा दिएका थिए। ३ वर्षसम्म सबैथोक राम्रै चल्यो। २०७२ साल साउन २ मा कल्पनाले एउटी छोरी जन्माइन्। नाम राखियो विद्या। बालिका विद्यालाई असन्चो भएपछि उसलाई बेलाबेलामा रगत चढाउनु पर्ने चिकित्सकहरुले बताए। बारम्बार काठमाडौं धाउनुभन्दा बरु त्यहीँ बसेर केही कामधन्धा पनि गर्ने र छोरीको उपचार पनि हुने भनेर कल्पानाका श्रीमान बिमलले छोरी विद्यासहित उनलाई लिएर २०७३ सालमा काठमाडौं गए। त्यहाँ अर्को वर्ष दुबैले दोस्रो सन्तान छोरा पाए।  

‘हामी बालाजुमा बस्थ्यौं, केही दिन सबै ठिक थियो। पछि उनको संगत एक जना महिलासंग भएको थाहा पाइयो, फेसबुकबाट चिनजान भएको रहेछ,’ कल्पनाले टेलीफोनमा घट्ना बारे कुरा गर्दै नागरिकलाई भनिन्, ‘त्यसपछि उनको ब्यवहार फेरिन थाल्यो, सोझो मुखले कुरा नगर्ने, झर्किने गर्न थाले। पछि त वास्ता नै नराख्ने गर्न थाले।’ कल्पनाका अनुसार २०७५ असोजमा उनका श्रीमान बिमल अर्की महिलासंग फरार भए। संगसंगै छोरी विद्यालाई पनि लिएर गए। त्यसपछि उनी दुधे छोरालाई लिएर माइतिमा आएर बस्न थालेकी छन्। ‘छोरी विद्यालाई भेटेको, उसको अनुहार देखेको २ वर्षभन्दा बढी भयो। उसको साह्रै सम्झना आउँछ,’ कल्पनाले भनिन्, ‘फोनमा भए पनि दुई शब्द मेरो नानुसंग कुरा गराइ देओस्।’

चितवन घर भएकी अन्जु कोइरालासंग श्रीमान भागेको उनले थाहा पाएको बताइन्। ‘अर्की भेटियो भन्दैमा अफ्नो श्रीमती र बच्चालाई छोडेर कोही भाग्छ होला? एउटी आमालाई उसको सन्तानसंग टाँढा गराई दिने कस्तो मुटु होला?’ कल्पनाले भनिन्, ‘मेरो छोरीले आमाको माया पाउन सकिनन्, छोराले बाबुको माया पाउन सकेनन्, किन यस्तो गरेको होला?’ श्रीमान फर्केर आइदिए हुन्थ्यो भनी उनलाई लागेको छ। कल्पनाका सासुससुराले डुमरबानास्थित ससुराघरमैं बस्न भनेको उनले बताइन्। छोडेर गएका श्रीमानको घरमा बस्न मन नलागेको उनले बताइन्।  

पर्साको शोलखपुरस्थित माइतिमैं बस्नु परेको उनले सुनाइन्। कल्पनाका बुवा मंगलले नातिनीको उपचारको लागि ऋण निकालेर दिएको पैसा ज्वाँइले तिर्न भने पनि नतिरेको र नातिनीलाई लिएर अरु महिलासंग भागेर गएको भन्ने दुःख ब्यक्त गरे। ‘प्रहरीले भनेको छ लोकोशन पत्ता लगाउनु हामी तपाईको ज्वाँइ खोजिदिन्छौं,’ उनले भने, ‘प्रहरीले लोकेशन आफै पत्ता लगाएर मान्छे खोज्न मिल्दैन?’

प्रकाशित: ९ मंसिर २०७७ १३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App