८ वैशाख २०८१ शनिबार
समाज

किन हुन्छन् बारम्बार प्याराग्लाइडिङ दुर्घटना?

पोखराको आकाशमा भइरहेको प्याराग्लाइडिङ उडान । फाइल तस्बिरः उमेश पुन/नागरिक

पोखरामा सोमबार भएको प्याराग्लाइडिङ दुर्घटनामा पाइलट राजु गैरे नेपाली (३८) को ज्यान गयो। नेपालीसँगै उडेकी काठमाडौं बुढानिलकण्ठकी शिला श्रेष्ठ (२८) घाइते छिन्। श्रेष्ठको राजधानीमा उपचार भइरहेको छ। पोखरा महानगरपालिका–१८ सराङकोटबाट उडेको प्याराग्लाइडिङ फेवाताल किनारको अवतरणस्थलमा झर्दै गर्दा दुर्घटनामा परेको थियो।

पोखराको आकाशमा प्याराग्लाइडिङ दुर्घटनामा परेको यो पहिलो घटना होइन, तर, टेण्डम (यात्रुसहित) उडान दुर्घटना हुँदा पाइलटले ज्यान गुमाएको भने पहिलो घटना हो।  

यसअघिका घटनामा सोलो (एकल) उडानका वा प्रशिक्षार्थी पाइलट मात्रै बढीजसो दुर्घटनामा पर्दै आएका थिए। टेण्डम उडान दुर्घटनामा परिहाले पनि यात्रु र पाइलट सामान्य घाइते हुने गरेका थिए। अघिल्ला घटनामा ज्यान गुमाउने सोलो पाइलट नै हुन्थे। तर, यो पटक अनुभवी टेन्डम पाइलटले नै ज्यान गुमाएका छन्।  

पोखराको आकाशमा हुने प्याराग्लाइडिङ उडान विश्वमै चर्चित छ। त्यसैले त यहाँ प्याराग्लाइडिङ उड्न विदेशी पाहुनाले हत्ते हाल्छन्। पछिल्लो समय त आन्तरिक पर्यटकको भरमा प्याराग्लाइडिङ व्यवसाय थेगिएको छ। तर, सबैतिरबाट विश्वास कमाएको प्याराग्लाइडिङ उडानले भने बेलाबेला खप्की खेप्नुपर्छ, अझ दुर्घटना हुँदा बढी आलोचना हुने गरेको छ। आखिर किन दुर्घटना हुन्छ प्याराग्लाइडिङ? अनुभवि तथा प्रशिक्षक पाइलट दामोदर पराजुली भन्छन्, ‘दुर्घटनाको यकिन कारक खुट्याउन सहज छैन। तर, मानवीय गल्ती, मौसमको बेवास्ता, पाइलटको मनपरि, उडान निर्देशिका अटेर गर्दा दुर्घटना हुने गरेका छन्।’ सोमबारको दुर्घटनाको कारण अझै स्पष्ट नभएको उनले बताए।  

पराजुलीका अनुसार टेण्डम पाइलट बन्न उत्ति सहज छैन। दुई वर्ष सोलो र थप एक सय घण्टासम्म प्रशिक्षक वा अर्को पाइलटलाई उडाएपछि मात्र टेण्डमको स्वीकृति पाइन्छ। पर्याप्त अनुभव हुँदाहुँदै पनि कतिपय बेला दुर्घटनाको शिकार बनिने उनले बताए। ‘टेकअफ र ल्याडिङमा जोखिम हुन्छ, त्यसैले त सबै पक्ष ख्याल गरेर उड्ने हो,’ उनले भने, ‘सबै पक्ष ख्याल गर्दागर्दै पनि कहिलेकाँही दवावमा काम गर्दा दुर्घटना हुन सक्छ।’ पराजुलीको अनुभवमा सोमबार दुर्घटनामा परेका पाइलट निकै स्वस्थ, फुर्तिला र अनुभवि पाइलट हुन्। दुर्घटनामा ज्यान गुमाएका खेलाडी कँराते र शारीरिक सुगठनका खेलाडी पनि हुन्।

पराजुलीको अनुभवमा प्याराग्लाइडिङ उडानमा बेलाबखत मनपरि गरिन्छ। पैसा कमाउनकै लागि पाइलटले दवावमा काम गर्छन्। कहिलेकाँकी यात्रुको दवावमा उडान गर्नुपर्ने बाध्यता हुन्छ। पाइलटको नियमित स्वास्थ्य परीक्षण नहुँदा शारीरिक कमजोरी थाहा हुँदैन। ग्लाइडरसहितका उपकरणको कमजोरी, मौसममा अचानक हुने बदलावले पनि दुर्घटना गराउने उनले बताए। ‘कतिपय पाइलट दिनमै ४/५ वटा उडान गर्दा थकित हुन्छन्। आर्थिक र मानसिक दवावमा उड्दा समस्या हुनसक्छ,’ उनले भने, ‘तर, त्यसबारे सम्बन्धित निकायले कमै चासो लिएको छ। पाइलटको शारीरिक अवस्था दिनहुँ परीक्षण गर्ने हो भने पनि दुर्घटना कमी गर्न सघाउँछ।’  

प्याराग्लाइडिङ इन्जिनबिनाको उड्डयन साधन हो। तरपनि यसको उडानलाई हावाको गति र दिशाले तय गर्छ। प्याराग्लाइडिङका अर्का पाइलट बालकृष्ण बसेलका अनुसार सामान्य अवस्थामा आकाशमा उड्दा प्याराग्लाइडिङको गति प्रतिघण्टा ३० किलोमिटर भन्दा बढी हुन्छ। ‘हावाको गति र दिशामा उडान भर पर्छ। ग्लाइडर आफैमा कमजोर हुँदैन,’ उनले भने। बसेलका अनुसार कतिपय पाइलटले आकाशमा नयाँनयाँ अभ्यास गर्न खोज्दा दुर्घटनाको जोखिम हुन्छ। त्यस्तै फनफनी घुमाउने गरि एक्रोब्याटिक गर्दा बढी जोखिम हुनसक्छ। त्यही भएर तालमाथि सुरक्षित ठानेर एक्रोब्याटिक गरिएपनि कहिलेकाँही दुर्घटना आइपर्न सक्ने उनको भनाइ छ।

‘कतिपय पाइलट कलिला उमेरका छन्। त्यही अनुसार जोश देखाएर उडान भर्छन्,’ बसेलले भने, ‘हेलचेक्रयाँइ गर्ने पाइलट पनि छन्। नयाँ अनुभव बटुल्न खोज्दा पनि जोखिम हुन्छ। यात्रुको दवावमा नयाँखाले अभ्यास गर्दा पनि दुर्घटना हुन्छ।’ उनका अनुसार उड्दाउड्दै रुखका पात र अवतरण गर्ने बेला तालको पानी छुने खालका गतिविधि गर्दा दुर्घटनाको जोखिम हुने गरेको उनले बताए। तर ती गतिविधि यात्रुको दवावमा पाइलटले गर्ने गर्छन्।

नेपालमै प्याराग्लाइडिङ सिकाउने पहिलो स्कुल नै संचालन गरेका अनुभवी पाइलट सानोबाबु सुनुवारका अनुसार प्याराग्लाइडिङ पाइलटले बढी हेलचेक्रयाँइ गर्छन्। अवतरणस्थलबाट दुईसय मिटरमाथिको दूरीसम्म एक्रोब्याटिक गर्न पाइदैन, तर पाइलटले त्यही ठाउँमा बढीजसो एक्रोब्याटिक गर्छन्। ‘क्लोज द ग्राउण्ड हेलचेक्रयाँइ गर्न पाइदैन। यात्रु लिएर उडेका पाइलटले एयरबक्सभित्र रहेर मात्र उड्नुपर्छ। सुरक्षित उडान र अवतरणमा ध्यान दिनुपर्छ,’ सुनुवारले भने, ‘धेरै खुसी र दुःखमा पनि उडान गर्न दिनु हुँदैन। दवावमा उडान गर्न पाइदैन, तर त्यो हेर्ने निकाय कोही छैन।’  

अनुभवी पाइलट सुनुवारका अनुसार यात्रुको सुरक्षालाई भन्दा पनि आर्थिक रुपमा हेरिँदा जोखिम निम्तिने गरेको छ। ‘पाइटलले नै कहिलोकाँही मुर्खता गर्छन्। केही भइहाले यात्रुलाई दोष दिने चलन छ,’ सुनुवारले भने, ‘प्याराग्लाइडिङ उडाउनु मात्र पाइलटिङ हुँदैन। आफूसँगै उडेका यात्रुलाई सुरक्षित अवतरण गराउनु पनि पाइलटको जिम्मा हो।’ सुनुवारका अनुभवमा प्याराग्लाइडिङ आफैमा खतरा होइन। सडकमा साइकल चलाउनु भन्दा सुरक्षित हुन्छ। तर उडानको सुरक्षित तरिका नजान्दा आफ्नो मात्रै नभई अरुको पनि ज्यान जान्छ। सुनुवारका अनुसार पाइलटले पटक्कै मौसम ख्याल गर्दैनन्। आफ्ना उड्डयन सामग्रीलाई ख्याल दिँदैनन्। कतिपटक उडाउने भन्नेमा पनि मनपरी छ। कसरी हुन्छ पैसा कमाउने भन्नेमा ध्यान दिँदा दुर्घटना आइपर्ने उनले बताए।  

त्यसबाहेक उडानका कतिपय उपकरणको प्रयोग अवधि सकिँदा पनि त्यसबारे जिम्मेवार निकायले ध्यान दिँदैन। प्रयोगयोग्य अवधि सकिएका उपकरण उडानमा प्रयोग भईरहेको पाइलटले बताएका छन्। ‘पोखरामा उडान गर्ने ५० वटा जति ग्लाइडर एक्सपायर भएका छन्। तर, ती सामग्रीको प्रयोगबारे कसैले छानबिन गरेको छैन,’ अर्का एकजना पाइलटले भने,‘सुरक्षाका उपकरणमा हेलचेक्रयाँइ गर्न पाइदैन।’ ती पाइलटका अनुसार आठसय घण्टा उडान गरेपछि ग्लाइडर थन्काउनु पर्छ। तर, अहिले कतैबाट खोजिनीति नहुँदा प्रयोगयोग्य समय कटेका ग्लाइडर समेत उडानमा प्रयोग गरिएको उनले बताए।  

प्याराग्लाइडिङ व्यवसायीको संस्था नेपाल हवाई खेलकुद संस्था (एनएए) का अध्यष्क्ष कृष्ण भण्डारी पाइलटमा ओभर कन्फिडेन्ट हुँदा सोमबारको घटना भएको बताउँछन्। तर त्यसबाहेक केही कमी कमजोरीलाई सुधार्न अझै नसकिएको उनले बताए। ‘नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त हामीलाई झन्डै दुई वर्ष अघि प्याराग्लाइडिङ नियमनको सबै अधिकार दिएको छ। तर, श्रोत साधनले भने हामी भरिपूर्ण हुन सकेका छैनौ,’ भण्डारीले भने, ‘त्यसले गर्दा पनि हामी सक्षम हुन सकेनौ। त्यसको नोक्सानी प्याराग्लाइडिङ उडानको नियमनमा परेको छ।’ पाइलटको स्वास्थ्य परीक्षण, उपकरणको अवस्था पत्ता लगाउने लगायतका पक्षमा अझै पनि संस्थाले सक्षमता बटुल्न नसकेको उनले बताए।

प्रकाशित: ९ मंसिर २०७७ ०९:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App